पोर्चुगलमा तीनजना नेपाली कोरोना संक्रमित

पोर्चुगल । पोर्चुगलमा रहेको गैरआवासीय नेपाली संघका प्रतिनिधिले फारोस्थित क्वारेन्टाइनमा बसेका नेपालीलाई आवश्यक सहयोगसहित भेटघाट गरेका छन् । पोर्चुगलमा तीन नेपाली कोरोना संक्रमित छन् ।

सहयोग समन्वय समितिका संयोजक एवं एनआरएनए पोर्चुगलका कोषाध्यक्ष विक्रमजंग कुंँवरको टोलीले क्वारेन्टाइनमा बसेका तीन नेपालीसँग भेट गरेका हुन् । भेटमा आवश्यक सहयोग जुटाउन एनआरएनए पोर्चुगल तयार रहेकाले नआत्तिन उनले आग्रह गरे ।

संघका वरिष्ठ उपाध्यक्ष रोशनकाजी थापाले क्वारेन्टाइनमा बस्दै आएका नेपालीसँग भेटी धैर्य गर्न अनुरोध गर्दै भने, ‘हामी संघका तर्फबाट उनीहरूलाई आवश्यक सहयोग जुटाउन कुनै पनि कसर बाँकी राख्दैनौंं ।’

सहयोग समन्वय समिति उपसंयोजक दिनेश भण्डारीले कोरोना सङ्क्रमणबाट बच्न पोर्चुगलमा रहेका सबै नेपालीलाई घरबाट बाहिर नजान अनुरोध गरेका छन् । यस्तै क्षेत्रीय समिति अलगावका अध्यक्ष अनिल शर्माले पोर्चुगलको राजधानी लिस्बनबाहिर धेरै नेपाली कृषि क्षेत्रमा कार्यरत भएकाले सुरक्षामा ध्यान दिन आग्रह गरे ।

कोरोनाबाट जोगिन दूतावासको आग्रह

नेपालीमा सङ्क्रमण फैलिएपछि लिस्बनस्थित नेपाली वाणिज्य दूतावासले बिरामीको उपचार र क्वारेन्टाइनमा रहेका नेपालीको खानपान, जाँच र सुरक्षामा आवश्यक ध्यान पु¥याइदिन सम्बन्धित निकायलाई पत्राचार र अन्य कूटनीतिक पहल गरिरहेको छ ।

वाणिज्यदूत मकरबहादुर हमालले सम्बन्धित क्षेत्रका सेफ र जेएनआरलाई सहयोगका लागि अनुरोध भइसकेको जानकारी दिए । हमालले पोर्चुगलमा रहेका सबै नेपाली समुदायमा आइपर्ने सबैखाले स्वास्थ्य समस्या तथा आकस्मिक विपत्मा सहयोग र परामर्शका लागि कन्सुलेट कार्यालयको मोबाइल नम्बर ९६९१९०९१९ मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।
क्वारेन्टाइनमा रहेका नेपालीको अवस्था बुझ्न फारो पुगेका वाणिज्य दूतावासका प्रतिनिधि मोहनकुमार थापाले दूतावासले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

व्यवसायी एवं एनआरएनए पोर्चुगलका पूर्वउपाध्यक्ष कमलमान गुरुङले पहिलोपटक क्वारेन्टाइनमा रहेका नेपालीलाई राहत वितरण गरेका थिए । यो समाचार तयार पार्दासम्म पोर्चुगलमा १४ जनाको ज्यान गएको तथा एक हजार ६ सय जनामा सङ्क्रमण फैलिएको ‘वल्र्डसमिटर’ले जनाएको छ ।

सङ्क्रमणबाट बच्न पोर्चुगल सरकारले ‘आपतकालीन’ घोषणा गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार