रजनी सचेतना फाउन्डेसनद्वारा २० हजार थान मास्क वितरण

काठमाडौं । कोरोना महामारीबाट बच्न सरकारले ‘लकडाउन’ लागू गर्नअघि रजनी सचेतना नेपाल फाउन्डेसनले २० हजार थान मास्क र कोरोना भाइरसबाट जोगिन सचेतनामूलक पर्चा निःशुल्क वितरण गरेको छ ।

फाउन्डेसनले टोखा नगरपालिकाको ११ वटै वडामा सचेतनामूलक व्यानरसमेत राखिसकेको छ । उसले केही समयअघि टोखा नगरपालिका–८ काठमाडौंको जाल्पाचोक र गोङ्गबुमा समेत निःशुल्क मास्क वितरण गरेको थियो ।

काठमाडौं उपत्यकाका क्लिनिक र बजारमा सहज रूपमा मास्क किन्न नपाइरहेको अवस्थामा फाउन्डेसनले निःशुल्क मास्क वितरण गर्दा जाल्पाचोक र गोङ्गबुवासी लाभान्वित भएका थिए ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना संक्रमणबाट सुरक्षित रहन फाउन्डेसन र टोखा नगरपालिका–८ को संयुक्त आयोजनामा सञ्चालित जनचेतनामूलक अभियानअन्तर्गत मास्क र कोरोना भाइरससम्बन्धी सचेतनामूलक पर्चा वितरण गरिएको रजनी सचेतना नेपाल फाउन्डेसन अध्यक्ष रजनी थापाले जानकारी गराइन् ।

अध्यक्ष थापाले बानियाँटार युवा समाजलाई सामाजिक क्रियाकलाप तीव्र बनाउन १० हजार रुपैयाँ सहयोग गरेकी थिइन् । सहयोग पाएपछि बानियाँटार युवा समाज सम्बद्धले रजनी सचेतना नेपाल फाउन्डेसन अध्यक्ष रजनी थापालाई धन्यवाद ज्ञापन गर्दै गुन नबिर्सने प्रतिबद्धता जनाएका थिए ।

काँग्रेस काठमाडौं जिल्ला सभापति सबुजकृष्ण बानियाँको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा दिलबहादुर महर्जन र शिवप्रसाद लामिछानेको बाहुलीबाट मास्क र कोरोना भाइरसबाट जोगिने सचेतनामूलक पर्चा निःशुल्क वितरण गरिएको थियो ।

फाउन्डेसनले गत माघ २३ गतेदेखि कोरोना भाइरसविरुद्ध अभियान थालेको थियो । ‘कोरोनाबाट बच्न र जनताको सेवा गर्न सरकारको मुख ताक्नुपर्दैन,’ समाजसेवीका रूपमा समेत परिचय फराकिलो बनाउँदै गएकी नेतृ रजनी थापाको भनाइ छ, ‘समाजसेवा गर्न उमेरले छेक्दैन । रोक्दैन । इच्छाशक्ति भए पुग्छ । फाउन्डेसन स्थापनाअघि र पछि म राजनीतिमै छु । राजनीति पनि समाजसेवा नै हो ।’

तीन वर्षअघि स्थापित फाउन्डेसनले समय–सापेक्ष विषयमा प्रशिक्षण दिँदै आएको छ । उसले निःशुल्क दन्त परीक्षण र ज्येष्ठ नागरिक सम्मानलगायत विभिन्न कार्यक्रमसमेत गरिसकेको छ ।

मिस नेसनल क्वीन २०१२ समेत रहेकी नेतृ थापा कांग्रेस वृत्तमा बौद्धिक नेताका रूपमा स्थापित छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार