काँग्रेस महाधिवेशन प्रतिनिधि राईद्वारा तुवाचुङको बजेट हाम

 

हलेसी (खोटाङ) मंसिर

किरात राई समुदायको आदिम तथा ऐतिहासिक ठाउँ तुवाचुङलाई व्यक्तिविशेषले कमाइखाने भाँडो बनाएको भन्दै एकपछि अर्को अनियमितताको पर्दाफास भएको छ । स्थापनाकालदेखि तुवाचुङ जायजुम संरक्षण समिति महासचिव रहेका दिनेश राई (हलेसी, ऐंसेलुखर्क) ले तुवाचुङलाई कमाइखाने भाँडो बनाएको भन्दै उनले गरेको अनियमितताको पर्दा खुल्दै गएको हो ।

चतुरभक्त राई तुवाचुङ जायजुम संरक्षण समिति अध्यक्ष रहँदा दिनेश राई महासचिव थिए । अहिले पनि छँदै छन् । तुवाचुङको पूर्व–पश्चिम र दक्षिणपट्टिका डाँडा नाङ्गो रहेकाले हरियाली बनाउन र सडक दुर्घटना रोकथामका लागि बिरुवा रोप्न स्वीस विकास नियोग  (एसडीसी) वन परियोजनाबाट प्राप्त ६ लाख रुपैयाँ महासचिव राईले दम्पच गरेको त्यतिबेला बिरुवा रोप्ने समितिमा रहेका काँग्रेस नेता वीरकाजी राईले दाबी गरेका छन् ।

 

‘तुवाचुङमा वृक्षरोपण गर्न भनेर तात्कालिक जिल्ला विकास समितिमा सम्झौता गरिएको थियो । त्यतिबेला वसन्तकुमार भण्डारी एलडीयो थिए,’ नेता राईले प्रस्ट्याए, ‘अझ धेरै बुझ्न चाहनुहुन्छ भने जिल्ला वन कार्यालयमा सम्पर्क गर्दा भइहाल्छ ।’

यायोक्खाका तात्कालिक अध्यक्ष चतुरभक्त सरले दिनेशीहरूको बचाउ गर्दै भनेजति बिरुवा रोपिएनछ, केही रोपिएका छन् । बाँकी पछि रोप्लान् । छानबिनका लागि तपाईं नजानू भनेर सुझाए

६ लाख रुपैयाँ ‘प्रोजेक्ट’ भनेको थोरै होइन । ‘६ लाख रुपैयाँमध्ये तीन लाखको मात्रै बिरुवा रोपेको भए पनि तुवाचुङ डाँडैभरि हरियाली बन्थ्यो,’ नेता राईको भनाइ छ, ‘सो प्रोजेक्टको सबै काम दिनेशजीले जिम्मा लिनुभएको हो । तर, उहाँले गरेको कामको कसैले प्रशंसा गरेका छैनन् । काम गरेको भए स्याबासी पाउनुपर्ने थियो । उहाँले मापदण्डअनुसारको बिरुवा रोपेको भए यो हविगत हुँदैनथ्यो । मापदण्डविपरीत नै रोपेको भए पनि त सयमा २५ प्रतिशत बिरुवा त बाँच्नुपर्ने नि । होइन र ?’
तुवाचुङ समृद्धिका लागि लागिपरेको बताउने महासचिवजस्तो मान्छेले त्यसो नगर्नुपर्ने हो । नगर्नुपर्ने भनेकै मान्छेले अनियमितता गरेपछि तुवाचुङ जायजुम संरक्षण समितिमै रहेकाले मुख फोर्न बाध्य भएका छन् ।

‘तुवाचुङका लागि आउने सबै योजना तथा परियोजनामा उहाँले नै अगुवाइ गर्नुपर्छ,’ काँग्रेस नेता वीरकाजी राईले व्यंग्य गरे, ‘कुकुरले हड्डी छाड्लान् दिनेशजीले तुवाचुङ जायजुम संरक्षण समिति र समितिका नाममा आउने योजना तथा परियोजनाको अगुवाइ गर्न छाड्नुहुन्न ।’

तुवाचुङ जायजुम संरक्षण समितिकै तात्कालिक उपाध्यक्ष देवराज राईलाई समेत ‘बाइपास’ गरेर दिनेशले एकलौटी काम गर्नुको रहस्य बल्ल खुल्दै जान थालेको छ । एसडीसीको वन परियोजनाबाट आएको बजेट कार्यान्वयनबारे दिनेश राई र भीमकेशर राईले मलाई खबरसमेत गरेनन्,’ समाजवादी पार्टीका नेतासमेत रहेका देवराज राईले सुनाए, ‘दिनेशले उदयपुरबाट पनि बिरुवा ल्याएर रोपें भन्थे । वास्तवमा उदयपुरबाट ल्याएका थिएनन् । जिल्ला वन कार्यालयबाट ल्याएको बिरुवाचाहिँ रोपेको मलाई पनि थाहा छ । वन कार्यालयबाट ल्याएर रोपेको बिरुवा पनि बाँच्दै बाँचेन ।’

बिरुवा रोपेको नदेखिएपछि जिल्ला वन कार्यालयले मसँग सोधपुछ गरेको थियो । वास्तविकता बुझ्दा कुल बजेटमध्ये १६ हजार रुपैयाँमात्रै खर्च गरेको खुलासा भएको थियो

बजेटअनुसारको काम पनि देखिएन । ‘काम नभएको सार्वजनिक भएपछि किरात राई यायोक्खाका तात्कालिक महासचिव चन्द्रविक्रम राईको संयोजकत्वमा छानबिन समिति बनेको थियो,’ समाजवादी पार्टी नेता राईले ठोकुवा गरे, ‘छानबिन समिति बनेको थाहा पाएपछि दिनेश राईको बुवा कुम्भराज राईले हतार–हतार तीन सय घानाजति बाँस रोपेका थिए । कुम्भराजले हतार–हतार रोपेका बाँससमेत बाँचेन । एकादुई बाँचे होलान् ।’

किरात राई यायोक्खाका तात्कालिक अध्यक्षसमेत रहेका चतुरभक्त राईले छानबिन समितिलाई छानबिन गर्न नदिएको देवराज राईले आरोप लगाए । छानबिन समितिमा बीएस राई र सर्वधन राईसमेत थिए ।

‘दिनेश राईको नेतृत्वले वृक्षरोपणको जिम्मा लिएको थियो । काम चित्तबुझ्दो नभएको भन्दै आलोचना हुन थालेपछि मेरो नेतृत्वमा तीन सदस्ययीय छानबिन समिति बनेको हो,’ छानबिन समिति संयोजक चन्द्रविक्रम राईले वास्तविकता बताए, ‘यायोक्खाका तात्कालिक अध्यक्ष चतुरभक्त सरले दिनेशीहरूको बचाउ गर्दै भनेजति बिरुवा रोपिएनछ, केही रोपिएका छन् । बाँकी पछि रोप्लान् । छानबिनका लागि तपाईं नजानू भनेर सुझाव दिए ।’

चतुरभक्त सरले त्यस्तो सुझाव दिए पनि तपाईं आफ्नो तरिकाले बुझ्नुभयो कि भएन भन्ने तुवाचुङ साप्ताहिकको प्रश्नमा छानबिन समिति संयोजक राईले भने ‘कुरा प्रस्टै छ । साथीहरूले रोप्नुपर्नेजति बिरुवा रोपेकै होइनन् । नत्र किन विवाद आउँथ्यो । साथीहरूले डाटा तयार गरेका थिए । त्यसअनुसार काम भएको भए डाँडा हरियाली भइसक्थ्यो ।’

छानबिन समिति संयोजक चन्द्रविक्रम राईको प्रतिक्रिया सुनेपछि तुवाचुङ साप्ताहिकले किरात राई यायोक्खाका तात्कालिक अध्यक्ष चतुरभक्त राईलाई टेलिफोन गर्यो । तुवाचुङमा बजेटअनुसारको वृक्षरोपण नभएपछि छानबिन समितिलाई काम गर्न किन रोक्नुभएको नि भनेर प्रश्न गर्दा चतुरभक्त राईले दिनेश राईको बचाउ गर्दै घुमाउरोपारामा भने, ‘तुवाचुङमा वृक्षरोपण भए–नभएको भनेर अध्ययन गर्न समिति बनेको हो । सर्वधन राई र बीएस राईले वृक्षरोपण गरेको मौखिक सन्देश सुनाउनुभएको थियो । साथीहरूले भनेपछि त पत्याउनुप¥यो । त्यसो हो भने छानबिन गरिरहन परेन होला भनेर मैले चन्द्रविक्रमजीलाई छानबिन नगर्न भनेको हुँ ।’

छानबिन समिति बनेको थाहा पाएपछि दिनेश राईको बुवा कुम्भराज राईले हतार–हतार तीन सय घानाजति बाँस रोपेका थिए

छानबिन समिति संयोजक चन्द्रविक्रम राईले छानबिन नगरेको सत्यकुरा खोले पनि सोही समितिका सदस्य बीएस राईले छानबिन गरेर प्रतिवेदन तयार पारेको जानकारी गराए । तयार पारिएको प्रतिवेदन तुवाचुङ साप्ताहिकले माग्दा राईले खोज्नुपर्छ भनेर आलटाल गरे । बीएसले छानबिन समितिले प्रतिवेदन तयार पारेको बताए पनि छानबिन समितिका संयोजक चन्द्रविक्रमले प्रतिवेदन तयार नपारेको जिकिर गरे ।

‘म समिति उपाध्यक्ष रहे पनि दिनेशजीले मलाई छलेर काम गर्नुभएको हो,’ नेता देवराज राईले विगत सम्झे, ‘बिरुवा रोपेको नदेखिएपछि जिल्ला वन कार्यालयले मसँग सोधपुछ गरेको थियो । वास्तविकता बुझ्दा कुल बजेटमध्ये १६ हजार रुपैयाँमात्रै खर्च गरेको खुलासा भएको थियो ।’

राई समुदायको मात्र नभएर, तुवाचुङ राष्ट्रिय सम्पदा भएको नेता राईको बुझाइ छ । जालझेल गरेर तुवाचुङलाई कमाइखाने भाँडो बनाउन नहुने उनले जिकिर गरे । ‘स्थानीय गणेश तिम्सिनालाई मैले २०–२२ हजार रुपैयाँ दिएर नासपाती रोप्न र रेखदेख गर्न लगाएको थिएँ,’ उनले आरोप लगाए, ‘लगाइएकामध्ये लगभग एक सय बोट नासपाती हुर्काएका छौं । हामीले हुर्काएको नासपाती देखाएर दिनेशजीहरूले वृक्षरोपण गर्यौं भनेर दुई वर्षअघि प्रचार–प्रसार गर्दा तीनछक पर्यौं ।’

तुवाचुङ जायजुम संरक्षण समिति तात्कालिक उपाध्यक्ष देवराज राईले समितिलाई किरात राई यायोक्खामातहत राख्न प्रस्ताव राखेका थिए । राईले राखेको प्रस्तावको वास्ता गरिएन । तुवाचुङ राई समुदायको पवित्र स्थल हो । ‘तर, तुवाचुङमा तायामा, खियामा र रैछाकुलेको प्रतिमा राख्दा तुवाचुङ जायजुम संरक्षण समितिसम्बद्धबाटै अपेक्षा गरिएजस्तो सहयोग पाएनौं,’ किरात राई यायोक्खा महासचिव जनक राईले भने, ‘समितिको प्रतिनिधिका रूपमा सर्वधन राईलाई पठाइएको थियो । त्यतिबेला दिनेश राईले तुवाचुङमा गरेको वृक्षरोपणबारे राम्रै चर्चा चलेको थियो । बजेटअनुसारको काम नभएको गुनासो त सबैबाट सुनिएकै थियो । मैले पनि सुनेको हुँ । रोपिएको बिरुवा कसरी गायब भयो भन्दा गाईबस्तुले खाइदिएको बताइयो ।’
स्वीस विकास नियोग (एसडीसी) को वन परियोजनाअन्तर्गत जिल्ला वन कार्यालय खोटाङसँग समन्वय गरेर तुवाचुङमा बिरुवा रोपिएको हो । (एसडीसी) को वन परियोजनाअन्तर्गत प्राप्त बजेट कति थियो भन्नेबारे दिनेश राईले अनभिज्ञता प्रकट गरे ।

यो योजनासँग सम्बन्धित केही पनि कागजात छैन । राख्नुपर्ने रहेछ । यस्तो हुन्छ भनेर सोचिएन

बिरुवा रोप्ने समिति संयोजक भीमकेशर राईले तुवाचुङमा बाँस, अम्रिसो र विभिन्न प्रजातिका बिरुवा रोपेको दाबी गरे । संयोजक राईले बिरुवा रोप्नका लागि ४ लाख ५४ हजार प्राप्त भएको जानकारी गराए । संयोजक राईले ४ लाख ५४ हजार रुपैयाँ पाएको बताए पनि काँग्रेस नेता वीरकाजी राईले ६ लाख रुपैयाँ प्राप्त भएको दाबी गरे । ‘मैले नै प्रतिवेदन लेखेको हुँ,’ उनले जानकारी गराए, ‘४ लाख ५४ हजार रुपैयाँ होइन ।’

बिरुवा रोप्ने योजनासँग सम्बन्धित कुनै पनि कागजात तुवाचुङ जायजुम संरक्षण समितिसँग छैन भन्नु त्यत्तिकै हास्यास्पद मानिन्छ । ‘त्यो योजनासँग सम्बन्धित केही पनि कागजात छैन,’ दिनेश राईले भने, ‘राख्नुपर्ने रहेछ । यस्तो हुन्छ भनेर सोचिएन ।’ माइन्युट त होला नि भन्ने प्रश्नमा उनले थपे, ‘यसको संयोजक भीमकेशर राई हुन् । उनलाई बढी थाहा हुन्छ । म त फोकल पर्सनमात्रै हुँ ।’

बिरुवा रोप्नका लागि दिनेशलाई फोकल पर्सन तोक्नुका कारण संयोजकलाई सघाउनु हो । फोकल पर्सनको भूमिका निर्वाह गरेबापत ३० हजार रुपैयाँ पारिश्रमिक पचाउनुमात्रै होइन । पारिश्रमिकस्वरूप ३० हजार बुझेका उनले काम भए–नभएको प्रतिवेदन तयार पारी स्वीस विकास नियोग (एसडीसी) वन परियोजनाको कार्यालय दिक्तेलमा बुझाएका थिए । सो परियोजना खोटाङका तात्कालिक प्रमुख जयबहादुर भुजेललाई पटक–पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन सकेन ।

यसको संयोजक भीमकेशर राई हुन् । उनलाई बढी थाहा हुन्छ । म त फोकल पर्सनमात्रै हुँ

हलेसी तुवाचुङ नगरपालिकाअन्तर्गत हलेसी, सल्ले र अर्खौलेको संगमस्थल तुवाचुङमा त्यतिबेला बजेटअनुसार बिरुवा नरोपेको भन्दै हिजोआजसमेत व्यापक आलोचना सुनिन्छ । ‘हिँड्दाहिँड्दै अञ्जानमा मबाट गल्ती भएको छ भने त्यसैको पछि लागेर मलाई सिध्याउन खोज्नु भनेको झन् ठूलो गल्ती हो,’ तुवाचुङ जायजुम संरक्षण समिति महासविच दिनेश राईले भने, ‘तुवाचुङमा वृक्षरोपण गर्दा एक पैसा हिनामिना भएको छैन ।’ समिति महासचिव राईले मबाट गल्ती नै भएको छैन भने किन टर्चर दिनुहुन्छ भनेर निरीहता प्रकट गरे । बिरुवा रोप्नका लागि बिरुवा खोज्न गएकोदेखि फोकल पर्सनको भूमिका निर्वाहसम्म गरेका उनले पटक–पटक अनुरोध गरे, ‘म त्यसमा संलग्न छैन । त्यसैले समाचारमा मेरो नाममा नजोडिदिनुहोला । म पनि राजनीति गर्ने मानिस । समाचारमा मेरो नाम जोडिए मेरै आफन्तले भोलि भोज खानेछन् ।’

यो समाचार तयार पार्दासम्म तुवाचुङ साप्ताहिक सम्बद्ध पत्रकारले विभिन्न आरोप खेप्नुपरेको थियो । मैले तुवाचुङ साप्ताहिकका नवीन चाम्लिङ राई र दीपेन्द्र राईलाई २५–२५ हजार दिएर समाचार रोक्न लगाएँ भनेर दिनेश राईले भन्दै हिँडेको नातामा भान्जा पर्ने जीवनजित राईले सुनाए । ५० हजार पैसा दिएर समाचार रोकेको भन्दै हिँड्नुभएछ नि भन्ने जिज्ञासामा दिनेशले कसम खाए, ‘मैले त्यसो भनेको छैन । भनेको हो भने आजको रात काट्न नपाऊँ । प्रमाण पुर्याउनुभयो भने तपाईंकै अघि झुन्डेर मर्न तयार छु ।’ तपाईंकै भान्जाले त्यसो भनेका हुन् भनेर भान्जाको नाम सुनाएपछि दिनेशले निन्याउरो मुख पारेका थिए ।

तुवाचुङ जायजुम संरक्षण समिति संवत् २०६६ मा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको संस्था हो । संस्थाको परिकल्पनाकार देवराज राई हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार