वनजङ्गल विनाश हुँदा मौरी पालन धराप

रत्ननगर, १४ चैत । चितवनको रत्ननगर नगरपालिकाका पृथ्वीराज लामिछानेले १५ वर्षअघिसम्म मौरीको एउटै गोलाबाट वार्षिक ८५ किलोसम्म मह निकाल्ने गरेका थिए । तर पछिल्ला वर्षहरुमा उहाँलाई प्रतिगोला २५ किलो मह उत्पादन गर्न पनि कठिन भएको छ ।

“विसं २०५३ देखि दुई गोलाबाट मौरीपालन व्यवसाय गर्दै आएको हुँ । विसं २०६३ सम्म एउटा गोलाबाट ८० देखि ९० किलोसम्म मह काढ्थेँ”, उनले भने, “अहिले निरन्तर घट्दै गएर वार्षिक २५ किलो मह पनि उत्पादन हुँदैन ।” खर्च कटाएर एउटै गोलाबाट रु १० हजारसम्म आम्दानी गरेका उनले अहिले मुस्किलले रु पाँच हजार पनि बचाउन गाह्रो छ । यसरी महको उत्पादकत्व घट्दै गएपछि लामिछानेले मौरीको सङ्ख्यासमेत घटाउँदै आएका छन् ।

“पाँच वर्ष अगाडि ५०० भन्दा बढी गोला मौरी चर्न जान्थ्यो”, उनले भने, “बजार र उत्पादनको समस्याले गर्दा मौरी घटाउँदै २०० गोलामा झारेको छु ।” वार्षिक २५ टनका हाराहारीमा मह उत्पादन गर्छन । वार्षिक ७० टन अरुको मह सङ्कलन गरेर बिक्रीसमेत गर्ने बताए । महमा फाइदा भए पनि विगतको भन्दा लागत मूल्य पनि बढी हुँदै आएको उनको भनाई छ ।

मौरीलाई चरन क्षेत्रको अभाव, वन विनाश, वन अतिक्रमण, बालीनालीमा विषादीको प्रयोग, जलवायु परिवर्तनको प्रभावलगायत कारण बर्सेनि मह उत्पादन घट्दै गएको बताइएको छ । विकास निर्माणका क्रममा स्थानीय वनजङ्गलमा चिउरी, रुदिलोलगायतका बोटबिरुवा नास हुँदै जाँदा किसानहरु मौरी चराउन देशका विभिन्न भाग पुग्ने गरेका छन् । “पहिलो सिजनमा चिउरी र तोरीको लागि दाङ र प्युठान, यसपछि क्रमशः कपिलवस्तु, चितवन, बर्दिबास, सर्लाहीलगायतका पूर्वका जिल्लामा मौरी चराउन लैजान्छौँ”, १५० गोला मौरीपालन गर्दै आएका रत्ननगरका सुरेन्द्र मानन्धरका अनुसार “मौरीका लागि चरन क्षेत्र अभाव हुँदा वर्षमा १२ स्थानमा सार्नुपर्छ ।” चरनका लागि उनीहरुले प्रतिगोला रु ५० देखि १०० सम्म सामुदायिक वनलाई दिने गरेका छन् ।

बढ्दो विषादीको प्रयोगका कारण पनि मौरीपालक किसान समस्यामा परेका छन् । विसं २०५२ देखि मौरीपालन गर्दै आएका मेघबहादुर खत्री मौरीपालक किसानका लागि चरण क्षेत्रको समस्या नै प्रमुख चुनौती रहेको बताउ छन् । “मेरोमा २५० गोला मौरी छन् । यहाँ राखेर उत्पादन दिन सकिँदैन । चरन भएको क्षेत्रमा स्थानीयले लैजान दिँदैनन”, उनले भने, “गत वर्ष तोरीमा हालेको विषादीको कारण १० गोला मौरी नष्ट भयो ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार