मध्यमार्गी उपाय खोज्दै सत्तारुढ दलहरू : सर्प मर्ने, लट्ठी पनि नभाँचिने

१३ फागुन, काठमाडौं । एमसीसीकै कारण गठबन्धन टुट्ने अवस्था आएपछि सत्तारुढ नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी पार्टीले मध्यमार्गी बाटो रोजेका छन् । सर्प मर्ने लट्ठी पनि नभाँचिने रणनीति अवलम्बन गर्दै दलहरू गठबन्धन जोगाउने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट सम्झौता अनुमोदन पनि हुन दिने बाटोतर्फ मोडिएका छन् ।

यसअघि विपक्षमा मत दिने अडान लिएका दुवै दल आफ्नो अडानबाट पछि हटेका हुन् । अब दुवै दलले एमसीसी अनुमोदनका लागि निर्णयार्थ पेश गर्दा पास हुने वातावरण बनाउन संसद बहिष्कार गर्ने छन् । उनीहरूले यो जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराइसकेका छन् । बिहीबार कांग्रेससँग दुई चरण र माओवादी केन्द्रसँग भएको छलफलमा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको बहिर्गमन र १४ सांसदको पद खारेजीलाई पूर्वशर्तका रुपमा अघि सारेको थियो । तर एमाले र कांग्रेसबीच छलफल बाक्लिएपछि माओवादी केन्द्र र समाजवादी झस्किएका थिए ।

माओवादी केन्द्रको शुक्रबार बसेको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकले पनि गठबन्धन जोगाउन अन्तिमसम्म कोसिस गर्ने निर्णय गरेको छ । स्रोतका अनुसार गठबन्धन जोगाउन अन्तिमसम्म कोसिस गर्ने भनेको मतदानमा सहभागी नहुने भनिएको हो । अब माओवादी र एकीकृत समाजवादीले एमसीसीको विरुद्धमा भाषण गरेर बहिष्कार गर्ने छन् । यसो गर्दा कांग्रेस, जसपा र लोसपाले पक्षमा मतदान गर्नेछन्, एमालेले वेल घेर्छ, त्यसो हुँदा एमसीसी पास हुन्छ र गठबन्धन पनि जोगिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार