जसपाको पार्टी कार्यालय अगाडि एमसीसीको विपक्षमा प्रदर्शन

काठमाडौँ, १३ फागुन । जनता समाजवादी पार्टी कार्यालय अगाडि एमसीसीको विपक्षमा प्रदर्शन भएको छ ।

एमसीसीको बारेमा पार्टीको धारणा तय गर्नका लागि बस्न लागेको कार्यकारिणी समितिको बैठक बस्ने तयारी भइरहेको बेला एमसीसीको पक्षमा निर्णय नहोस् भनि प्रदर्शन भएको हो ।

बालकुमारीस्थित पार्टी कार्यालय अगाडि ‘नो एमसीसी’ लेखिएको प्लेकार्ड बोकेर जसपाका केन्द्रीय सदस्यहरू नै प्रदर्शनमा देखिएका थिए पूर्ण बस्नेत, देवराज शर्मा, विजय दनुवार, संघीय परिषद् सदस्य शशी लिङ्देन, कृष्ण श्रेष्ठ, अभिशेक सिंह गुरु, प्रचार विभाग सदस्य विश्वासदीप तिगेलालगायत नेता तथा कार्यकर्ताहरुले पार्टी कार्यालयमा प्रदर्शन गरेका हुन् ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक पार्टी कार्यालयमा बस्ने भनिए पनि कार्यालय बाहिर ललितपुरको ग्वार्कोस्थित इन्द्रेणी फुडल्याण्डमा बसेका छन् । पार्टीका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई केहीबेर पार्टी कार्यालयमा बसेर बाहिर निस्केका थिए । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भने पार्टी कार्यालयमा आएकै थिएनन् । कार्यकारिणी समिति सदस्य हिसिला यामी भने पार्टी कार्यालय बाहिर आइपुगे पनि ‘नो एमसीसी’सहितको धर्ना देखेपछि उनी कार्यालयमा नपसी बाहिरिएकी थिइन् ।

बैठकको निर्णय आउन बाँकी भएपनि संघीय परिषद् अध्यक्ष भट्टराईले कुनै पनि हालतमा एमसीसी पास गर्नुपर्ने पक्षमा लाग्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार