गुरुयोजना कार्यान्वयनका लागि सहयोग गर्ने कानुनमन्त्रीको जिकिर

हलेसी, (खोटाङ) २८ फागुन

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले हलेसी गुरुयोजना कार्यान्वयनका लागि आवश्यक सहयोग गर्ने वचन दिएकी छन् ।

खोटाङको दिक्तेलबाट काठमाडौं फर्कनेक्रममा हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले हलेसीको होटल हलेसी भिलेजमा गरेको स्वागत कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेले यस्तो वचन दिएकी हुन् ।

सांसद कृष्णगोपाल श्रेष्ठले राजनीतिक संकीर्णताभन्दा माथि उठेर स्थानीय सरकारले हलेसीको विकास निर्माणमा लागिपरेकोमा उच्च प्रशंसा गरेका थिए ।

हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले स्वागत कार्यक्रममा स्थानीय सरकार आएपछि नगरको समग्र विकास निर्माण र हलेसी गुरुयोजनाबारे एक घन्टा जानकारी गराएका थिए । स्वागत कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार वडाध्यक्ष रमेश राउत, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान वडाध्यक्ष चइन्द्र राई र वडासदस्य डिल्ली चाम्लिङ, नेकपा हलेसी तुवाचुङ नगरपालिका नगर कमिटी अध्यक्ष सुरेन्द्रकुमार राई, नगरका शाखा अधिकृत रविकिरण आचार्य, सूचना केन्द्र हलेसीका निमित्त प्रमुख सयन्द्र राई र नेकपाका प्रकाशचन्द्र गिरीको समेत उपस्थिति रहेको थियो ।

कानुनमन्त्री तुम्बाहाङ्फे, संघीय सांसदद्वय कृष्णगोपाल श्रेष्ठ र बीना श्रेष्ठले गत फागुन २६ गते हलेसी दर्शन गरेका थिए । हलेसी दर्शनपछि उनीहरू दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका दिक्तेल पुगेका थिए । कानुनमन्त्रीले गत फागुन २७ गते दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाद्वारा प्रकाशित कानुन संग्रह–१ सार्वजनिक गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार