एउटा पलङसमेत नभएको १०० वर्षीय वृद्धलाई भुइँमा सुत्दा निद्रा लाग्दैन

नवीन चाम्लिङ राई/कृष्ण कृति

गाउँघरमा सय वर्ष पुगेका वृद्धवृद्धा भेट्न कठिन छ । चामलमा बियाँ भेटेसरह भेटिने ज्येष्ठ नागरिक नयाँ पुस्ताका लागि आशिष हुन् । वरदान हुन् । इतिहास हुन् । सानोतिनो पुस्तकालय नै हुन् । ज्ञान–सीपका खानी हुन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान गैरीगुठमा त्यस्तै जीवित इतिहास भेटिएका छन् । सय वर्ष पुगेका इतिहास हुन्– हस्तबहादुर राई । जिउँदो इतिहाससँग साक्षात्कार गर्न पंक्तिकार र कृष्ण कृति हलेसीको ऐंसेलुखर्कबाट गैरीगुठतिर लागे । बिहानको ११ बज्दै थियो ।

मोटरसाइकलको सहारामा ओह्रालिँदा एक/दुई ठाउँमा बाटो निकै अप्ठ्यारो थियो । बाटो लागेको ४५ मिनेटमा राईको घर पुग्यौं । गाउँलेले उनलाई खड्गेम्पा भनेर चिन्दारहेछन् । हामी पुग्दा उनी घरपछाडि घाम तापिरहेका थिए । पारिलो घाम तापिरहेका उनीसँग पंक्तिकारले जीवनका अवयव कोट्याउन थाले । उनले जीवनका पाना फरर्र पल्टाउँदै गए । संवत् १९७६ मा जन्मेका उनले ९० सालको भूकम्पमा १२ वर्षको थिएँ भने । तर, गनिल्याउँदा ९० सालको भूकम्पमा उनी १४ वर्षका थिए । सय वर्षमा हिँडिरहेका उनको यत्तिको स्मरण शक्ति हुनु पनि गौरवको विषय हो ।

‘भूकम्प जाँदा ?,’ उनले अतीत सम्झे, ‘भुइँसीलाई पानी ख्वाउँदै थिएँ ।’ ९० सालको भूकम्पमा धनजनको क्षति निकै भएको उनले पनि सुनेका थिए । उनले थपे, ‘तर, हलेसी भेगमा त्यस्तो खति भएको सम्झना छैन ।’ आफ्नो जीवनकालमा तीन बिहे गरेका उनी बेसहारा छन् । बेसहारा भएपछि घरमा एक्लै बस्नु स्वाभाविकै हो । सन्तानका नाममा कान्छा छोरा धनहर्क राई जीवित रहेको सबैलाई थाहा छ । दुई छोरा र दुई श्रीमतीको निधन भइसकेको छ । कान्छी श्रमती । छोरीहरू भने जीवित छन् कि छैनन्, जीवित छन् भने कहाँ होलान्, खुटखबर छैन ।

‘आँखा कम देख्छु,’ पारिवारिक शोकमा परेका उनले पीडा पोखे, ‘आफन्तबाटै सहयोग नपाउँदा किन बाँचेछुजस्तो लाग्छ । सबैले मलाई फसाउनमात्र आउँछन् ।’ हुन पनि हो– उनको स्याहारसुसार र संरक्षण गर्ने कोही छैनन् । हलेसी भेगमा ०३४ सालमा अनिकाल लाग्यो । अनिकालमा जोगाएको घरकैबाट त्यति सहयोग नपाएका उनले विगत सम्झेर रमाउने प्रयत्न गर्छन् । ‘जहान, छोराछोरी पाल्न अन्न खोज्दै माथिल्लो ऐंसेलुखर्कसम्म पुगें,’ उनले जानकारी गराए, ‘त्यसबेला ऐंसेलुखर्कवासीले अन्न खोज्नेलाई गिल्ला गरेका थिए । हामीलाई गिल्ला गर्दा रिसाउनुभएन ।

जसरी पनि अन्न किन्नु नै थियो । त्यसबेला सुका पाथी अन्न खरिद गरेका थियौं ।’ ऐसेलथानका मान्छेले हलेसे तिमीहरू अल्छे । काम गर्नेबेला हात सिरानी लगाएर सुत्छौ, अनि अनिकाल लाग्दैन त भन्दा नमज्जा लाग्ने नै भयो । तर, उनलाई अरूले गाली गरे पनि हाँसीहाँसी अन्न फुत्काउनु नै थियो । गाली सहनुको विकल्प थिएन । गालीसरीको अन्न किनेर परिवारको परान बचाउनुपर्ने बाध्यता थियो । ज्येष्ठ नागरिक राईले जीवनकहानी सुनाउँदै गए । ‘म उदयपुरको कटारीदेखि सिरहाको मिर्चैयासम्म भारी बोक्न पुगेकोे छु,’ उनले थपे, ‘गोदारसम्म धेरैपटक पुगेको थिएँ ।’ मीठो–मसिनो खान दसैं कुर्नुपर्ने समय थियो ।

समय परिवर्तन भइसकेको छ । पहिलेको कुरा सुनाउँदा हिजोआजकालाई पत्याउनसम्म गाह्रो पर्छ । ‘अहिले पो बजार भयो । पहिले हलेसी गुफा पस्न बाटोसम्म राम्रो थिएन,’ उनले विगत सुनाए, ‘हलेसीमा २०/२२ वटा साँढे थिए । मैले वर्ष दिन ती साँढे हेरें । हेरालुको काम गरेबापत चार सय रुपैयाँ पारिश्रमिक पाएँ ।’ हेर्दाहेर्दै हलेसीको रूप फेरियो । ‘यस्तो हुन्छ भनेर मैले त सपनामा पनि सोचेको थिइनँ,’ उनले गर्व गरे, ‘हिजोआज हलेसी सानोतिनो सहरै बनेको छ । राति–राति स्याल कराउने डाँडाभरि घरैघर बनेका छन् रे । म त हलेसीसम्म पुग्न पनि सक्दिनँ ।’ ‘सुनाऊँ,’ खड्गेम्पा फेरि बोले, ‘सुका माना घ्यु किन्ने मै हुँ । एक रुपैयाँ धार्नी मासु खाएको ज्यान यही हो ।’

आँखा त्यति नदेखे पनि आफैं खाना पकाएर खाने उनले हामीसँग कुराकानी गर्दैगर्दा खाना नखाएको चार/पाँच दिन भएको रहेछ । ‘छोरीचेलीले तिहारमा कोसेलीस्वरूप ल्याइदिएको रक्सी छ,’ उनले वास्तविकता बताए, ‘त्यही खाँदै छु । त्यो पनि अब त सकिन लाग्यो । भातभन्दा मलाई जाँड–रक्सी पो प्यारो लाग्छ ।’ सयवटा हिउँद, बर्खा झेलेका उनले आफंै खाना पकाएर खानु पक्कै सामान्य काम होइन । घरभित्रैकाबाट टाढिएका उनलाई मनकारी छिमेकीले कहिलेकाहीं दाउरा व्यवस्था गरिदिन्छन् । मनले बाँचेका छिमेकीको कहिलेकाहींको सहयोग पनि उनलाई लाखजस्तो लाग्छ ।

तर, शब्दमा व्यक्त गर्न सक्दैनन् । परिवारका धेरैजसोलाई अघि लगाएर आफू बाँचेकोमा आफू दुःखी भएको उनी बताउँछन् । वृद्घ राईलाई अहिलेसम्म कुनै गम्भीर रोगले च्यापेको छैन । गम्भीर रोगले नच्यापे पनि कमजोर देखिन्छन् । कुराकानी गरिरहँदासम्म उनी अस्पताल गएका छैनन् । ‘अस्पतालले सास लगाइदिँदैन के जानु,’

उनले मनको कुरा खोले, ‘पोहोर साल ६ घरेलाई अस्पताल लगे पनि डाक्टरले बचाउन सकेन ।’ बाल्यकालका साथीसँगाती कोही जीवित छैनन् । पहिले घाँस, दाउरा, गोठालो गरेको गाउँठाउँ फेरियो कि उस्तै छन्, खुट्याउन कठिन छ । डन्डिबियो, गिर खेलेको सम्झना ताजा भएर आउँदा भावुक हुन्छन् । उनी गाउँकै नामी सिकारी हुन् । एक गोलीले तीन कालिज मारेका उनलाई अतीतले पिरोल्छ । पिरोलिनुको पीडा व्यक्त गर्न सजिलो छैन । सम्झिल्याउँदा सम्झनाको खोलो बग्छ । उनले अतीत सम्झँदै ल्याए । अतीत सम्झनेक्रममा गाउँठाउँदेखि मधेससम्म पुगेर आरा काटेको विगत सुनाए । ‘मैले काटेको काठले धेरैको घर ठडिएको थियो,’ उनले आखिरीमा सुनाए, ‘त्यतिबेला जंगलमै बसेर काठ काट्नुपथ्र्याे । काठ काट्न सजिलै हुन्थ्यो । सर्लक–सर्लक कचिया खेलाएजस्तै । मधेसमा काटेको काठ सरकारी हो । काठ झरेअनुसार पैसा पाइन्थ्यो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार