नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन हलेसीमा १ हजार दीप प्रज्वलन

तेस्रो आँखा संवाददाता

हलेसी, १६ पुस । साँझको सात बज्दै थियो । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान अध्यक्ष चइन्द्र राईले दीप प्रज्वलन गरे । वडाध्यक्ष राईले दीप प्रज्वलन गर्दा उपस्थित सबैले ताली बजाए । यो दृश्य नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा त्रिधार्मिक स्थल हलेसीमा देखिएको हो ।

वडाध्यक्ष राईले दीप प्रज्वलन गरेपछि हलेसी आइपुगेका आन्तरिक तथा बाह्य पर्यटक र स्थानीयले दीप प्रज्वलन गरेका थिए । दीप प्रज्वलनमा हलेसी तुवाचुङ नगरपालिकासम्बद्ध कर्मचारी, इलाका प्रहरी कार्यालयका सुरक्षाकर्मी, हलेसीका उद्योगी, व्यापारी र स्थानीयले दीप प्रज्वलन गरे । दीप प्रज्वलनका लागि हलेसी महादेवस्थान विकास समितिले बत्ती उपलब्ध गराएको थियो ।

हलेसी महादेवस्थान विकास समितिसम्बद्ध सर्वधन बस्नेतका अनुसार नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा एक हजार दीप प्रज्वलन गरेका थिए ।

काठमाडौंको दशरथ रंगशाला र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा नेपाल भ्रमण वर्ष २०२० को कार्यक्रम चलिरहेको बेला हलेसीमा समेत फरक किसिमले नेपाल भ्रमण वर्ष २०२० मनाइएको थियो । बस्नेतका अनुसार सरकारले नेपाल भ्रमण वर्षका लागि तय गरेको लोगोमा वडाध्यक्ष राईले दीप प्रज्वलन गरेका थिए ।

हलेसी प्राकृतिक रूपमा जति सुन्दर र अद्भुत छ, धार्मिक र सांस्कृतिक सहअस्तित्वका हिसाबले पनि उत्तिकै उदाहरणीय छ । विश्वमै हलेसीमात्र यस्तो धार्मिक, सांस्कृतिक केन्द्र होला, जहाँ तीनवटा धर्मले एकले अर्कोको सम्मान गर्दै साझा रूपमा पूजापाठ र श्रद्धा गर्छन् । यो त्रिधार्मिक तीर्थधाम हलेसी खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ७ मा रहेको छ ।

हलेसीमा किरात, हिन्दु र बौद्ध धर्मावलम्बीले साझा रूपमा पूजाअर्चना र श्रद्धा गर्ने गरेका छन् । भाषाशास्त्री र पुरातत्वविद्हरूको भनाइलाई आधारमा मान्दा किरातहरू हलेसी क्षेत्रमा ४००० देखि ७००० वर्षपहिलेबाट बसोबास गरिरहेका छन् । उनीहरूका तीन पुर्खामध्ये खोक्चिलिपाले त्यही क्षेत्रबाट कृषि सभ्यता सुरु गरेको र उहाँका दुई दिदीहरू तयामा–खियामाले कपडा बुन्न सुरु गरेका थिए ।

तुवाचुङ भनिने त्यो स्थल हलेसी गुफाभन्दा थोरै माथि रहेको छ । यी तीन पुर्खा हलेसी गुफामा बसोबास गर्नुहुन्थ्यो भन्ने वर्णन मुन्दुममा छ र स्थानीय बूढापाकाहरू पनि यसै भन्ने गर्छन् । केही विद्वान्हरूका अनुसार लगभग २९०० वर्षअघि हलेसीमा किरात राजा शङ्खोहाङले दर्शन र पूजा गरेका थिए ।

किरातीहरू हलेसीलाई खुवालुङ भन्ने गर्छन् । पुर्खाहरू बसोबास गरेको पवित्र स्थल भएकाले उनीहरू हलेसी गुफालाई माङ्खिम (माङ = पितृ–मातृ, खिम = घर–निवास) मान्छन् । यो हलेसी गुफामा लगभग २१५ वर्षअघि मथुर र कथुर नामक दुई किरात पुजारीले पूजाआजा गर्ने गर्थे । अहिले पनि साकेला चाडमा किरातहरूले हलेसी गुफामा सिली गर्ने गर्छन् ।

त्यस्तै हलेसीलाई हिन्दु र बौद्ध धर्मावलम्बीले आफ्नो पवित्र धार्मिक–आध्यात्मिक तीर्थधामका रूपमा श्रद्धा गर्ने गरेका हुन् । हिन्दुहरूको धार्मिक विश्वासअनुसार भष्मासुरको लामो तपस्याबाट प्रसन्न भएपछि भगवान् महादेवले उनलाई जसको टाउकोमा हात राखे पनि भष्म हुने वरदान दिए । भष्मासुरले चाहिँ महादेवकै टाउकोमा हात राखेर भष्म गरी पार्वतीसँग विवाह गर्ने कुविचार लिए । यो थाहा पाएपछि महादेव भाग्दैभाग्दै हलेसी गुफामा आइपुगे । बसाहा गुफाबाट छिरेर महादेव गुफामा लुकेर बसे । त्यहीबेला भगवान् विष्णुले सुन्दरीको रूप धारण गरी महादेव गुफाको प्राङ्गणमा आकर्षक नृत्य देखाउन थाले । भष्मासुर पनि सुन्दर युवतीको नृत्यबाट मोहित भएर नाच्न थाले । सोहीबखत युवतीको भेषमा रहेका भगवान् विष्णुले आफ्नो हातमा टाउको राखे । आफूले पाएको वरदान भुसुक्कै बिर्सेर भष्मासुरले आफ्नै टाउकोमा हात राख्दा भष्म भए ।

गीर्वाणयुद्धविक्रम शाहले १८६१ मा ताम्रपत्र प्रदान गरेर रामेछापका मनोहर गिरीलाई पुजारी नियुक्त गरेपछि हलेसीमा हिन्दु धर्मअनुसार पूजापाठ हुँदै आएको छ ।

यसैगरी, बौद्ध धर्मावलम्बीका विश्वका ६ महान् तीर्थस्थलमध्ये एक हो– हलेसी । यहाँ आचार्य पद्मसम्भवले आयु र विद्याको सिद्धि प्राप्त गरेका थिए भन्ने विश्वास गरिन्छ । बौद्ध धर्मावलम्बीहरू हलेसीलाई मारातिका भनेर पुकार गर्ने गर्छन् । आठौं शताब्दीतिर तिब्बती राजा ठिसोङ देउचनको समयकालमा साम्ये विहार निर्माण गर्नेक्रममा तिब्बती मन्त्रीहरू मारातिका हुँदै नेपाल (काठमाडौं) आएका थिए र मारातिका हुँदै फर्केका थिए भनिन्छ । त्यसपछि बौद्ध धर्मगुरुहरू हलेसी दर्शन गर्न आउन थालेको भनाइ पाइन्छ । र, पद्मसम्भवले तपस्या गरेको गुफा हलेसी नै हो भनेरचाहिँ दुदज्योमा रिन्पोछेले बताएका हुन् । अहिले हलेसी गुफा दर्शन गर्न देश–विदेशबाट बौद्ध धर्मावलम्बी आउने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार