सिंगो गाउँ नै पहिरोको जोखिममा

पहिरोको कारण बेनी नगरपालिका–१० पात्लेखेत गाउँका स्थानीयवासी त्रसित भएका छन् । वर्षौंदेखि जान थालेको बान्द्रेखाल्टी पहिरो र दुई वर्षअघिदेखि जान थालेको पाखेपहिरोले सिंगो गाउँ नै पहिरोको जोखिमा परेको छ ।

धाँजा फाटेर पहिरो बस्तीतर्फ आउन थालेपछि पात्लेखेतको अधिकांश बस्ती पहिरोको जोखिममा परेका छन् । पहिरोले ७०० रोपनी बढी खेतीयोग्य जमिन बगाएको र आठ हेक्टर बढी वन क्षेत्र सखाप पारेको स्थानीयवासीले जानकारी गराए । रघुगङ्गा सामुदायिक वन ७५ प्रतिशत क्षेत्र क्षतविक्षत भएको छ, खेतबारी पहिरोले सखाप पार्दै बस्ती नजिक आइसकेको भएपनि पहिरो नियन्त्रणको प्रभाबकारी कदम चालिएको छैन ।

पहिरोले गत वर्ष चार घर पूर्णरुपमा विस्थापित भइसकको छन् । यामबहादुर राम्जाली, हरि गर्बुजा, खम्मी गर्बुजा, इन्द्रबहादुर रावतसँगै सुकुम्बासीको रुपमा बसोबास गर्दै आएका गोरे रोकाको घर पहिरोले भत्काएपछि उनीहरुलाई पहिरोले विस्थापित बनाएको छ । बान्द्रेखाल्टीसँग नै जोडिएको पाखाखेत पहिरोले स्थानीय मुरारी हमालको घर भत्काएपछि उनीहरु समेत अन्यत्रै विस्थापित भएर सरेका छन् ।

बान्द्रेखाल्टीमा विसं २०१८ मा नै पहिरो गएको स्थानीयवासी बताउँछन् । पछि विसं २०५८ देखि भने यहाँ वर्षौंपिच्छे पहिरो जान थाल्यो तर त्यसको आकार अहिलेको जस्तो उठीबासै लगाउने अवस्थाको थिएन । विसं २०७२ मा गएको भूकम्पको कारण पहिरो नियन्त्रण बाहिर गएको स्थानीयवासी सुवेदीले बताउनुभयो । भूकम्पपछि जङ्गलको बीचबाट पहिरो तल रघुगङ्गा नदिनको किनार र माथि बस्तीसम्म नै पुगेको छ । भूकम्पपछि पात्लेखेत भूमिगत पहिरोको थप चपेटामा परेको छ । अहिले यहाँका २५ जना बढी स्थानीयको सयौँ रोपनी खेतीयोग्य समिन पूरै पहिरोले बगाएको छ । धान, गहुँ, मकैलगायतका खाद्यबाली हुने खेतबारीका फाँट पहिरोले खण्डहरमा परिणत गरेपछि स्थानीयवासी चिन्तित बनेका छन् ।

बस्तीसम्म पहिरो आइपुगेर दर्जनौँ घरलाई चिराचिरा पारेको छ । घर, आँगनसमेत चर्किएर जोखिम बढे पनि स्थानीयवासी जोखिम मोलेरै बस्न बाध्य भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार