काँग्रेस महासमिति सदस्य सुवास पोखरेलको खिदिमामा भागाभाग

तेस्रो आँखा संवाददाता

खिदिमा (खोटाङ) १४ मंसिर

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै काँग्रेस महासमिति सदस्य सुवास पोखरेल साबिक खिदिमा–६ ढाँडे खोटाङमा लखेटिएका छन् ।

साबिक खिदिमा–६ ढाँडेका लक्ष्मण तामाङको घरबाट गएको मंसिर १२ गते महासमिति सदस्य पोखरेल, खोटाङ क्षेत्र नम्बर २ काँग्रेस क्षेत्रीय सभापति तीर्थ भट्टराईलगायत काँग्रेस नेता राति ८ः३० बजे लखेटिएका हुन् । नेता पोखरेल र भट्टराईसँग काँग्रेस तर्फका वडाध्यक्ष शुक्र तामाङसमेत रहेको स्थानीय बद्री राईले जानकारी गराए ।

वास्तविकता बुझ्न नेताद्वय पोखरेल र भट्टराईलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई नेकपाका स्थानीय नेता तथा कार्यकर्ताले समात्न खोज्दा पोखरेल, भट्टराईलगायतलाई काँग्रेस नेता तथा कार्यकर्ता भाग्न सफल भएका हुन् । काँग्रेस नेता भाग्न सफल भएपछि साकेला गाउँपालिका–३ वडासदस्य जीवन श्रेष्ठ (जगबहादुर श्रेष्ठ) को रोहबरमा कबुलियतनामा गरिएको थियो ।

आवश्यक पर्दा जुनसुकै समयमा उपस्थित गराउने सर्तमा कबुलियतनामा गरिएको कबुलियतनामामा उल्लेख छ । वडासदस्य जीवन श्रेष्ठ (जगबहादुर श्रेष्ठ), इलाका प्रहरी कार्यालय मानेभन्ज्याङ प्रहरी प्रमुख शम्भु पौड्याललगायत नौजना साक्षी बसी हस्ताक्षरसमेत गरिएको कबुलियतनामा उल्लेख छ ।

साकेला गाउँपालिका–३ खिदिमा वडाध्यक्ष मनिकुमार राई निधन भएकाले मंसिर १४ गते  (आज) निर्वाचन हुँदै छ । साकेला गाउँपालिका–३ खिदिमा वडाध्यक्षमा चार दलका चार उम्मेदवारले उम्मेदवारी दिएका हुन् ।

पूर्वएमालेबाट वडाध्यक्षमा निर्वाचित मणिकुमार राईको निधनपछि रिक्त वडाध्यक्षका लागि शिवकला राई (नेकपा), शुक्रबहादुर तामाङ (काँग्रेस), रमेश राई (समाजवादी) र इन्द्रबहादुर खड्का (राप्रपा) ले मनोनयन दर्ता गराएका हुन् । वडाध्यक्षका उम्मेदवार शिवकला दिवंगत मणिकुमार राईकी धर्मपत्नी हुन् ।

आजको मतदानमा खिदिमाका एक हजार तीन सय तीन मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय खोटाङ जिल्ला निर्वाचन अधिकारी कोपिला राईले जानकारी गराइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार