७ हजारजनाका नृत्य प्रशिक्षक

दीपेन्द्र राई

गनिल्याउँदा काठमाडौं पसेको १७ वर्ष भएछ । हलेसी तुवाचुङ नगरपालिका–७ गैरीगुठ खोटाङनिवासी सुवास राई, अर्पण राई भनेर पनि परिचित छन् । राईलाई दुवै नाम प्यारो लाग्छ । ‘बिजेनसम्यान’ बन्ने एकझोला सपना बोकेर संवत् २०५९ चैतमा काठमाडौं पसेका उनी ‘बिजनेसम्यान’ नबने पनि अहिले जुन क्षेत्रमा रमाइरहेका छन्, त्यसमा दुःखी छैनन् । सन्तुष्ट छन् । सन्तोषभन्दा ठूलो सम्पत्ति अरू के होला ?

सिक्दै सिकाउँदै

अर्पण राईलाई कलाकारितामा अभिरुचि छँदै थिएन । अभिरुचि नभए पनि राईले चार वर्ष नृत्यसम्बन्धी तालिम लिए । नृत्य तालिम लिनुको स्वार्थ बिछट्टै रमाइलो छ ।

‘भिनाजु टिकेन्द्र राई साधना कलाकेन्द्रसँग सम्बद्ध हुनुहुन्थ्यो । उहाँले बेलाबेला ड्रेस लिन पठाउनुहुन्थ्यो । म नचिन्ने । ड्रेस लिन जानेचाहिँ सोसम्बन्धी ज्ञान भएकामात्रै जाँदारहेछन्,’ उनले सुनाए, ‘भाडामा डे«स राख्नेले त्यहाँ पुगेपछि छानेर लैजाऊ भन्थे । मलाई थाहा नहुने । त्यसो भएपछि दुई/चार महिना नृत्य सिक्नैपर्नेजस्तो लाग्यो । नृत्यसम्बन्धी ज्ञान भयो भने ड्रेससम्म छान्न त सकिएला भन्ने लाग्यो ।’

‘त्यतिबेला,’ उनले सुनाए, ‘भिनाजुले झिझियाको ड्रेस ल्याउन भन्नुभएको थियो । थाहा नभएर मैले नेवारी ड्रेस ल्याएँ ।’ त्यसपछि उनले नृत्य सिकिछाडे । ‘बिजनेसम्यान’ बन्ने अभिलाषासहित काठमाडौं पसेका उनको सपना बरालिन थाल्योे । क्रमशः नृत्यमै रस बस्दै गयो । रस बसेपछि उनले ध्यानपूर्वक तालिम थाले । नृत्यको तालिम गर्दागर्दै नृत्य प्रशिक्षकको भूमिकासमेत निर्वाह गर्थे । तालिम लिएको दुई महिनामै ‘स्टेज पर्फम’ गर्न पाए । उनको पर्फमले धेरैको ताली पाए । ताली पाएपछि यही काम पो सही हो कि जस्तो लाग्न थाल्यो । ६ महिनापछि ‘असिस्टेन्ट’का रूपमा नयाँ ‘स्टुडेन्ट’का लागि ‘क्लास’ लिन थाले । खुसीको वर्षाले निथ्रुक्कै भिज्दाको खुसियाली शब्दमा व्यक्त गर्नै नसक्ने उनको भनाइ छ ।

धुनकला केन्द्र छाडेर पेप्सीकोला

रहँदा–बस्दा भिनाजुले साधना कला केन्द्र छाडे । त्यसपछि भिनाजुले धुन कला केन्द्र स्थापना गरे । साधना केन्द्र धाउने पाइला धुन कलाकेन्द्रतिर मोडिए । त्यतिबेलासम्म उनले नृत्यसम्बन्धी धेरै सिकिसकेका थिए । नृत्यसम्बन्धी तालिम गर्दा भिनाजुले अनुमति दिएका थिएनन् । तर, धुन कला स्थापनाताका भिनाजुलाई उनको तालिमले सघायो । परिवारका सबै सदस्य एउटै विधामा लाग्नु त्यति राम्रो नहुने भन्दै भिनाजुले सुझाए पनि अन्ततः उनले भिनाजुको पदचाप पछ्याइछाडे । एउटै सिरानी लगाएर सुतेपछि खुट्टा लाग्छ भन्ने नेपाली उखान प्रचलित मानिन्छ । तर, जे नगर्नु भनिएको थियो उनले भने त्यही काममा आफूलाई स्थापित गर्दै लगे ।

भिनाजुले धुन कला केन्द्र स्थापना नगर्दासम्म उनले नृत्य प्रशिक्षक भएर आफूलाई व्यस्त राखे । त्यतिबेला तीनवटासम्म स्कुल धाएर नृत्य सिकाउन अल्छी मानेनन् । त्यसताका उनी नृत्य सिकाएरै बाँच्न सक्ने भइसकेका थिए । उनी काठमाडौंको पुरानोबानेश्वरमा रहेको धुन कला केन्द्रसम्म पुगेर नृत्य प्रशिक्षकको भूमिका निर्वाह गर्थे । उनको प्रशिक्षणबारे चलचित्र निर्देशक सुजन लामाको कानमा पर्यो । लामाले उनलाई पेप्सीकोला पु¥याए । ‘म त्यहाँ पुगेको केही समयपछि लामाले गद्दारी गरेर सम्पर्कविहीन भए । म पो फसें । मैले प्रशिक्षकको पारिश्रमिक त पाइनँ–पाइनँ, स्टुडेन्टको पैसा उठाएर लामा सम्पर्कबाहिर रहे,’ उनले दुःखेसो पोखे, ‘परेन त फसाद । स्टुडेन्ट र इन्स्ट्रक्टर दुवै पीडित । अनि पीडित–पीडित मिलेर त्यहीं एउटा कोठाबाट वन्दना कला केन्द्र खोलेर काम थालें ।’

पेप्सीकोलाबाट चाबहिल

दीर्घकालका लागि सोचेर नृत्य तालिम नलिए पनि त्यही कामले उनलाई दुई छाक खान, कोठाभाडा तिर्न, साथीभाइसँग बसेर चिया, खाजा खान सहज बनाएको थियो । त्यतिमात्रै होइन, महिनाको ४५ हजार भाडा बुझाएर काठमाडौंका चाबहिलमा लोभलाग्दो कार्यालय खोले । ‘१२ वर्षमा खोलो फर्कन्छ’ भन्ने नेपाली उखान सबैको जिब्रोमा झुन्डिएकै छ । अर्पण राईको हकमा खोलो नफर्के पनि दुई छाक खान कसैसँग हात पसार्नुपरेको थिएन । साथीभाइसँग बसेर खाजा खाँदा मसँग पैसा छैन हैन भन्न परेको छैन ।

चाबहिलको कार्यालय बन्द गरेको धेरै भएको छैन । यसबीचमा उनी फरक भूमिका छन् । आफूले पाएको भूमिकासँगै पुरानो परिचय जोगाउन लागिपरेकै छन् ।

मिस राई आयोजक

पेप्सीकोला हुँदै थालेको मिस राई प्रतियोगिता सातौं संस्करण पूरा गरी आठौं संस्करण तयारी थालेका छन् । आफ्नै परिकल्पनामा थालिएको प्रतियोगिता राई समुदायकै लागि लोभलाग्दो बनेको छ । मिस राई प्रतियोगितामार्फत किरात राई समुदायको पहिचान, प्रथा, परम्परा, संस्कार, संस्कृति खोजी गर्नु यो प्रतियोगिताको मुख्य उद्देश्य हो । वन्दना कला केन्द्रले मिस राईका साथै मिस प्लस टु, मिस एसईईसमेत गर्दै आएको छ ।

चलचित्र निर्देशक पनि

अर्पण राई कोरियोग्राफर पनि हुन् । राईले दुई चलचित्र निर्देशनसमेत गरेका छन् । तर, दुुवै चलचित्र अहिलेसम्म प्रदर्शन भएनन् । प्रदर्शन हुन्छ हुँदैन उनलाई थाहा छैन । तर, निर्देशकको भूमिका निर्वाह गरेको अनुभव भने छ । उनले चलचित्र ‘पराय आफन्त’मा डान्स कोरियोग्राफीको भूमिका निर्वाह गरेका छन् ।

चित्तबुझ्दोे काम

काठमाडौं पसेपछि उनले धेरै विधामा काम गरे । तर, गरेको काममध्ये स्टेज कोरियाग्राफीले आफूलाई चित्त बुझेको उनी बताउँछन् । स्टेज कोरियाग्राफरले आफूले गरेको कामको तुरुन्त प्रतिक्रिया पाउँछन् । ताली र गाली तुरुन्त पाउने भएकाले पनि उनलाई स्टेज कोरियाग्राफीमा दिलचस्पी छ । उनले अहिलेसम्म एउटा स्टेज कोरियोग्राफी गरेको १५ हजार रुपैयाँसम्म थापेका छन् । त्योे साता दिनको मिहिनेत हो ।

७ हजारका नृत्य प्रशिक्षक

स्कुल र इन्स्टिच्युट दुवै जोड्ने हो भने उनले सात हजारजनालाई नृत्य तालिम दिइसकेका छन् । एकताका उनले स्कुलका आठ सय विद्यार्थीलाई नृत्य सिकाउन भ्याए । उनले सिकाएका सात हजारमध्ये कतिले व्यावसायिक नृत्य गरेका होलान् ? उनले भने, ‘मुस्किलले १०/१५ होलान् ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार