सोलुखुम्बुमा साहित्य जागरण


सल्लेरी (सोलुखुम्बु) । हिमाली जिल्ला सोलुखुम्बुमा नेपाली साहित्यका लागि लेखिनुपर्ने नयाँ विषय बग्रेल्ती छन् । जसले पाठकलाई बिल्कुल फरक स्वाद दिन सक्छन् । पछिल्लो समय नयनराज पाण्डेको उपन्यास ‘सल्लिपीर’ र वियस राईको कथा संग्रह ‘हिउँमाझी’ सोलुखुम्बुकै विषयलाई केन्द्रमा राखेर बजारमा आए ।
केही समयअघि कवि अर्जुन खालिङले पनि त्यहाँकै माटोलाई लिएर गोयाङको सुगन्ध नामक कवितासंग्रह प्रकाशन गरेका थिए । यसरी फाट्टफुट्ट कृति बजारमा आए पनि सोलुखुम्बुमा लेखिनुपर्ने विषयहरू अनगिन्ती छन् ।
तर, त्यही सोलुखुम्बुमा भने साहित्यिक गतिविधि शून्यजस्तै छ । विगतमा केही त्यस्ता गतिविधि भए पनि त्यसले निरन्तरता पाउन नसक्दा साहित्यिक दृष्टिकोणले सोलुखुम्बु मरुभूमिजस्तै बनेको थियो । त्यही अभाव पूर्ति गर्दै सोेलुखुम्बु सदरमुकाम सल्लेरीमा प्रत्येक महिनाको पहिलो शुक्रबार रचना वाचन र त्यसमाथि समीक्षात्मक अन्तरक्रिया हुन थालेको छ । यसको चाँजोपाँजो ‘सोलु साहित्य जागरण’ले मिलाइरहेको छ ।
सो समूह अन्तर्गत ‘स्रष्टा र सिर्जना’ शीर्षकमा प्रत्येक महिना रचना वाचन गर्न थालिएको छ । यसैको निरन्तरतास्वरूप भदौ महिनाको पहिलो शुक्रबार अर्थात् स्रष्टा र सिर्जनाको दोस्रो अंक मोती जयन्तीको अवसर पारेर सम्पन्न भएको थियो ।
यस अंकमा नीरव बिन्दु ‘भित्तेली’ले आफ्ना रचना वाचन गरेका थिए । उनले वाचा, पोटे«ट, प्रतिविम्ब, उस्तै–उस्तै र म हिउँ गरी पाँच कविता वाचन गरेका थिए । यसैगरी कार्यक्रममा शम्भु शिब्दले उमेरको गुलाब, डियर मेरी शीर्षकको कविता, तोयानाथ अधिकारीले गजल र मुक्तक, मदनमणि मदहोशीले कसिंगर शीर्षकको कविता र मुक्तक, सुजम्बर सम्भवले रेमे शीर्षकको कविता वाचन गरेका थिए भने भीष्म गौतमले गजल सुनाएका थिए ।
कार्यक्रमको आगामी अंकमा भने कवि शम्भु निशब्दको एकल कविता वाचन हुने जागरणका संयोजक गंगाबहादुर राई ‘सुजम्बर सम्भव’ले जानकारी दिए । ‘जिल्लामा रहेका प्रतिभालाई प्रोत्साहन गर्नुका साथै राष्ट्रियस्तरका लेखकसँग समन्वय गरी सोलुखुम्बुजस्तो सुन्दर पर्यटकीयस्थलमा साहित्यलाई फुलाउनु हाम्रो उद्देश्य हो,’ जागरणका संयोजक सुजम्बरले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार