कोरोना संक्रमितलाई उद्धार गरी सरकारले उपचार गर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस पोजेटिभ देखिएका बिरामीलाई सरकारले उद्धार गरेर उपचार गर्ने बताएका छन् ।

मन्त्री ढकालले मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा कोभिड–१९ का बिरामी भेटिए सरकारले निःशुल्क उपचार गर्ने जानकारी गराउँदै भने, ‘कुनै व्यक्तिमा कोभिड–१९ पोजेटिभ देखिए हामी हवाईमार्ग वा स्थलमार्गबाट त्यस्ता व्यक्तिको सुरक्षित रूपमा उद्धार गरेर उपचार गर्छौं ।’

नेपालमा पनि कोरोना पोजेटिभ देखिएपछि थप सावधानी अपनाउनुपर्छ भन्दै कोभिड–१९ पोजेटिभ देखिएपछि मुलुक ग्रीनजोनमा नरहेको उनले बताए । ‘अस्तिसम्म हामी ग्रीनजोनमा थियौं,’ उनले भने, ‘कोभिड–१९ पोजेटिभ देखिएपछि हामी धैर्य गरेर थप सावधानी अपनाउनुपर्छ ।’

फ्रान्सबाट नेपाल आएकी १९ वर्षीया युवतीमा कोभिड–१९ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी गराएका थिए । उनको गत चैत ४ गते परीक्षणक्रममा कोभिड–१९ पोजेटिभ देखिएपछि आइतबार बेलुका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको हो ।

मन्त्री ढकालले विगतमा समेत कोभिड–१९ पोजेटिभ देखिएको र १० दिनको उपचारपछि नेगेटिभमा परिणत भएको जानकारी गराउँदै अहिले देखिएका व्यक्तिलाई उपचारपछि नेगेटिभ परिणत गराइने प्रतिबद्धता व्यक्त गरे । उनले कोरोना भाइरस परास्त गर्न नेपालीले देखाएको दृढताप्रति सराहना गर्दै कोभिड–१९ पोजेटिभ देखिएपछि अझ सावधानी अपनाउनुपर्ने सुझाए ।

कोभिड–१९ पोजेटिभ देखिएका व्यक्तिका सम्पर्कमा रहेका परिवार तथा साथीभाइ समेत क्वारेन्टाइनमा राखी उपचार गरिने उनले जानकारी गराए । ‘उहाँको परिवारलाई समेत होम क्वारेन्टाइनमा राखिएको छ । फ्रान्सबाट आएका साथीभाइको पनि हामीले खोजी गरिहेका छौं,’ उनले थपे, ‘उहाँहरू सबैलाई क्वारेन्टाइनमा राखी उपचार गर्छौं ।’

सातै प्रदेशमा टेकु अस्पतालस्तरीय प्रयोगशाला

सातै प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीको बैठकपछि सबै प्रदेशमा टेकु अस्पतालमा रहेको स्तरको प्रयोगशाला निर्माण गरिने जानकारी मन्त्री ढकालले दिए । सम्बन्धित प्रदेशमा कोभिड–१९ सँग सम्बन्धित रोगबारे उपचार गर्ने गरी परिभाषित गरेर अस्पताल निर्माण गरिने उनले बताए । सञ्चारमाध्यमलाई कोरोना भाइरससँगको लडाइँलाई कमजोर बनाउने सूचना प्रवाह नगर्नसमेत उनले आग्रह गरे ।

कोरोना भाइरससँग सम्बन्धित औषधि सामग्री ल्याउन विदेशस्थित कूटनीतिक नियोगबाट पहल भइरहेको उनले सुनाए । विदेशबाट अत्यावश्यक सामग्रीको सुनिश्चिता हुनेबित्तिकै सरकारले तयारी अवस्थामा राखिएका हवाईजहाज पठाइनेछ । सरकारले चीन र भारतबाट सामग्री ल्याउने तयारी गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाले टेकुस्थित प्रयोगशाला विस्तार गरेर कोरोना भाइरसको नमुना परीक्षण बढाइने जानकारी दिनुभयो । उनका अनुसार अहिलेसम्म ६०० जनाको नमुना परीक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार