ऊर्जामन्त्री पुनद्वारा हेलिकोप्टरबाटै दूधकोसी जलाशयुक्त जलविद्युत् पावरहाउस स्थल निरीक्षण

तेस्रो आँखा संवाददाता

रातेखोला (धितुङ), २२ पुस

पुस २२ । बिहान ९:३० बज्दै थियो । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ रातेखोलाको आकाशमा हेलिकोप्टरले फन्को मार्यो ।

हेलिकोप्टरमा ऊर्जामन्त्री वर्षमान पुन, नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रतिनिधिसभा सांसदहरू हीरा गुरुङ, यज्ञराज सुनुवार, हेमकुमार राई ‘सुरवीर’, प्रदेश सांसद उषाकला राई थिइन् । सोही हेलिकोप्टरमा ओखलढुंगा र सोलुखुम्बुका प्रदेश सांसदसमेत रहेका थिए ।

हेलिकोप्टरमा सवारले दूधकोसी जलाशयुक्त जलविद्युत् आयोजना पावरहाउस स्थल रातेखोलाको हेलिकोप्टरबाटै निरीक्षण गरेका थिए । पावरहाउस स्थल निरीक्षणपछि उनीहरू हलेसी ओर्लेका थिए । बिहान १०:३० बजे ओर्लेका उनीहरूले हलेसी गुफा र मारातिका गुम्बा दर्शन गरेका हुन् ।

गुफा र गुम्बा दर्शनपछि आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री पुनले सरकारले अघिसारेको नेपाल भ्रमण २०२० सफल पार्न अनुरोध गरे । ‘नेपालको पर्यटन प्रवद्र्धनमा हलेसीको महत्वपूर्ण देन रहनेछ,’ मन्त्रीले वचन दिए, ‘त्रिधार्मिक स्थल हलेसीको सम्बद्र्धन तथा प्रवद्र्धन गर्न संघीय सरकारले प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्नेछ ।’

पावरहाउसस्थल निरीक्षणपछि हलेसी दर्शनमा आएका ऊर्जामन्त्री पुन, प्रतिनिधिसभा तथा प्रदेशसभा सांसद, विद्युत् प्राधिकरण कार्यकारी निर्देशक घिसिङलगायत अतिथिलाई हलेसी तुवाचुङ नगरपालिका मेयर इवन राई, उपमेयर बिमला राई, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान वडासदस्य निरजमानसिं बस्नेत, नेकपा खोटाङ जिल्ला कमिटी कार्यालय

सदस्य जीवन राई ‘संगीन’, सचिवालय सदस्यद्वय खडेन्द्र राई र हस्तबहादुर राई ‘आमोद’  सचिवालय सदस्य तथा हलेसी महादेवस्थान विकास समिति कार्यकारी निर्देशक सम्मरबहादुर भुजेल, जिल्ला कमिटी सदस्यहरू राजुविक्रम चाम्लिङ, डिल्ली चाम्लिङ, शुक्र विक, विष्णु दाहाल, नेपाल कम्युनिस्ट पार्टी हलेसी तुवाचुङ नगर कमिटी अध्यक्ष सुरेन्द्रकुमार राई,  नेकपा नगर सचिवालय सदस्य सर्वधन बस्नेतलगायतले स्वागत गरेका थिए ।

हलेसीवासीलाई सम्बोधनपछि मध्याह्न १२ बजेतिर उनीहरू दूधकोसी जलाशयुक्त जलविद्युत् आयोजनास्थल निरीक्षण गर्न हेलिकोप्टरमै पुगेका थिए । अतिथिलाई स्वागत गर्न खोटाङका प्रतिनिधिसभा सांसद विशाल भट्टराई र युवा संघ सहसंयोजक रमेश पौडेल अघिल्लो दिन दूधकोसी जलाशयुक्त जलविद्युत् आयोजनास्थल पुगेका थिए ।

दूधकोसी जलाशयुक्त जलविद्युत् आयोजना नेपाल विद्युत् प्राधिकरण काठमाडौंद्वारा आयोजित दूधकोसी जलाशयुक्त जलविद्युत् आयोजना स्थल निरीक्षण कार्यक्रमको व्यवस्थापन दूधकोसी जलाशयुक्त जलविद्युत् आयोजना सहयोग तथा सरोकार समितिले गरेको कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार