केदार मगर
प्रतिस्थापनमा चासो नदिइँदा खोटाङ (गृहजिल्लामा) लैनसिंह बाङ्देलको शालिक अलपत्र परेको छ । जिल्लाको सार्वजनिकस्थलमा राख्नेगरी तीन वर्षअघि मोरङ बेलबारीका मूर्तिकार श्याम गौतमद्वारा निर्मित साहित्यकार एवं कलाकार बाङ्देलको ढुंगेशालिक प्रतिस्थापनमा ध्यान नपुग्दा अलपत्र परेको हो ।
गौतमले ०६७ मा बाङ्देलबाहेक हलेसीमा राख्नेगरी एउटा शिवलिंग र बसाहाको ढुंगेमूर्ति जिल्ला विकास समितिलाई निःशुल्क हस्तान्तरण गरेका थिए । बाङ्देलको अर्धकद शालिक तीन वर्ष अघिदेखि सदरमुकाम दिक्तेलको एक पसलमा राखिएको छ भने बसाहा र शिवलिंग मूर्ति सदरमुकामकै माता मन्दिरमा राखिएको छ ।
मूर्तिकार गौतमले जिल्लाका विशेष सार्वजनिक व्यक्तित्वका रूपमा बाङ्देलको शालिक बनाएर पायक पर्ने सार्वजनिक स्थानमा राख्न दिएका थिए । जिल्लासम्म शालिक ल्याउनेक्रममा जिल्ला विकास समितिले गौतमलाई ३० हजार रुपैयाँ भाडा दिएको थियो ।
नाछिरिङ राई थरका लैनसिंह बाङ्देलको पुख्र्यौली थलो खोटाङको राखा–बाङ्देल हो । बाङ्देलको शालिक सदरमुकाम दिक्तेलको रत्नपार्कमा राख्ने तयारी गरिएको भए पनि स्थानीयको असहमतिका कारण हालसम्म मूर्ति राख्न नसकिएको जिल्ला विकास समिति कर्मचारी माधव आचार्यले बताए ।
त्यतिबेला जिल्ला विकास समिति तथा जिल्लास्थित राजनीतिक दलका नेताले द्वन्द्वकालमा ध्वस्त बनाएको रानी रत्न राज्यलक्ष्मी शाहको शालिक आसपासमा बाङ्देलको मूर्ति राख्ने निर्णय गरेका थिए ।
यसैगरी, तीन वर्ष बितिसक्दासमेत शालिक प्रतिस्थापन गर्न नसकिएको भन्दै मूर्तिकार गौतमले बाङ्देललगायतको शालिक फिर्ता लैजाने बताएका छन् । अलपत्र शालिकलाई धनकुटाको राजारानीस्थित चट्टानको पहरा खोपेर बनाइने घरमा लगेर राख्ने तयारी गरिएको गौतमले बताए । ‘तीन वर्ष बितिसक्दा समेत शालिक प्रतिस्थापन हुन नसकेको सुन्दा दुःख लागेको छ,’ गौतमले टेलिफोनमा भने, ‘अब शालिक फिर्ता लगेर धनकुटाको राजारानीमा राख्नेछु ।’
उता, राखा–बाङ्देलका नाछिरिङ राईका अगुवाले पनि अलपत्र परेको बाङ्देलको शालिक आफ्नो गाउँमा लगेर राख्ने दाबी गरेका छन् । बाङ्देल नाछिरिङ राई भएका कारण उनीहरूले उनको शालिक आफ्नो गाउँमा लैजाने बताएका हुन् ।
जिल्ला विकास समितिले तत्काल शालिक प्रतिस्थापन पहल नगरे आफ्नै गाउँमा लगेर शालिक राख्ने राखाका गृहकुमार राईले बताए । ‘अब बाङ्देलको शालिक उठाएर गाउँ लैजान्छौं,’ राईले भने, ‘हाम्रो साझा सम्पत्ति यसरी अलपत्र पारिनुहुँदैन ।’