काँग्रेस नगर उपसभापति राईद्वारा पद्मसम्भवको मूर्ति

तेस्रो आँखा संवावदाता

काठमाडौं । नेपाली काँग्रेस हलेसी तुवाचुङ नगरपालिका कार्यसमिति उपसभापति रूपेन्द्रकुमार राईले सोनाम ल्होसारको अवसरमा पद्मसम्भवको मूर्ति प्रदान गरेका छन् । उपसभापति राईले स्वर्गीय आमाबुवा देशलक्षी राई र मोहनबहादुर राईको सम्मान र सम्झनामा पद्मसम्भवको मूर्ति प्रदान गरेका हुन् ।
‘आमाबुवा नभएको भए म हुन्नथें । मेरा चार भाइ दाजु हुँदैनथे । आमाबुवा हुनुहुन्थ्यो र हामी भयौं । आमाबुवाले गर्दा हामी ‘हामी’ भएर बाँच्न पाएका छौं । हाँस्न पाएका छौं,’ उनले खुसी व्यक्त गरे, ‘बाँच्न पाए हाँस्न सकिन्छ । बाँचेर हाँस्नका लागि आमाबुवाको भूमिकाको जति नै बयान गरे पनि कम हुन्छ । हामीले गरेको पछिल्लो उन्नति, प्रगति आमाबुवाले देख्न पाउनुभएन । सुन्न पाउनुभएन । उहाँहरूले हाम्रो उन्नति, प्रगति देख्न सुन्न नपाउनुभए पनि हामी हाम्रा जन्मदातालाई मरणोपरान्त पनि आदर गरेका छौं । सम्मान गरेका छौं । गर्नेछौं ।’

तरुण दल खोटाङ कोषाध्यक्षसमेत रहेका नेता राईले काठमाडौंको कोटेश्वर जडीबुटीमा लासाङ गुम्बा सेवा समाजद्वारा निर्माण हुन लागेको गुम्बालाई पद्मसम्भवको मूर्ति प्रदान गरेका हुन् । मूर्ति प्रदान गर्दै उनले प्रतिबद्धता जनाए, ‘मैले आर्जन गरेमध्येबाट केही रकम स्वर्गीय आमाबुवाको नाममा सहयोग गर्दै जानेछु ।’
‘आफ्नै टोलका तामाङ समुदायको महान् चाड ल्होसार आउँदै थियो,’ उनले भने, ‘चाडको सम्मान गर्दै आर्थिक सहयोग गर्न खोजेको थिएँ । उहाँहरूले आर्थिक होइन, पद्मसम्भवको मूर्ति बनाइमाग्नुभयो । आर्थिक सहयोग गरे देखिँदैनथ्यो । मूर्ति प्रदान गर्दा आफ्ना आफन्तले हेर्न पाउनेछन् । देख्न पाउनेछन् ।’
नेता राईले आमाबुवालाई आदर, सम्मान र सम्झना गरेको दृष्टान्त पेस गर्दै बडादसैंमा पुरुष फुटबल प्रतियोगिता गराएको जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार