एक्लिँदै एगिन्द्र

डाँडाबजार (हलेसी), ५ असोज

‘दुःख गरेर खाने मानिसको आँसुले एगिन्द्र भाइलाई जीवनभरि पोलिरहोस्,’ कमला राईले दुःखेसो पोखिन्, ‘मेरो आँसुले एगिन्द्रको परिवारलाई पनि पोलिरहोस् । पोलिरहनेछ । अर्काको गाउँठाउँमा ल्याएर एगिन्द्रले मलाई जसरी बिजोग पारे नि, उनी र उनको परिवारको मेरोजस्तै बिजोज भएको मैले पनि देख्न पाऊँ ।’

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान ऐंसेलुखर्कनिवासी एगिन्द्र राईलाई यसरी गाली गर्ने ती महिला को हुन् ? उनी कसरी हलेसीसम्म आइपुगिन् ? एगिन्द्र राई र उनको परिवारका सदस्यलाई उछित्तो काढ्दै उनले किन सत्तोसराप गरेकी होलिन् ? पीडितले एगिन्द्रलाई मानवताहीन परिवारका मानिस भनेर अप्टिक लगाउन किन बाध्य भइन् । बेसहारा मान्छेलाई सहारा दिन्छु भनेर श्रमशोषण गरेको गम्भीर आरोप लाग्दा ‘उदाहरणीय उद्यमी’ भनिएका एगिन्द्र राईको होशहवास किन उडेको होला ?

कोदो रोप्न जाउँ है भनेर काठमाडौंबाट फकाएर ल्याएपछि ती महिलालाई हलेसीमा अलपत्र पार्दा एगिन्द्रको मन किन पग्लेन ? त्यतिमात्रै होइन, काठमाडौंमा गलैंचा बुनेर छोरी पढाउँदै आएकी ती महिलालाई हलेसी ल्याएर एगिन्द्रले देखाएका मानवताहीन व्यवहारको जति चर्चा गरे पनि कमै हुने हलेसी र ऐंसेलुखर्कतिर चर्चा राम्रै चलेको छ ।

एगिन्द्रले आमाछोरीलाई नै थाहा नदिई, उनीहरूले प्रयोग गर्ने ग्यास सिलिन्डर, पलङ, भाँडाकुँडा काठमाडौंबाट सुटुक्क हलेसी ल्याएका थिए । अर्काको कोठाको सामान सम्बन्धित व्यक्तिलाई नसोधी आफूखुसी ल्याउन पाइन्छ ? उनीहरूले प्रयोग गर्ने ग्यास सिलिन्डर, पलङ, भाँडाकुँडा एगिन्द्रले फिर्ता नदिनुका कारण के होला ? एगिन्द्रले एकैपटक नसोधी कोठाको सबै सामान हलेसी ल्याएर चलाएको पीडितले पछिमात्रै थाहा पाइन् । आफ्नो सरसामान एगिन्द्रका कामदारले हिजोआज पनि प्रयोग गरिरहेको देख्दा पीडितलाई चित्त बुझाउन गाह्रो परेको छ । दुःख पाएकालाई झन् दुःख दिएर बेसहारा बनाउन हलेसी बेकरीका प्रोप्राइटर एगिन्द्र राई कसरी सफल भए ? विस्तृत विवरण थाहा पाउनका लागि समाचार पूरै पढ्नुपर्छ ।

‘छोरीसँग धरानबाट काठमाडौं आयौं । काठमाडौंको थलीमा बस्थ्यौं,’ उनले अतीत सुनाइन्, ‘म थलीमा गलैंचा बुन्थें । बिमला (एगिन्द्रकी दिदी) सँग त्यहीं भेट भयो । काम गर्दै जाँदा गलैंचा कारखानामै चिनजान भयो ।’ एगिन्द्र राईसँग पनि त्यहीं चिनजान भएको थियो । बर्खाको समय थियो । ‘मलाई एगिन्द्रले कोदो रोप्न गाउँ (हलेसी ऐंसेलुखर्क) जाउँ भन्नुभयो,’ उनले नढाँटी सुनाइन्, ‘मैले नाइँ भनें । अर्काको गाउँठाउँमा कोदो रोप्न कसरी जाने ? बिमला, मनिका र एगिन्द्रको पहिल्यै सल्लाह गरिसकेका रहेछन् । भाइले धेरैपटक अनुरोध गरेपछि मैले सहमति जनाएँ । स्कुल पढिरहेकी छोरीलाई छाडेर केही दिनका लागि म हलेसी आएँ ।’

कोदो रोपिसकेपछि काठमाडौं फर्कने सल्लाह भएको थियो । आफ्नै मोटरसाइकलमा काठमाडौं पुर्याइदिन्छु भनेर एगिन्द्रले कमलालाई गुलियो वचनसमेत दिएका रहेछन् । उनले विश्वास गरिन् । ‘मजस्ता श्रमजीवीको दुःख भाइले बुझेकै होलान् भन्ने सोचें,’ उनले दुःख व्यक्त गरिन्, ‘तर, एगिन्द्र भाइले मैले सोचेजस्तो व्यवहार गरेनन् । उनी इमानदार रहेनछन् ।’

कोदो रोप्न सकियो । ‘छोरीले काठमाडौं कहिले फर्कने भनेर टेलिफोन गरिरहन्थिन्,’ उनले बिलौना गरिन्, ‘छोरी भेट्ने हतारिएकी थिएँ । मैले काम गरेको पारिश्रमिक नभएर, काठमाडौं फर्कने गाडीभाडा माग्दा एगिन्द्रको बाउ हल्दारले पैसासैसा छैन भनेर मलाई धम्क्याए ।’

पीडामाथि पीडा थपियो । ‘मसँग काठमाडौं फर्केने गाडीभाडा नहुँदा हलेसीमै अड्किएँ,’ उनको भनाइ थियो, ‘गलैंचा बुनेर छोरीलाई पढाउँदै थिएँ । म हलेसी आउने बेला बिमलाले मसँग बसोस्, आधा तोला सुन किनिदिन्छु । पढाउँछु पनि भनिन् । बिमलाले छोरीलाई काममात्रै लगाएछन् । पढाएनन् । सुन किनिदिनु परको कुरा भयो । कहाँसम्मका असत्ति रहेछन् ।’ बिमलाले पनि मुनालाई सुन नकिनिदिएको स्वीकारिन् । आफू काठमाडौं फर्कन नसकेपछि उनले छोरी मुनालाई हलेसी बोलाइन् । पढाउने सर्तमा छोरी एगिन्द्रसँगै बेकरीमा बसेर पढ्दै थालिन् ।

आमा एगिन्द्रको घर र छोरीले बेकरीमा आश्रय लिँदै थिए । ‘एगिन्द्रको घरमा मैले एक वर्ष ६ महिना काम गरें । मलाई मानिससरहको व्यवहार गरिएन । खानासमेत वचनसरिको खानुपथ्र्यो । नखाउँ ज्यान बचाउनु नै थियो,’ उनले भनिन्, ‘१८ महिना काम गर्दा एगिन्द्रले २०७५ को तीजमा २०० रुपैयाँ दिएका थिए । त्योभन्दा अरू केही लिएको छैन ।’ तर, एगिन्द्रले भने कमलालाई पारिश्रमिकस्वरूप ५० देखि ६० हजार रुपैयाँ दिएको सुनाए ।

एगिन्द्रको आमाले जेमा पनि शंका गर्दै दुव्र्यवहारमात्रै गर्थिन् । उनले सुनिनसक्नु अपशब्द बोलेर लज्जित बनाउँथे । ‘अन्ततः म एगिन्द्रको घरमा बस्न सकिनँ । त्यहाँबाट निस्केर अहिले बसिरहेको घर आएँ,’ उनले थपिन्, ‘त्यहाँबाट निस्कँदासमेत मैले महँगो मूल्य चुकाउनुपर्यो । त्यहाँबाट निस्कँदासमेत धर पाइनँ । अहिले बसिरहेको घर आएर मलाई गर्नसम्म गाली गरे । सासूबुहारी (एगिन्द्रकी श्रीमती र आमा) ले हात हाल्नसमेत पछि परेनन् ।

‘म एगिन्द्रको घरबाट निस्केपछि छोरी पनि मसँगै बस्ने भइन् । छोरीले त्यस्तो निर्णय गरेपछि उनको किताब, कापी र झोलासमेत लुकाइदिएछन्,’ उनले दुःखको पोको खोलिन्, ‘किताब, कापी र झोला नभएपछि छोरी स्कुल जान पाइनन् । हामी चुपचाप बस्यौं । सहनुको विकल्प थिएन । एक दिन एगिन्द्रले मुना तिम्रो किताब मेरो छोराले लुकाइदिएका रहेछन् भेटियो, जाऊँ लिन हलेसी भने । छोरी खुसी हुँदै सर्मिलाको छोरासँग हलेसी जान तयार भइन् । तर, एगिन्द्रले मुनालाई हतारहतार मोटरसाइकलमा हालेर हलेसी पुर्याए । म काममा लागें ।’

साँझ परिसक्दा पनि छोरी फर्किनन् । उनी छोरी खोज्न हलेसी पुगिन् । हलेसीमा सम्झना राई (एगिन्द्रकी श्रीमती) सँग भेट भयो । कता हिँडेकी भनेर सम्झनाले कमलालाई सोधिन् । किताब लिन हलेसी आएकी छोरी अहिलेसम्म नफर्केपछि खोज्न आएको जवाफ फर्काइन् । ‘तिम्री छोरी काठमाडौं पुगिसकिन् । यतिन्जेल सेल भइसकिन्,’ एगिन्द्रकी श्रीमतीको उत्तर सुनाउँदै उनले निन्याउरो अनुहार बनाइन्, ‘म आत्तिएँ । उनीहरूले परिवारमा सबै कुरा मिलाएर मेरी छोरी लिन एगिन्द्र आएका रहेछन् । त्यसपछि मैले इलाका प्रहरी कार्यालय हलेसीमा निवेदन दिएँ ।’

निवेदन परेपछि प्रहरीले एगिन्द्रलाई प्रहरी चौकीमा झिकाए । चौकीमा छलफल हुँदा एगिन्द्रले सात दिनभित्र छोरी ल्याउने र आमाछोरीका कोठाको सामानसमेत फिर्ता दिने कागज गरियो । ‘तर, एगिन्द्रले सात दिनभित्र मेरी छोरी ल्याउन सकेनन् । नौ दिनका दिन ल्याइपुर्याए,’ उनले बेलिविस्तार लगाइन्, ‘तर, एगिन्द्रले सामान भने फिर्ता दिएनन् । प्रहरी चौकीबाट म छोरी लिएर फर्कंदै गर्दा ठुलीमायाको घरअघि मेरो र छोरीको हात तान्दै काठमाडौं हिँड भनेर बिमला र मनिकाले जबजस्ती गरे ।’ धेरै जबरजस्ती गरे पुनः चौकी जान्छु भनेपछि उनीहरूले जबरजस्ती गरेनन् ।

पीडित कमला राईलाई काठमाडौं फर्कन औधी मन थियो । तर, एगिन्द्रले कब्जा गरेको आफ्नो सामानविना काठमाडौं फर्कंदा सुत्ने, बस्ने समस्या छँदै थियो । बिमला र मनिकाको प्रस्ताव अस्वीकार गर्दा एगिन्द्रकी आमाले हामी त गाउँको ठूला मानिस हौं भन्दै पीडित आमाछोरीलाई ऐंसेलुखर्क र हलेसीमा कहीं पनि बस्न नदिने धम्की दिए ।

पीडित राईकी छोरी मुना क्षेत्री (स्कुलमा मुना राई लेखिएको) को पनि एगिन्द्र राईप्रति त्यत्तिकै गुनासो छ । ‘म हलेसी बेकरीमा काम सघाउँथें । स्कुल जानुअघि स्कुलबाट फर्केपछि पनि काममै व्यस्त हुन्थें,’ मुनाले मनको कुरा खोलिन्, ‘काम सघाएबापत पैसा पाउने नपाउने केही सम्झौता थिएन । त्यहाँ बसिन्जेल पैसा लिएको मलाई सम्झना छैन । स्कुल भर्ना भएपछि २० रुपैयाँ पर्ने नौवटा कापी किनिदिएका थिए । पढ्न समय नै पाउँदिनथें । सबै काम सकेर सुत्ने बेला एकछिन–एकछिन पढ्थें ।’

‘ममी एगिन्द्रको घरबाट निस्केपछि म पनि हलेसी नबस्ने निधो गरें,’ मुनाले वास्तविकता खोलिन्, ‘त्यसो भएपछि मेरा किताब र झोला लुकाइदिए । एगिन्द्रले किताब भेटियो लिन जाउँ भनेर झुक्याएर मलाई जबरजस्ती काठमाडौं पुर्याए ।’ मुनालाई लिन काठमाडौंबाट मनिका हलेसी आएकी थिइन् । काठमाडौंमा किताब छ, उतै जाउँ भनेर मनिकाले मुनालाई भनिन् । ‘म एक्लै जान्न,’ उनले मनिकालाई भनेको सम्झिन्, ‘जानै परे ममीसँगै जान्छु । त्यसो भन्दै मलाई जबरजस्ती सुमोमा हुले । मेरा कपडा पहिल्यै जेब्रा झोलामा खाँदेर सुमोको छतमा हालिसकेका रहेछन् ।’

‘दुर्छिम, छापडाँडा पुगेपछि अब तँ काठमाडौंमै पढ्नुपर्छ, तेरो ममीलाई पनि यतै बोलाउनुपर्छ,’ मनिकाले आफूलाई सम्झाएको क्षण मुनाले सम्झिन्, ‘एगिन्द्रले टिकट काटेर तेरो ममी पठाइदिन्छन् ।’

काठमाडौं पुगेपछि उनलाई थलीमा राखियो । कमलाले निवेदन दिएपछि प्रहरी चौकीबाट बिमलालाई फोन आयो । बिमलाले एकछिन कुरा गरेर उन (मुना) लाई बोल्न दिइन् । बिमला र मनिका दुईपट्टि बसेर म अब आउँदिनँ, ममीलाई यतै पठाइदिनू भन्न लगाए । किन त्यस्तो दुव्र्यवहार गरेको भनेर सोध्न मनिका राईलाई पटक–पटक टेलिफोन गर्दा सम्पर्क हुन सकेन । उनीहरूले सिकाएको नबोल्दा मुनालाई चिमोटेर भन्न लगाइएको थियो । तर, उनले भन्न पाइनन् । फोनमा कुराकानी भइरहँदा चौकीमा सम्झना राई कराइरहेको मुनाले प्रस्टै सुनिन् ।

‘नौ दिनपछि हामी हलेसी आयौं । बिमला र मनिकाले बाटैभरि यसो भन्नू उसो भन्नू भनेर सिकाइरहे,’ मुनाले वास्तविकता सुनाइन्, ‘म आफैं काठमाडौं जान मन लागेर गाको भन्नू है भनेर उनीहरूले मलाई सम्झाइरहे । म काठमाडौंमै पढ्छु भनेर चौकीमा भन्न नबिर्सनूसमेत भनिरहे । चौकी पुग्नेबेला ममीको कुरा नसून्, हामीले अघि सिकाएको भन् भनिरहे । चौकीमा मैले बोल्न परेन ।’

काठमाडौंबाट हलेसी फर्कंदा मैले कपडासमेत ल्याउन पाइनँ । ‘मेरो ममीले मलाई काठमाडौंमा दुःख गरेर भए पनि पढाउनुभएको थियो,’ उनले दुःखेसो पोखिन्, ‘एगिन्द्र र उनको परिवारले मेरो सुन्दर भविष्यमा आगो लगाइदिए । म १६ वर्षकी भइसकें । भर्खर ७ कक्षामा पढ्दै छु । सम्झँदा पनि साह्रै चित्त दुख्छ ।’

हिजोआज पीडित आमाछोरी ऐंसेलुखर्ककी सर्मिला राईको घरमा आश्रय लिइरहेका छन् । ‘एगिन्द्रकहाँ बस्न नसक्ने भएपछि कमला नाना साझँपख मेरोमा आइपुग्नुभयो,’ सर्मिला राईले सुनाइन्, ‘शरण माग्न आएकालाई हुन्न भन्न सकिनँ । समस्या नै परेको हो भने मेरोमा बस्दा हुन्छ भन्दिएँ ।’

सर्मिलाकहाँ पुगेको भोलिपल्ट सम्झना र उनकी सासूले आश्रय लिएको घर पुगेर कमलालाई हातपात गरे । हिँड कि हिँड भनेर उनीहरूले जबरस्ती गर्न थाले । सासूबुहारीले भन्नु–नभन्नु भने । सम्झनाले त यिनीहरूलाई कुट्दै गाउँनिकाला गर्नुपर्छ भन्दै हातपात गर्न पछि परेनन् ।

‘प्रहरी चौकीमा मिलापत्र गरेको भोलिपल्ट हामी उठ्नुअघि एकाबिहानै बिमला, मनिका र सम्झना लठ्ठी बोकेर म बसेको घरमा आइपुगे,’ कमलाले सुनाइन्, ‘ढोका फुटाउँलाझैं गरी ढकढकाए । ढोका खोलेपछि अपशब्द बोल्दै हातपात गर्न खोजे । भाग्न खोज्दा पनि धर पाइनँ ।’

केही समयपछि मनिका र एगिन्द्र आएर मुनालाई हातपात गरे । ‘मैले पनि के गर्न खोजेको भनेर छुट्ट्याउन खोज्दा एगिन्द्रले मलाई घोक्र्याएर लडाए,’ उनको भनाइ छ, ‘अति भएपछि छिमेकीले कराइदिए । सम्बन्धित व्यक्तिको इच्छाअनुसार जो, जहाँ पनि बस्न पाइन्छ भनेर छिमेकीले झपारेपछि दिदीभाइ हच्किए ।’

त्यत्तिका समयसम्म पनि उनले आफ्नो सामानसमेत फिर्ता पाएकी थिइनन् । सामान नपाएपछि पुनः चौकीमा खबर गरिन् । चौकीबाट एगिन्द्रलाई फोन आयो । लगत्तै एगिन्द्रले मलाई किन बारम्बार ‘टर्चर’ दिनुहुन्छ भनेर कमलासँग बिलौना गरे ।

‘एगिन्द्रले म तपाईंलाई मुद्दा हाल्छु भनेर धम्क्याए,’ सर्मिला राईले अतीत सम्झिन्, ‘मैले निकालेको मान्छे तपाईंले किन राख्नुभयो ? राख्ने बेला मलाई सोध्नुभयो ? भने । म यहाँ होइन, जिल्लामै तपाईंलाई मुद्दा हाल्छु । म तीन/चार लाखमा कानुन किन्छु । त्यसपछि तपाईंलाई ठीक लगाउँछु ।’

त्यसको केही दिनपछि मनिका राईले काठमाडौंबाट टेलिफोन गरेर आमाछोरी राख्छस् भने ६०/७० हजार पैसा मलाई दिनुपर्छ भनेर सर्मिलालाई धम्क्याए । आखिर पीडितले एगिन्द्रबाट २ सयबाहेक लिएकै थिएनन् । सर्मिलाले किन ६०/७० हजार किन तिर्नुपर्ने भनेर मनिकालाई टेलिफोन गर्दा सम्पर्क नभएपछि यही प्रश्न उनकी दिदी बिमला राईलाई सोधियो । बिमलाले चित्तबुझ्दो जवाफ दिन सकिनन् । बिमलाले दाबी गरिन्, ‘हो त दिनुपर्छ नि ।’ तर, केको पैसा दिनुपर्ने भन्दा उनी नाजवाफ भइन् ।

‘मनिकाले आफ्नी छोरीको बर्थडेमा मेरो चार हजार रुपैयाँ चलाएकी थिइन्,’ पीडित कमला राईले भनिन्, ‘धेरैपटक मागें । दिएनन् । पैसा फिर्ता माग्दा मनिकाले मलाई चलाउन दिएको होइन, तिम्रो खुसीले दिएकाले म दिन्न भनी । त्यसपछि माग्न छाडें ।’

एगिन्द्र राईले अहिलेसम्म कमला राईको सबै सामान अहिलेसम्म फिर्ता गरेका छैनन् । ‘मेरो खुट्टावाले पलङ थियो,’ कमलाले दुःख व्यक्त गरिन्, ‘भाइले पलङको खुट्टा फिर्ता दिए । प्लाइचाहिँ डोनट बेल्ने बनाएका छन् । ग्यास चुल्हा दिए । सिलिन्डर देका छैनन् । रेगुलेटर पनि काटेर कामै नलाग्ने बनाइदिएछन् । म फेरि पनि एगिन्द्र भाइलाई अनुरोध गर्छु– मेरो कपडा र फिर्ता गर्न बाँकी सामान पाऊँ । नत्र कानुनी उपचार खोज्न बाध्य हुनेछु ।’

उल्लिखित विषयमा सोधिखोजी गर्दा एगिन्द्र राईले घुमाउरोपारामा अस्वीकार गरेका थिए । एगिन्द्रकी दिदी बिमला राईले समेत भाइबहिनी र आफूले त्यस्तो दुव्र्यवहार नगरेको भन्दै समाचार प्रकाशन नगर्न अनुरोध गरिन् । समाचार पुष्टि गर्न टेलिफोन गर्दा बिमला राईले भनिन्, ‘त्यस्तो लेख्ने नै भए हामीसँग पनि मिडिया छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार