माइती–चेली ग्रामीण सडक खन्दा, अनियमितता भएकै रहेछ सत्य कुरा भन्दा

तेस्रो आँखा संवाददाता

रङ्काडो (दुर्छिम), २ मंसिर

मह बनाउँछ माहुरीले, आफू खान पाउँदैन

धन सञ्चित गर्छ मान्छेले, मर्दा लान पाउँदैन

भन्न त यसो भनिन्छ नि । तर, यसो भन्नेहरूले नै मौका पाए धन कुम्ल्याउन के पछि पर्थे होलान् र । यसमा द्विविधा रहेन । सुनमा त ठिकै होला तर नुनमा समेत अनियमितता गर्नु भनेको गुन्द्रुकको झोलमा इज्जत फाल्नुसरह हो भन्नेको कमी छैन ।

हो, त्यस्तै भएको रहेछ– माइती चेली ग्रामीण सडक मर्मत गर्दा । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम चुमाखुको सालथुम्कादेखि रङ्काडोसम्म खनिएको सडकलाई माइती चेली ग्रामीण सडक नामकरण गरिएको छ । सो सडक मर्मत गर्दा अनियमितता भएको स्थानीयले मुख फोर्न थालेका छन् ।

हिजोआज गाउँ–गाउँमा सडक खन्ने होडबाजी चलेको छ । यातायात साधन नगुडे पनि सडक खन्नलाई प्राथमिकतामा राखिएको छ । सडक खनेपछि विकास भइहालेजस्तो लाग्ने नै भयो । हुन पनि हो, सडक समृद्धिको महिमागान गाएर गाउन सकिँदैन । नभन्दै रङ्काडोवासीले पनि घरलौरी २५/२५ हजार संकलन गरेर सडक खने । कटुम्बको घर गएका रङकाडोका चेलीहरूले पनि एक÷एक घन्टाको जेसीभी भाडा तिर्न राजी भए । माइती–चेली ग्रामीण सडक भनेर गज्जबको नाम पनि राखे ।

 प्रतिघन्टा तीन हजार रुपैयाँमा सडक मर्मत गर्न जेसीभीमालिक टेकेन्द्र राईसँग पक्कापक्की भयो । दुर्छिम माध्यमिक विद्यालय छापडाँडाका शिक्षकसमेत रहेका राईको जेसीभीले सडक मर्मत गर्न थाल्यो । जेसीभीले ४६ घन्टा ३६ मिनेट सडक खनेको थियो । ४६ घन्टा ३६ मिनेट सडक खने पनि ५२.७३ घन्टाको बिल बनाइएको भ्याटबिलमा उल्लेख छ । मनमौजी तरिकाले बिल बनाएको स्थानीयले गुनासो गरेपछि माइती चेली ग्रामीण सडक निर्माण उपभोक्ता समिति अध्यक्ष उदिप राईलाई पटक–पटक टेलिफोन गरियो । राईले खातापाता हेरेर जानकारी गराउँछु भने पनि वास्ता गरेनन् । तुवाचुङ साप्ताहिकले दोस्रोपटक टेलिफोन गर्दा अध्यक्ष राईले म अहिले ‘बिजी’ छु भरै कल गर्छु भने पनि सम्पर्कमा आउन चाहेनन् ।

हलेसी तुवाचुङ नगरपालिकाले जेसीभी र स्काभेटरको प्रतिघन्टा क्रमशः दुई हजार पाँच सय र ६ हजार भाडा निर्धारण गरेको छ । नगरले भाडा निर्धारण गरेभन्दा माइती चेली ग्रामीण सडक मर्मत गर्दा प्रतिघन्टा पाँच सय रुपैयाँ बढी जेसीभी भाडा बुझाउँदा पनि स्थानीयले चित्त बुझाएकै थिए । तर, जेसीभीलाई प्रतिघन्टा पाँच सय रुपैयाँ बढी भाडा बुझाएर पनि जेसीभीमा प्रयोग गरिएको ४८० लिटर डिजेलको प्रतिलिटर एक सयका दरले ४८ हजार छुट्टै खर्च भ्याटबिलमा उल्लेख गरिएपछि स्थानीयको पारो तात्ने नै भयो । मानिसले अतिसम्म सहन्छन् । अतिमा चार थपिएपछि बोल्न बाध्य हुँदारहेछन् ।

जेसीभीलाई प्रतिघन्टा दुई हजार पाँच सय भाडा उपलब्ध गराएपछि तेल खर्च जेसीभीमालिकले नै हाल्नुपर्ने दुनियाँलाई थाहा छ । र, त्यसै गर्नु पनि पर्छ । तर, माइती चेली ग्रामीण सडक मर्मत गर्दा अनियमितता भएकै देखिन्छ । यस विषयमा जानकारी लिन जेसीभीमालिक टेकेन्द्र राईलाई तुवाचुङ साप्ताहिकले टेलिफोन ग¥यो । राईले भने, ‘जेसीभी चलेको आधारमा हामीले भाडा लिएको हो । तर, भ्याटवालाले बिल प्रयोग गरेबापत धेरै पैसा मागेकाले तेलको खर्च देखाएर बिल बनाइएको हो ।’

राईको तर्क व्यावहारिक देखिँदैन । भ्याटबिलवालाले उसको भ्याटबिल प्रयोग गरेबापत बढी पैसा माग्नै मिल्दैन । भ्याटबिल प्रयोग गरेबापत कुल रकमको १३ प्रतिशत भ्याटबिलवालाले स्वाभाविक रूपमा लिनुपर्छ । त्यसबाहेक अतिरिक्त खर्च माग्नै पाइँदैन । मागेमा भ्रष्ट ठहरिने हलेसी तुवाचुङ नगरपालिकाका एक जेसीभी सञ्चालकले नाम उल्लेख नगर्ने सर्तमा सुनाए ।
त्यसरी बनाइएको बिल सडक अनुगमनमा पुगेका इन्जिनियर नवीन आचार्यले अस्वीकृत गरेका थिए । अनुगमनमा अस्वीकृत बिल नै अन्ततः इन्जिनियर आचार्यले स्वीकृत गरेपछि स्थानीय तीनछक परेका छन् । थोरै बजेटको काममा पनि जताततै अनियमितता भएपछि तुवाचुङ साप्ताहिकले इन्जिनियर नवीन आचार्यलाई समेत टेलिफोन ग¥यो । ‘सर, यो कुन सडकको कुरा गर्दै हुनुहुन्छ । मैले त बिर्सेछु,’ टेलिफोनमा इन्जिनियर आचार्यले आफ्नो बचाउ गर्दै भने, ‘म अहिले नगरमा छैन । तर, मैले सिग्नेचर गरें होला । सबै योजना अनुगमनका लागि इन्जिनियर नै पुग्न सक्छन् भन्ने छैन । म पुग्न नसकेका ठाउँमा नगरका अन्य प्राविधिक पुग्न सक्छन् । सम्बन्धित प्राविधिकमध्ये डकुमेन्ट ठीकठाक भएको भनेर हस्ताक्षर गरेपछि मैले पनि साइन गरिदिएँ होला ।’

सडक मर्मत थाल्नुअघि उदिप राईले एक लाख ५० हजारसम्मको मात्र काम गर्नु भनेका थिए । राईले बाँकी पैसा सालथुम्कानजिकैको भित्तामा रहेको ढुंगा ब्रेकर मेसिन लगाएर हटाउनुपर्छ भनेका थिए । उनले त्यसो भनेअनुसार काम हुँदै भएन । यातायात साधन आवतजावत गर्न अप्ठ्यारो पारेको त्यो ढुंगा आजसम्म हटाइएको छैन । आजसम्म पनि किन हटाइएन भनेर उनले चित्तबुझ्दो जवाफ दिन सकेका छैनन् ।

माइती चेली ग्रामीण सडक खन्दा ५० हजार रुपैयाँ ब्याजमा ऋण लिएको हो । ‘५० हजार पनि ऋण लाग्दैनथ्यो,’ रङ्काडावासी हेम रोदुङ भन्छन्, ‘अध्यक्षका साइँला भाइको भागमा परेको २५ हजार अहिलेसम्म उठेको छैन । उहाँकै जेठा दाइ अशोक राईले पनि पूरा पैसा दिनुभएन । आफ्नो भागमा परेको ५० हजार सबैले इमानदारपूर्वक दिएको भए ऋण लाग्थेन । त्यतिबेलाको ऋण तिर्न अझै १३ हजार रुपैयाँ रहेको माइन्युटमा उल्लेख छ ।’
त्यतिमात्रै होइन, सडक मर्मत गर्दाको वास्तविकता अध्यक्ष राईले अहिलेसम्म सार्वजनिक गरेका छैनन् । छलफलसम्म चलाएनन् । सानो गाउँका इमानदार, पढेलेखेका भनेर प्रशंसित उनले यस्तो काम गर्लान् भनेर गाउँलेले दस मनमा एक मनले समेत चिताएका थिएनन् ।

दुर्छिमको छापडाँडामा रहेको युमी बोर्डिङमा अध्यापन गरिरहेका उनी स्थनीय तह निर्वाचनपछि नवकिरण सेवा समाजअन्तर्गत सबल कार्यक्रममा जागिर खाने मौका पाए । डिकुवा कार्यक्षेत्र परेपछि उनी केही समय परिवारसँगै छापडाँडामा डेरा बस्थे । डिकुवा कार्यक्षेत्र परेपछि गाउँलेले उनीसँग सम्पर्क गर्न सकेनन् । ‘रङ्काडोमा १४ घर रहे पनि प्रत्यक्ष उपभोक्ता १० घर छन् । त्यसमाथि युवाजति कोही विदेश, कोही काठमाडांै पुगेका छन्,’ एक स्थानीयले भने, ‘बूढापाका, छोरी–चेली, बुहारी र अशक्तमात्रै गाउँमा रहेकाले उदिपलाई झकझकाउने कोही भएनन् । उनले पनि ध्यान दिएको पाइँदैन । काम सकिएपछि सार्वजनिक सुनुवाइसमेत भएन ।’

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारीले आर्थिक वर्ष २०७४/०७५ को वडास्तरीय बजेटबाट माइती चेली ग्रामीण सडक स्तरोन्नतिका लागि दुई लाख ५० हजार रुपैयाँ छुट्ट्याएको बताए । हो, त्यही बजेटमा अनियमितता भएको थियो । सडक स्तरोन्नतिका लागि छुट्ट्याइएको बजेट मर्मतमा सकिएपछि स्थानीयको गुनासो गरेका हुन् । सडक स्तरोन्नतिका लागि अनुगमनमा पुगेका प्राविधिकले सडक चारदेखि पाँच मिटरसम्म चौडा बनाउन सुझाएका थिए । प्राविधिकले सुझाएअनुसार काम गर्न स्काभेटर चाहिन्थ्यो । तर, जेसीभीले काम थालेपछि प्राविधिकको सुझावलाई उदिपले धोती लगाइदिए ।

समितिकी सचिव उदिपकै श्रीमती कौशिला राई छन् । सडक मर्मत थालिएको दिन उदिप जेसीभी लिएर पुगेका थिए । उनी एकछिन बसेर बाँकी काम गाउँका दाजुभाइ तथा भतिजलाई सुम्पेर जागिर खान गए ।
सालथुम्कानजिकको ढुंगा हटाउन उदिप आउलान् नि भनेर गाउँलेले बाटो हेरिरहे । बीचमा बुर्खा–हात्तिढुंगे–चुमाखु जोड्ने सडकको काम सुरु भयो । त्यतिबेला गाउँलेले उदिपलाई सम्पर्क गर्नसम्म गरे । तर, सम्पर्क भएन । ढुंगा हटाउन ब्रेकर मेसिन चाहिन्थ्यो । सो सडक खन्न आएको ब्रेकर मेसिनलाई सशुल्क सहयोग मागेर उनले ढुंगा हटाउलान् भन्ने गाउँलेको आस आसमै सीमित रह्यो । बुर्खा–हात्तिढुंगे–चुमाखु जोड्ने सडक खन्न प्रयोग गरिएको ब्रेकर मेसिन आयो । गयो । गाउँले हेरेका हे¥यै भए । त्यो ढुंगा अहिले पनि जहींको तहीं छ ।

माइती चेली ग्रामीण सडक मर्मतका लागि तात्कालिक गाउँ विकास समितिस्तरीय ७० हजार छुट्टिएको थियो । तर, भन्ज्याङको आमा समूहले समेत बजेट दाबी गरेपछि २० हजार दिइएको थियो । बाँकी रहेको ५० हजारले सडक मर्मत गर्न सम्भव थिएन । त्यसपछि प्रतिघर पाँच÷पाँच हजार रुपैयाँ संकलन गर्ने सहमति भयो । सहमतिअनुसार पाँच/छ घरले पाँच÷पाँच हजार उठाए । अरू कसैले दिएनन् ।

तपाईंले पनि पैसा दिनुभएन रे नि ? भन्ने तुवाचुङको प्रश्नमा स्थानीय हेम रोदुङले जिकिर गरे, ‘त्यतिबेला म विदेशमा थिएँ । छिटो पैसा पठाऊ भनेर अध्यक्षले टेलिफोनमा तारताकेता गरे । त्यसो भनेपछि गाउँठाउँको शुभकार्यमा तोकिएको पैसा मैले पठाइदिएको हुँ । मैले पैसा उपलब्ध गराएको माइन्युटमै उल्लेख छ त ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार