चर्चाबाहिरका चामबहादुर

असल चरित्र

बसीबसी पनि काम गरिन्छ र ? गरिहालिन्छ नि । होइन भने हलेसी तुवाचुङ नगरपालिका–८, गाराबु धितुङका चामबहादुर सार्कीलाई भेट्नु त । शिल्पी समुदायका सार्कीले हिजोआज बसीबसी काम गर्छन् । बसेर गरिने कामबाट चित्तबुझ्दो कमाइ गरेका छन् ।

५८ हिउँद बर्खा झेलेका उनी हिजोआज हलेसी गुफादेखि बसाहा गुफा झर्ने सिँढीछेउको छाप्रोमा बसेर जुत्ता, चप्पल सिलाउँछन् । जुत्ता चम्काउँछन् । जुत्ताको सोल हाल्छन् ।

अरू के–के गर्लान् ? हलेसी मन्दिरमा आरतिको समयमा बजाइने बाजागाजा डमरु, नगरा बनाउँछन् । फुटेका बाजागाजा टालटुल गर्ने, बेर्ने, खरी लगाउने काम पनि भ्याउँछन् । ती सबै काम गर्दा दैनिक आम्दानी कति होला ? चिया, भात खाने पैसाको दुुःख नहुने उनले सुनाए ।

‘३१ सालमा अहिलेजस्तो सडक थिएन । म त्यतिबेला १३ वर्षको थिएँ । १३ देखि २७ वर्षको भइन्जेल धरान, कटारी, गाईघाटबाट हलेसी, अर्खाैले र ऐंसेलुखर्कसम्मको भारी बोकें,’ पराग चपाइरहेका उनले भुँइतिर थुक्दै विगत कोट्याए, ‘२१ वर्षको हँुदा एक क्वीन्टल २० केजी सामानमाथि बाटोमा खाने सामलतुमल, भाँडाकँुडा बोकेर भारी बोकेको बिर्सेको छैन ।’ त्यसैको असरले होला कहिलेकाहीं शरीर चरकचरक दुख्ने दुःखेसो पोखे । उनले दुःख सुनाए, ‘त्यतिबेला सुत्नै सक्दिनँ ।’

एकताका पाँच छोरी र एक छोराले घेरिएका उनका चार छोरीको बिहेदान भइसकेको छ । छोरा साउदी अरबमा छन् । तीन नाति–नातिनीका साथ बुहारी काठमाडौंमा बस्छिन् । गाराबुमा श्रीमती र कान्छी छोरी छन् । उनी बेला–बेलामा घर पुग्छन् । आमाछोरीले एकहल गोरु, एउटा पाडा र एकहलको मेलो बारीमा खेतिपाती गर्दै आएका छन् । देशदेखि परदेशसम्म फैलिएको उनको पारिवारिक संसार लोभलाग्दो छ ।

हलेसीमा जुत्ता–चप्पल सिलाउने, बाजागाजा मर्मत गर्ने उनी एक्ला हुन् । हलेसी गुफादेखि बसाहा गुफा झर्दै गर्दा छेउमै जस्तापाताले बेरबार गरेको छाप्रो देखिन्छ । उनले त्यहींभित्र जुत्ता–चप्पल सिलाउँछन् । बाजागाजा मर्मत गर्छन् । एकछेउमा बत्ती राखेका छन् । आत्मशान्ति, आफ्ना र आफन्तका नाममा बत्ती बाल्न चाहनेलाई सुविधा दिएका छन् ।

‘कहिलेकाहीं त बत्ती बालेबापत तीनदेखि चार हजार रुपैयाँसम्म हुन्छ,’ उनी झन् उज्यालो देखिए, ‘सिजनमा त्यसको दोब्बर–तेब्बर कमाइ हुन्छ सर ।’ बत्तीबाटै त्यति धेरै कमाइ गर्ने उनले जुत्ता–चप्पल सिलाएको र बाजागाजा मर्मत गरेको पारिश्रमिक कति तोकेका होलान् ? ‘जुत्ता सिलाएको २५० लिन्छु,’ उनले थपे, ‘अच्छा जुत्ताको सोल फेरेको ८ सय ।’

यो त महँगो भएन र ?

‘मिहिनेत र सामान पनि त महँगै छ नि सर,’ उनले हाकाहाकी भने, ‘जानेको सीप हो । गर्नेले गरिराखेकै छन् हजुर ।’
अनि पालिस गरेकोचाहिँ कति लिनुहुन्छ ?

‘पालिस गरेको र चप्पल सिलाएको एक सयरुपैयाँ लिन्छु,’ उनले आफ्नो पारिश्रमिकको मूल्यसूची बेलिविस्तार लगाए, ‘पूरा जुत्ता टालेको पनि २५० नै लिन्छु । हलेसी मन्दिरको डमरु, नगरा बनाउँदा र खरीसरी लगाउँदा चियाखाजा खाने खर्च उठ्छ ।’
हिजोआज जुन टहरोमा आश्रय लिएका छन्, त्यो जग्गा उनले संवत् २०७१ मा किनेका रहेछन् । ऊबेला दुई लाखमा किनेको जग्गाको मूल्य बढ्दै गएको छ । जग्गाको मूल्य बढ्दै गएकोमा उनी खुसीले गद्गद् छन् ।

कुराकानीका लागि समय दिनुभएकोमा धन्यवाद चामबहादुर नेपाली दाइ भनेर पंक्तिकारले नमस्कार गरे । नमस्कार फर्काउँदै उनले भने, हामी सबै नेपाली हौं नि सर । तर, मलाई त चामबहादुर सार्की भनेर बोलाको नै मन पर्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार