हलेसी (खोटाङ) । कोरोना महामारीबाट बच्न सरकारले ‘लकडाउन’ लागू गरेको दोस्रो दिन हलेसी तुवाचुङ नगरपालिकाले हलेसीमा रहेको होटल जाम्बालामा ११ शय्याको क्वारेन्टाइन निर्माण गरेको छ ।
क्वारेन्टाइन निर्माणका लागि हलेसी तुवाचुङ नगरपालिका नगर प्रमुख इवन राईसमेत खटिएका थिए । नगरप्रमुख राईसँगै नगरका शाखा अधिकृत (सातौं) रविकिरण आचार्य, इलाका प्रहरी कार्यालय हलेसीका सुरक्षाकर्मीलगायतले एक घन्टामा ११ शय्याको क्वारेन्टाइन निर्माण गरेको हलेसी सूचना केन्द्र प्रमुख सयन्द्र राईले जानकारी गराए ।
क्वारेन्टाइन निर्माणका लागि आवश्यकीय सामग्रीसमेत होटल जाम्बालाले उपलब्ध गराएको हो । ‘कोरोना महामारी समाधान नभइन्जेलका लागि होटललाई क्वारेन्टाइन बनाउन तयार छौं,’ होटल जाम्बालाका प्रबन्धक गणेश बस्नेतले भने, ‘बिरामीको चाप बढेमा होटलमा ५५ शय्याको क्वारेन्टाइन सञ्चालन गर्न सकिन्छ । त्यसका लागि हामी तयार छौं ।’
‘होटल जाम्बाला परिवारलाई हृदयदेखि धन्यवाद । कोभिड–१९ महामारीबाट बच्न हलेसी तुवाचुङ नगरपालिकाको आग्रहमा क्वारेनटाइनका लागि होटलका कोठा उपलब्ध गराई उच्च मानवीयता प्रस्तुत गर्नुभएको छ,’ होटल जाम्बालामा क्वारेन्टाइन निर्माणपछि काँग्रेस महाधिवेशन प्रतिनिधि जितेन्द्र ठकुरीले प्रतिक्रिया दिए, ‘विश्वव्यापी विपत्को सबै मिली समाना गरौं । हलेसी महादेवले सबैको भलो गरून् । जय हलेसी महादेव ।’
यसअघि नगरका दुर्छिम स्वास्थ्यचौकी, दुर्छिममा चार र हलेसी स्वास्थ्यचौकी हलेसीमा पाँच शय्याको क्वारेन्टाइन निर्माण पूरा भइसकेको छ ।
नगरले एक साताअघि वैदेशिक रोजगारी र जिल्लाबाहिरबाट गाउँ फर्केकाको तथ्यांक संकलन गरेर स्वास्थ्य परीक्षण थालेको हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राईले जानकारी गराए ।