भूपूप्रेमी

ललिता तामाङ

सुइय्य ।

ट्राफिकले सिठ्ठी फुक्दै सेतो पन्जा लगाएको हातले सवारीसाधनलाई रोक्ने र पैदलयात्रीलाई जाने इसारा दिए । बाटो काट्न बसेको हुलसँगसँगै मिसिँदै बाटो काटें । सवारी चापले गर्दा हिजोआज सवारीचालक मात्र नभई, पैदलयात्रीलार्इृ समेत हिँड्न गाह्रो । बाटो काट्न त झनै कठिन । लौन मान्छे पनि कति हो । वाहन उत्तिकै । पैदल हिँड्ने त्यस्तै । झन् अफिस लाग्ने र छुट्ने समयको त कुरै नगरौं ।

बाटो काट्दै गर्दा जेब्राक्रसको मुखैनेर एक परिचित नम्बरको बाइक देखें । यसो बाइकको मान्छेलाई हेरें । तर, नाक मुख पूरै ढाक्नेगरी मास्क लगाएका थिए । त्यसमाथि हेल्मेट पनि । चिनिनँ । उनले पनि मलाई हेरेझैं लाग्यो । हुन त मैले पनि मास्क लगाएकी थिएँ ।

बाइक चलाउने मान्छे उही थिए त ? यदि हो भने उसले मलाई चिने होलान् त ? तर, उनै नहुन पनि त सक्छ नि । उहिलेदेखि नै यो बाइक बेचेर नयाँ लिन्छु भन्थे । अरू नै कोही होलान् । यस्तै सोच्दै केही परमात्र पुगेथें ।

पछाडिबाट परिचित स्वरले मेरो नाम बोलाएझैं लाग्यो । यस्सो फर्केर हेर्दा उही अघिकै बाइक । टक्क अडिएँ । उनले हेल्मेटको सिसा माथि सार्दै मास्क खोलेर मलाई चिनाउन सजिलो बनाए ।

ओहो तिमी ?

अनि कता हिँडेकी ? अघि बाटो काट्दा मलाई चिनेरै हेरेकी हो ? धेरै वर्षपछि पो भेट भयो है ? जस्ताको तस्तै रहिछ्यौ तिमी त ? प्रश्नको वर्षा नै गर्यो ।

तिमीलाई त हैन बाइकको नम्बरचाहिँ चिनेजस्तो लागेर हेरेकी । अनि तिमीले चाहिँ मलाई कसरी चिन्यौ ?

तिमीलाई म नचिनुँला त ! बरु तिमीले पो मलाई चिन्दैनौ होला ।

म चिन्दिनँ रे तिमीलाई ? आफैंलाई यो प्रश्न गर न एकचोटि ।

अनि बाटोमै बसेर गफ सकाउँछौ ? जाऊँ न बरु कतै कफी खाँदै गफ गरौं, यत्तिका पछि भेट भएको ।

हुन्छ भनुँ कि नभनुँ अन्कनाउँदै थिएँ ।

आऊ बस अलि अगाडि एउटा क्याफे छ भन्दै बाइकमा बस्न इसारा गर्यो ।

नजिकै त छ नि तिमी जाँदै गर म आउँछु नि ।

जाँदै गर रे ? सँगै जाऊँ न भन्दै बाइकमा आफैं बसालुँलाजस्तो गरी मेरो हात तान्यो ।

नाइँ भनुँ त कर गरिहाल्छन् । फेरि अरूले देखे पनि के भन्लान् सोच्दै पछाडि बसें ।
उनले कफी भने मैले चिया मगाएँ ।

गफको प्रसंग फेसबुकबाट सुरु गरे । मैले तिमीलाई फेसबुकमा रिक्वेस्ट पठाएको थिएँ तिमीले त मलाई ब्लक पो गरिदियौ किन ?

हो र ? मैले गरेकी छैन ।

अनि मैले कत्ति खोजें त फेसबुकमा भेट्टिन्न त तिम्रो नाम ।

खै !

त्यस्तो नि कहीं हुन्छ र ?

अनि सुनाऊ के छ हालखबर ? के गर्दै छ्यौ ?

खासै केही छैन । पहिलेकै अफिसमा काम गर्दै छु । बरु तिम्रो सुनाऊ के छ ?

मेरो पनि ठिकै छ । मचाहिँ पहिलेको ठाउँ छोडेर अन्तै काम गर्दै छु ।

के हो हाम्रो गफ त चिया आउनुअघि नै सकियो त ।

म फिस्स हाँसेंमात्र ।

अनि तिमीले बिहे गर्यौ ?

छैन ।

किन नि, कि अझै मलाई कुरेर बसेकी छ्यौ ?

मैले कुनै जवाफ फर्काइन ।

किन हो गफ गर्दिनौ त ? ममात्रै बोलेको बोल्यै छु अघिदेखि ।

बोलिरहेकी छु त ! तिम्रो जवाफ पनि दिइरहेकै छु ।

अनि मैले सोधेको जवाफमात्र दिएकोलाई नि गफ भन्छन् त । मेरो बारेमा पनि सोधिनौ ? कि जान्न मन छैन ?

त्यस्तो हैन, भन न त के छ तिम्रो हालखबर ?

यस्तै छ आफू त पहिलेदेखि नै हँसिलो, रसिलो मान्छे । दुःखमा समेत निराश हुन जानिनँ । सपनाले पनि छोडेर गइहाली ।

हो र ? बिहे भइसकेको थियो हैन र तिमीहरूको त ?

हो नि बिहे भएको दुई वर्षपछि त गइहाली नि । मैले उसको इच्छा पुर्याउन सकिनँ रे । सानोसानो कुरामा किचकिच, दिनहुँजसो झगडा । एक दिन रिसाएर माइत हिँडेकी फर्केर आइनन् । म पनि फर्काउन गइनँ ।

यही हो मेरो रामकहानी । दुःख सम्झे दुःख । सुख सम्झे सुख । बिन्दास छ लाइफ । तिम्रो सुनाऊ अरू । बिहे किन गरिनौ अहिलेसम्म नि ?

साइत नजुरेर ।

अनि भाइको के छ नि ?

ऊ अस्ट्रेलियामा छ । अस्ति भर्खर असारमा आएर बिहे गरी बुहारीलाई पनि लिएर फक्र्यो । अनि दाइको फेरि छोरा जन्मेको छ । छोरी त तिमीले पनि देखेको थियौ नि हैन ?

हो नि । ठूली भैसकी होली है ? कतिमा पढ्छिन् ?

सातमा पुगी ।

ओहो त्यत्री भैसकी है ? अब त देखें भने पनि चिन्दिनँ होला म त !

फिस्स हाँसे ।

तिमीलाई मैले भेट्न धेरै कोसिस गरें । तर, सकिनँ ।

किन र त्यस्तरी भेट्न खोजेको ? फेरि मनदेखि नै भेट्न खोजेको भए त अफिस पनि देखेकै थियौ । घरमा पनि त आउन सक्थ्यौ नि ।

त्यो त हो तर आँटै गर्न सकिनँ । मैले तिम्रो चित्त नराम्ररी दुखाएको थिएँ । अनि कुन मुख लिएर आउनु भेट्न ? तिमीसँग फेस गर्न सक्छृुजस्तो नै लागेन । फेरि तिमीले नम्बर पनि चेन्ज गरिछ्यौ क्यारे ।

पुनः फिस्स हाँसोमात्र फर्काएँ ।

सुन न । तिमीलाई चित्त दुखाएको पाप पो लागेको हो कि, सपनासँग बिहे गरेदेखि कहिले सुख पाइनँ । जहिले पनि माइतीको धक्कु लाउने, यो भएन ऊ भएन भनेर झगडा गर्ने, बहिनीसँग पनि जहिले झगडा गर्ने । मसँग त झन् सानोसानो कुरामा निहुँ खोज्ने झगडा गर्ने अनि माइत हिँडिहाल्ने गर्न थाली । बिहे अगाडि गरेका मीठा–मीठा कुरा र वाचा त सबै बिर्सी । उसका त्यही मीठामीठा कुराले नै मेरो आँखा टालिएको रहेछ ।

तिम्रो निःस्वार्थ माया लत्याएर म पूरै अन्धो भएको रहेछु । हुन त बिहे अगाडि नै उनी र तिमीमा आकाश जमिन फरक रहेछ भन ने थाहा पाइसकेको थिएँ । एकप्रकारले मैले पश्चाताप पनि गरिसकेको थिएँ तिम्रो मायालाई लत्याएकोमा । बिहेपछि त झन् मेरो जीवन नै तहसनहसझैं भयो । उसकै व्यवहारले गर्दा घर जान पनि मन नलाग्ने भइसकेको थियो । पिउने बानी पर्न थालेको थियो । उसैले डिभोर्सको मुद्दा हालिछे । नचाहिँदा–नचाहिँदा दोष लगाएर, मलाईमात्र दोष लगाए त हुन्थ्यो बहिनी र बुवालाई समेत शारीरिक तथा मानसिक यातना दियो भनेर दोष लगाइछे । धेरै गाह्रो भयो डिभोर्स गर्न पनि ।

भएकोभन्दा पनि बढी सम्पत्तिको दाबी गरेर दिनसम्मको दुःख दिई । मेरो कारणले गर्दा बहिनी र बुवाले समेत धेरै मानसिक तनाव झेल्नुपर्यो । मनको बह कसैलाई नकह भन्छन् । तिमीलाई त धाराप्रवाह सुनाएछु । यस्तै छ– मेरो रामकहानी ।
उसको दुःखदायी कुरामा म के प्रतिक्रिया दिउँ ? पुनः मौन नै रहें ।

एउटा प्रस्ताव राखूँ है माइन्ड त गर्दिनौ नि ?

के कुरा हो भन न

हामी फेरि एक हुुन सक्दैनौं ?

म केही बोलिनँ । ऊ भने मेरो जवाफ सुुन्न आतुरझैं मेरो अनुहार हेरिरह्यो ।

निकैबेरको मौनता भंग गर्दै उसले भन्यो । हेर तिमीलाई मैले दबाब दिएको होइन तर प्लिज तिमी मेरो जीवनमा पुनः फर्किदेऊ । तिमीलाई लागिरहेको होला– कुन मुुखले लाजै नमानी यस्तो कुुरा गर्न सकेको होला भनेर । तर, तिमी र तिम्रो जवाफलाई जीवनभर कुुरेर बसिरहनेछुु ।

अब जाने हैन ? धेरैबेर भयो । मैले भनें ।

हुन्छ जाउँ न त भन्दै बिल तिर्यो ।

म पुुर्याइदिन्छु नि हुन्न ?

हैन पर्दैन । धन्यवाद । म आफैं जान्छुु है बाई भन्दै बाटो लागें ।

बाटोभरि अनेक कुुरा सोच्दै घर पुुगें ।

थोरै खाना खाएर पल्टें । तर, निन्द्रा परे पो ।

जसलाई हृदयदेखि चाहेको थिएँ, स्वच्छ माया गरेकी थिएँ। उसले नै अरू कसैका लागि मलाई लत्याएका थिए । जुुन पीडाको घाउ बल्ल निको भएको थियो । त्यही मान्छे आज फेरि एक हुने प्रस्ताव राख्छ । के मैले स्वीकार्दा ठीक होला त । अहँ हुन्न । मैले ऊविना बाँच्न सिकिसकें । म स्वीकार्दिनँ । हुन त दाइ भाउजू मेरो बिहेको कुरा गर्दागर्दा थाकिसक्नुभएको छ । मैले यो प्रस्ताव स्वीकारें भने दाजुभाउजूपनि खुसी हुनुहुन्थ्यो । के गरुँ–के गरुँ ? नाइ अहँ म स्वीकार्दिनँ ।

मोबाइल बज्यो ।

ओहो ! भुुसुक्क भइएछ । सात पो बजिसकेछ । राति कतिखेर निदाएछु थाहै पाइनँ ।

मोबाइल हेरें । उसैको नम्बर रहेछ ।

हेलो नै नभनी एकै सासमा भनें, ‘म तिम्रो प्रस्ताव स्वीकार्न सक्दिनँ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार