काठमाडौं, १८ फागुन । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) ले नेपालको प्रतिनिधिसभाले एमसीसी अनुमोदन गरेसँगै एमसीसी कार्यक्रम कार्यान्वयनको बाटो खुलेको बताएको छ ।
प्रतिनिधिसभाबाट व्याख्यातमक अनुमोदन भएसँगै एमीसीको मुख्यालयले मंगलबार राति जारी गरेको विज्ञप्तिमा एमसीसी सम्झौता अनुमोदनले यस अन्तर्गतका परियोजनाको काम अघि बढाउन बाटो खुलेको जानकारी गराएको हो ।
सम्झौता अनुमोदनपछि एमसीसीले नेपाल सरकारसँग सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक देशका रुपमा सहकार्य गर्ने एमसीसीले पत्रमा उल्लेख गरेको छ । एमसीसी परियोजनाले नेपालमा विद्युत विस्तार, ढुवानी खर्चमा कटौती गर्नुका साथै धेरै रोजगारी सिर्जना गर्ने एमसीसी मुख्यालयले जनाएको छ ।