भुलभुलेमा भुलिँदा

नवीन चाम्लिङ राई

खोटाङ सदरमुकाम दिक्तेलबाट नौ किलोमिटर दूरीमा रहेको भुलभुले दूधकुण्ड देउधामको मनमोहकता शब्दमा व्यक्त गर्न कठिन छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण भुलभुले जंगलबीचमा रहेको छ । त्यही माथि रुवालुङ झरनाले भुलभुल पुगेकाको सारा दुःख, पीर, व्यथा भुलाइदिन्छ । मनै शान्त पार्ने भुलभुले देउधाममा पछिल्लो समय दर्शनाथीको भीडभाड लाग्ने गर्छ ।

दिक्तेल रूपाकोट मझुवागडी नगरपालिका–६ नेर्पाको भुल्केमा रहेको भुलभुले दूधकुण्ड देउधामको जति नै चर्चा गरे पनि कमै हुन्छ । नेर्पा र दोर्पाका स्थानीयले नजिकको तीर्थका रूपमा पूजाआजा गर्दै आएको भुलभुले हिजोआज हिन्दु तथा किरात धर्मावलम्बीको पवित्र तीर्थस्थलका रूपमा परिचित बन्दै गएको छ । आन्तरिक तथा बाह्य पर्यटकसमेत भुलभुले पुगेकै छन् ।

भुलभुले दर्शन गर्दा मनोकांक्षा पूरा हुने, निःसन्तानले सन्तान प्राप्ति गर्ने विश्वास रहिआएको छ । मनोकांक्षा पूरा भएकाहरू भाकल बुझाउन पुग्ने पनि बाक्लै भेटिने पुजारी दीर्घराज राई बताउँछन् । पहिले दर्शन गर्न अप्ठ्यारो भए पनि अहिले व्यवथित गरिएको स्थानीयको भनाइ छ । अहिले पोखरीमा कम्पाउन्ड, मन्दिर छिर्ने गेट, छानासहितको फलामे बेन्च, ठाउँठाउँमा फोटोसहित सूचना पाटी राखिएका छन् ।

कात्तिक पूर्णिमा, ऋषितर्पणी, हरितालिका तीज र शिवरात्री गरी वर्षमा चारपटक मेला लाग्छ । त्यसताका दर्शनाथीको भीडभाड लाग्ने भुलभुले संरक्षण समिति सदस्य लोकेन्द्र राईले सुनाए ।

जमिनबाट भुलभुल गर्दै पानी आउने भएकोले यस ठाउँको नाम भुलभुले रहेको बताइन्छ । मन्दिर चढ्नबित्तिकै देखिने पोखरीको पूजा गर्ने मुख्य ठाउँमा विभिन्न रङका कालो, रातो, खैरो माछा पौडिरहेका हुन्छन् । माछा आफैं उत्पत्ति भएको पुजारी राईले बताए । रंगीविरंगी माछा देख्दा मन आनन्द हुन्छ । पुजारी राई बिहान सात बजेदेखि बेलुका सातबजे सम्म तीर्थालुसँगै मन्दिरमा भेटिन्छन् ।

मन्दिरदेखि माथि रुवालुङ झरना र झाँक्रीबास गुफा रहेका छन् । झरनामाथि एउटा ठूलो रूख थियो । रूखको फेदमा सर्प बस्थे । पुस–माघको एक दिन त्यहाँ आगो बालेर ताप्नेक्रममा रूखको फेदमा आगो लागेर रूख ढलेपछि सर्प हराएको किंवदन्ती प्रचलित छ । त्यही रूखमाथि वनझाँक्री नाच्ने गर्थे ।

सबैभन्दा तल दूधकुण्ड रहेको छ । दूधकुण्डमा औसी र पूर्णिमामा पानीसँगै दूध निस्कने बताइन्छ । यस्तो पवित्र स्थललाई पर्यटकीय स्थलका रूपमा प्रवद्र्धन गर्न दिक्तले रूपाकोट मझुवागडी नगरपालिका जोडतोडले लागेको नगर उपप्रमुख वीणादेवी राईले जानकारी गराइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार