प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै ५०० दीप प्रज्ज्वलन

हलेसी (खोटाङ), २० फागुन

श्री हलेसी महादेव मन्दिर व्यवस्थापनको समितिको प्रांगण । प्रांगणमा लेखिएको छ, ‘प्र.म. केपी शर्मा ओलीज्यूको शीघ्र स्वास्थ्यलाभको कामना ।’ उल्लिखित शुभकामना अक्षरलाई अगाडि पारेर उभिएका छन्– नेकपा जिल्ला कमिटी र हलेसी तुवाचुङ नगर कमिटीसम्बद्ध नेता तथा कार्यकर्ता र हलेसी बजारवासी ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दै उपस्थित सबैले दीप प्रज्ज्वलन गरे । दीप प्रज्ज्वलनपछि राष्ट्रगान बजाइएको थियो । दीप प्रज्ज्वलन गर्नेहरू राष्ट्रको अभिभावकको स्वास्थ्यलाभको कामना गर्दा भावुक देखिन्थे ।

साँझको सात बजेको शुभसाइतमा प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै आठ बजेसम्म दीप प्रज्ज्वलन गरिएको नेकपा हलेसी तुवाचुङ नगरपालिका नगर कमिटी सचिवालय सदस्य सर्वधन बस्नेतले जानकारी गराए । सचिवालय सदस्य बस्नेतको परिकल्पनामा दीप प्रज्ज्वलन गरिएको थियो ।

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री ओली फागुन १८ गते शिक्षण अस्पताल भर्ना भएका छन् । त्रिवि शिक्षण अस्पतालको एनेक्स वार्डको ६०१ नम्बरको भीभीआईपी क्याबिनमा भर्ना भएका ओलीले अस्पताल भर्ना हुनअघि ‘सपना अलपत्र पारेर अलप हुन्न’ भनेका छन् ।

देशका अनुभवी चिकित्कसद्वारा नेपालमै मिर्गौला प्रत्यारोपण गराउने सुविधा प्राप्त हुँदा प्रधानमन्त्री ओली गौरवान्वित छन् । प्रधानमन्त्रीले स्वदेशमै मिर्गौला प्रत्यारोपण गर्ने भएपछि नेपाली चिकित्सकमात्रै होइन, आमनेपालीले खुसी व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार