हलेसी (खोटाङ), ७ चैत
हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले कोरोना महामारीबाट जोगिन त्रिधार्मिक स्थल हलेसी बन्द गरिएको बताए । अर्को व्यवस्था नभइन्जेलका हलेसी बन्द गरिएको मेयर राईले जानकारी गराए ।
हलेसी तुवाचुङ नगरपालिका, हलेसी महादेव विकास समिति र श्री हलेसी महादेव मन्दिर व्यवस्थापन समितिबीच छलफल गरी हलेसी बन्द गरिएको हो । हलेसी महादेव विकास समिति कार्यकारी निर्देशक सम्बरबहादुर भुजेल कार्यालयीय कामले काठमाडौंमा रहेकाले मेयर राई र कार्यकारी निर्देशक भुजेलबीच टेलिफोनबाटै छलफल भएको थियो ।
त्रिधार्मिक स्थल हलेसी बन्द गरिएको यो पहिलोपटक हो ।
हलेसी बन्द गरिए पनि बालपुजारीबाट साँझ–बिहान गरिने पूजाआजाचाहिँ नियमित हुने भएको छ । अन्य समय हलेसीको मुख्य द्वार बन्द रहने हलेसी सूचना केन्द्र प्रमुख सयन्द्र राईले जानकारी गराए । बसाहा गुफाको द्वारसमेत बन्द गरिने प्रमुख राईले सुनाए ।
यसैगरी, हलेसीमा हुने सन्ध्याकालीन आरतिसमेत अनिश्चितकालका लागि बन्द गरिएको मेयर राईको भनाइ छ । कोरोना महामारीबाट जोगिन चैत २० गते हलेसीमा लाग्ने रामनवमी मेलासमेत बन्द गरिएको हो ।
हलेसी मन्दिर परिसरमा अहिलेका लागि डोरामाला बेच्नसमेत प्रतिबन्ध लगाइएको छ । तर, हलेसी आइपुगेका दर्शनार्थीले प्रवेशद्वारबाटै दर्शन गर्न पाउनेछन् ।
कोरोना भाइरसबाट जोगिन मन्दिर परिसरमा चैत ७ देखि हेल्थ डेस्क राखिएको छ । शुक्रबारदेखि सञ्चालित हेल्थ डेस्कको मेयर इवन राईले उद्घाटन गरेका थिए ।
हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको जयराम र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको रेग्मीटारमा समेत चैत ८ देखि हेल्थ डेस्क राखिने मेयर राईले जानकारी गराए ।