‘राप्पा’ कि साँच्चिकै नगरगीत ?


‘राप्पा कि साँच्चिकै नगरगीत ?’ हलेसी तुवाचुङ नगरपालिकाका एक स्थापित कलाकारले पंक्तिकारको फेसबुक म्यासेन्जरमा लेखिपठाए, ‘किङ स्टुडियोको ठाउँमा तुवाचुङ अथवा हलेसी क्षेत्रका अरू ठाउँ देखाएको भए हुने नि ।’

प्रसंग हलेसी तुवाचुङ नगरपालिकाको नगरगीतको हो । हलेसी तुवाचुङ नगरपालिकाको नगरगीत सामाजिक सञ्जालमा ‘पोस्ट’ भएपछि पंक्तिकारले पनि सामाजिक सञ्जालबाटै विमति जनाए । त्यसपछि धेरैसँग फोन, म्यासेन्जर र कतिपय भेटघाटमा पनि नगगीतबारे अनौपचारिक छलफल गर्ने मौका मिल्यो ।

कलाकारले धेरै मिहिनेत गरेर नगरगीत ल्याएका छन् । स्थानीय कलाकारले यति गर्नु महान् काम हो । गीत राम्रो छ । तर, नगरगीतकै हैसियतमा चाहिँ मिहिनेत गर्न बाँकी छ । त्यसकारण यसलाई नगरगीतका रूपमा पंक्तिकारले असहमति जनाएका हुन् । पंक्तिकारले ‘स्टाटस’ पनि बुझिने (फेसबुके शैलीको भाषा) मा लेखेका थिए । तर, फेसबुक साहित्यबारे यस लेखमा चर्चा गर्नु राम्रो हुँदैन । फेसबुक ‘कमेन्ट’ र ‘लाइक’ चाहिँ कम (?) तर, ‘इनबक्स’मा धेरैले पंक्तिकारलाई ‘म्यासेज’ पठाएका छन् ।

आलेख लेखिरहँदासम्म नगरपालिकाले यसैलाई नगरगीत भनेर घोषणा गरेको छैन । त्यसकारण अहिले नै नगरगीतबारे बहस गर्नु छिटो हुन्छ । तर, यो गीतले नगरगीत कस्तो हुनुपर्छ भनेर बहसको उठानचाहिँ गरेको छ । नगरगीत भनिएको गीतको भाषाशैली, शब्द–रचना, संगीत र गायकीबारे समय मिलेमा फेरि चर्चा गरौंला । अहिलेचाहिँ नगरगीत कस्तो हुनुपर्छ ? यसबारे मात्र छलफल गरिनेछ ।

 नगरगीत राष्ट्रगान होइन तर नगरगीत नगरपालिकाको इज्जत हो । ऐना हो । इतिहास हो । एकताको भावना हो । त्यसकारण राष्ट्रगान कसरी जन्मियो ? त्यो उदाहरण जान्दा राम्रै हुन्छ ।

 

गीत कस्तो हुनुपर्छ ?

भारतको राष्ट्रगान ५२ सेकेन्डको छ । चीनको राष्ट्रगान ४२ सेकेन्डको छ । नेपालको राष्ट्रगान १ मिनेट ११ सेकेन्डको छ । दुवै छिमेकी राष्ट्रका राष्ट्रगानभन्दा नेपालको राष्ट्रगान ‘सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली’ दोब्बर लामो छ । राष्ट्रगान लेखक व्याकुल माइला अर्थात् प्रदीपकुमार राईले लेखेको यो गीत लामो भयो भनेर प्रतिक्रिया पनि आएका थिए । नगरगीत राष्ट्रगान होइन तर नगरगीत नगरपालिकाको इज्जत हो । ऐना हो । इतिहास हो । एकताको भावना हो । त्यसकारण राष्ट्रगान कसरी जन्मियो ? त्यो उदाहरण जान्दा राम्रै हुन्छ ।

राष्ट्रगान कसरी छानियो ?

२०६२/०६३ को जनआन्दोलनकारी पक्षको प्रतिनिधित्व रहनेगरी ‘राष्ट्रगान छनोट कार्यदल’ बनेको थियो । त्यसको संयोजक संस्कृतिविद् सत्यमोहन जोशी थिए । कार्यदलका सदस्यमा अम्बर गुरुङ, रामेश, मोदनाथ प्रश्रित, आहुति, अमर गिरी, बेन्जु शर्मा, नन्दकृष्ण जोशी, श्रवण मुकारुङ, गोपाल ठाकुर, दुर्गालाल श्रेष्ठ, वैरागी काइँला र संस्कृति मन्त्रालयका एकजना सहसचिव थिए । १ हजार २ सय ५२ गीत संकलन गरिएको थियो । यति धेरै गीतबाट व्याकुल माइलाले लेखेको ‘सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली’ कसरी छनोट भयो ? कथा सजिलो छैन ।

कार्यदललाई सबै गीतमा गीतकारको नाम छोपेर गीतमात्र उपलब्ध गराइएको थियो । गीत कसले लेखेको हो, थाहा नहोस् भनेर त्यसो गरिएको थियो । सबै गीतमा कोड नम्बर हालिएका थिए । कार्यदलका सदस्य आहुतिले कतै लेखेका छन्, ‘भाषा, शैली, छन्द, विचार आदिलाई कसरी मूल्यांकनको आधार बनाउने ? सिर्जनालाई अंकका आधारमा मूल्यांकन गर्न सम्भव हुँदैन तर त्यो राजनीतिक आवश्यकता थियो । त्यसपछि बनाइयो चल्दो, मिलाइँदो जाँचकी विधि, अर्को उपाय पनि थिएन ।’
ती गीतलाई कार्यदलका सम्पूर्ण सदस्य सँगै बसेर पढे । र, व्यक्तिगत रूपमा अंक दिने विधि उनीहरूले बनाए । उनीहरूले गीतबारे थुप्रै सुझाव संकलन गरे । देशका चार/पाँच ठाउँमा अन्तरक्रिया गरे । हजारभन्दा बढीबाट एक सयवटा गीत छान्न दुई महिनाजति लागेको थियो भने सय गीतबाट एउटा गीत छान्न अझै धेरै समय र मिहिनेत परेको थियो । धेरैले अर्थ बुझ्ने सरल गीत छान्ने भन्दैमा लोकगीत छान्नु पनि भएन ।

नगरगीत कसरी छान्ने ?

नगरगीत कस्तो हुनुपर्छ भन्नेबारे नियम छैन । सिद्धान्त पनि छैन । यो कलाकारको कलाको कुरा हो । नगरगीतले नगरपालिकाका भौगोलिक, शैक्षिक, आर्थिक तथा साँस्कृतिक, भाषिक, धार्मिक विविधतालाई समेट्नुपर्छ । ऐना छरितो र ‘पोर्टेबल’ हुनुपर्छ । गीतले नगरपालिकाको परिचय दिन सक्नुपर्छ । नगरपालिकाको विविधता सम्बोधन गर्न सक्नुपर्छ ।
नगरगीत किन बनाउने ? केका लागि बनाउने ? कसरी बनाउने ? जस्ता आधारभूत कुरामा सरोकारवालाले ज्ञान राख्नुपर्छ । हचुवाको भरमा कसैले बनाएको कुनै गीतलाई नगरगीत भनेर घोषणा गरिनुहुँदैन । अथवा नगरपालिकाभरिका स्रष्टालाई नहेरी आफूनजिक रहेका एकादुई कलाकारलाई मात्र त्यस्तो काम दिँदा गीत पूर्ण हुँदैन । नगरवासीले रुचाउनुपर्छ ।

नगरगीतले नगरवासीको मनमस्तिष्कमा बास बस्न सक्नुपर्छ । गीतका माध्यमबाट नगरपालिकाका महत्वपूर्ण स्थानको प्रवद्र्धन गर्न सकिन्छ । यो पर्यटक लोभ्याउने एउटा गतिलो माध्यम पनि हो ।

त्यसो भन्दैमा नगरपालिकामा भएका सबै–सबै कुरा गीतमा समेट्दा गीत लामो हुन्छ भन्न पाइँदैन । गीतलाई छोटो, छरितो र मीठो बनाउने कला गीतकारसँग हुनुपर्छ । सबैसँग त्यो क्षमता हुँदैन । गीतकारले जान्ने कुरा हो ।

नगरपालिकाले विशेष महत्वसाथ नगरको पहिचान प्राथमिकतामा राखेर ‘नगर समृद्धि’ अथवा स्थानीय थातथलोको प्रवद्र्धन गर्न नगरगीत बनाउन सक्छ । अहिले धेरै स्थानीय सरकारले स्थानीय गीत बनाउँदै छन् । कतिपय गीतका आलोचना थुप्रै भएका छन् । छलफल भएका छन् ।

नगरगीतले सामान्यतया नगरको गौरव बोल्नुपर्ने हुन्छ । त्यसले नगरको समृद्धि तथा सपनाको दिशा बोल्नुपर्ने हुन्छ र नगरको विविधताबीचको न्यायपूर्ण एकता बोल्नुपर्ने हुन्छ । नगरभक्तिका गीत धेरै हुन सक्छन् तर एउटामात्र नगरगीत बन्नुपर्छ । नगरगीत भनेको नगरवासीलाई एउटै भावमा जोड्ने सशक्त माध्यम हो ।

पैसा कति लाग्छ ?

नगरगीत नगरपालिकाको इज्जत हो । यसमा कलाकारको प्रतिष्ठामात्र जोडिएको हुँदैन । यसलाई पैसासँग दाँज्नुहुँदैन । यसको एउटै सर्त हुन्छ– नगरगीत सन्देशमूलक र श्रवणीय हुनुपर्छ । सामान्यतः एउटा नगरगीतको लागत सात लाखभन्दा बढी रुपैयाँ परेको सुनिएको छ । पैसा नपुगेर गीत कमजोर भयो भन्न पाइँदैन । कलाकारले पैसा पनि राम्रै लिनुपर्छ । काम पनि राम्रै देखाउनुपर्छ ।

हलेसी तुवाचुङ नगरपालिकाको नाम आफैंमा सुन्दर छ । सुन्दर नामजस्तै राम्रो छ यो नगरपालिका । कुनै ठाउँमा धेरै मिहिनेतपछि थुप्रै विकास तथा समृद्धि आएपछि सुन्दर भएका छन् । तर, हलेसी प्राकृतिक रूपमै सुन्दर छ । हलेसी आफैं सुन हो । विकास र समृद्धिमार्फत सुनमा सुगन्ध थप्न बाँकी छ । त्यसकारण यहाँको नगरगीत सबैले ‘अच्छा’ भन्नेखालको हुनुपर्छ । त्रिधार्मिक हलेसी चानचुने कुरा होइन । विश्वका मानिसले हलेसीलाई हेरिरहेका छन् ।

नगरगीत छनोट कार्यदल

नेपालको राष्ट्रगान कसरी बन्यो ? त्यसको उदाहरण पनि एक आधार हुन सक्छ । पहिला नगरगीत कसरी बनाउने भनेर नीति बनाउनुपर्छ । नगरगीत छनोटका लागि कार्यदल बनाउनुपर्छ । गीत कस्तो हुनुपर्छ भनेर प्रतिक्रिया लिनुपर्छ । त्यसपछि नगरपालिकाभित्रका मात्रै कलकार समेट्ने कि नगरबाहिरका कलाकार पनि समेट्ने यसबारे आधार तय गर्नुपर्छ । त्यसपछि गीतकारसँग गीत माग्नुपर्छ । थुप्रै गीतकारलाई छनोटमा सहभागी हुने अवसर दिनुपर्छ । छनोट गीतका लागि थुप्रै ‘दामी’ संगीत भर्नुपर्छ । राम्रो धुन कुन बन्छ, त्यसलाई छान्नुपर्छ । र, नगरभरिका कलाकार तथा गायकगायिकालाई गाउने अवसर दिनुपर्छ । ताकि सबैको सहभागिता होस् । अनि मात्रै नगरवासीले अपनत्वबोध गर्छन् ।

नगर समृद्धिले ओतप्रोत भएको आधिकारिक गीत नै नगरगीत हो । नगरप्रेमले भरिएको एउटा यस्तो संगीत रचना हो, जसले उक्त नगरको इतिहास, सभ्यता, संस्कृति र त्यहाँका जनताको संघर्षको व्याख्या गर्छ । नगरगीतले सामान्यतया नगरको गौरव बोल्नुपर्ने हुन्छ । त्यसले नगरको समृद्धि तथा सपनाको दिशा बोल्नुपर्ने हुन्छ र नगरको विविधताबीचको न्यायपूर्ण एकता बोल्नुपर्ने हुन्छ । नगरभक्तिका गीत धेरै हुन सक्छन् तर एउटामात्र नगरगीत बन्नुपर्छ । नगरगीत भनेको

नगरवासीलाई एउटै भावमा जोड्ने सशक्त माध्यम हो । त्यसकारण नगरगीतलाई सबैले अपनत्व अनुभव गर्ने बनाउनुपर्छ ।
नगरगीत कहाँ, कसरी गाउने ?

आज नगरगीत भनेर सामान्य रूपमा लिइएला । भोलि नगरपालिकाले नगरभित्रका प्रत्येक स्कुल तथा कार्यालयमा राष्ट्रगानजस्तै नगरगीत पनि अनिवार्य गाउनुपर्ने नियम बनाउन सक्छ । त्यो समयमा लामो गीत सुन्न कत्तिको व्यावहारिक होला ? नरुचाइएको गीत गाउन कत्तिको आनन्द होला ? स्कुलको ‘एस्सेम्ली’मा राष्ट्रगान गाउँदागाउँदै बालबालिका ‘फेन्ट’ भएर ढलेका थुप्रै समाचार सुनेका छौं ।

नगरगीत कसरी गाउने ? कस्तो–कस्तो कार्यक्रममा गाउने ? कहाँ–कहाँ गाउने ? यसबारे नगरपालिकाले नीति बनाउन सक्छ । फिलिपिन्समा राष्ट्रगान कसरी गाउने भन्नेबारे कानुन बनाएको छ । त्यहाँ राष्ट्रगान गाउँदा पर्याप्त उत्साह देखाइएन भने जेल चलान गर्न सक्ने कानुनी प्रावधान छ । भारतमा सिनेमाहलमा राष्ट्रगान बजाउनुपर्ने निर्णय त्यहाँको सर्वोच्च अदालतले गरेको छ । भारतमा राष्ट्रगान गाउँदा सबैले उठ्नैपर्ने वा नपर्नेमा अहिले पनि विवाद छ । नगरपालिकाको गीतभन्दा राष्ट्रगान नै प्रमुख हो तर नगरगीतलाई कम आँक्न मिल्दैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार