गाउँमा सडक पुर्याउन चन्दा उठाएर डोजर खरिद

म्याग्दी १५, चैत । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका वासिन्दाले चन्दा सङ्कलन गरेर डोजर किनेका छन् ।
गाउँमा सडक पुर्याउन गुर्जा विकास मञ्चको पहलमा चन्दा सङ्कलन गरेर चुरेन कन्ट्रक्सन प्रालिको नाममा डोजर किनेका हुन् । मञ्चका सचिव प्रेम छन्त्यालले कम्पनीले खरिद गरेको डोजर परिचालन गरेर धवलागिरि गाउँपालिकाको केन्द्रदेखि वडा नम्बर २ हुँदै गुर्जा जोड्ने सडक अन्तर्गत महतला भिरमा मार्ग खोलिएको बताए ।

“स्वदेश तथा विदेशमा रहेका गुर्जावासीले सडक निर्माणका लागि चन्दा सङ्कलन गरेर डोजर किनेका हौँ,” उनले भने “हालसम्म करिब रु ७०÷७५ लाख सङ्कलन जुटिसकेको छ ।” गुर्जा घर भई हाल पोखरामा बस्नुहुने भारतीय गोर्खा सैनिकका सेवा निवृत्त क्याप्टेन लालबहादुर छन्त्यालको अध्यक्षतामा रहेको मञ्चले सडक निर्माणका लागि आर्थिक स्रोत जुटाउन समन्वय गरिरहेको छ ।

म्याग्दीका छ वटा स्थानीय तहका ४५ मध्ये गुर्जा मात्रै सडक नपुगेको वडा हो । धवलागिरि गाउँपालिका–२ लुलाङदेखि गुर्जा पुग्न तीन हजार ३०० मिटर अग्लो देउरालीडाँडा पार गरेर भीर, जङ्गल र खोल्साको पैदलमार्गमा पूरै दिन हिँड्नुपर्छ । २६५ घरधुरी छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जाका बासिन्दा गम्भीर अवस्थाको बिरामी पर्दा बिरामीलाई हेलिकप्टर चार्टर गरेर, स्टे«चर र डोकामा बोकेर अस्पताल लैजानुपर्छ ।

खच्चर र भरियालाई पिँठ््युमा बोकाएर सामग्री ढुवानी गर्नुपर्छ । महतलादेखि गुर्जाको प्रतिकिलो ढुवानी शुल्क रु २२ तिर्नुपर्छ । विपन्न र शारीरिक अशक्त गाउँपालिका र जिल्ला सदरमुकाम पुग्न नसकेका सरकारी सेवा सुविधाबाट वञ्चित भएका छन् । आलु, जडीबुटी र पशुजन्य वस्तु निकासी गर्न समस्या भएको छ ।

लोत्ता, पुवा, चोयालगायत वनपैदावार जङ्गलमा कुहिएर खेर गएको छ । महँगो ढुवानीका कारण विकास आयोजनाको लागत बढेर कार्यान्वयनमा समस्या भएको स्थानीयवासी बताउछन् ।

गुर्जा र लुलाङ तथा बागलुङको ढोरपाटन क्षेत्रलाई गाउँपालिकाको केन्द्र मुनासँग जोड्ने मुना–लुलाङ सडक अन्तर्गत पर्ने महतला भिरमा दुई वर्षको प्रयासमा गत पुस महिनामा करिब एक सय मिटर सडकको मार्ग खुलेको थियो । पूर्वाधार विकास कार्यालय म्याग्दीले दरवाङ–बिम–भारवाङ–ताकम–मुना–लुलाङ–गुर्जा सडक आयोजना अन्तर्गत महतला भिरमा सडक निर्माणका लागि २०७६ पुसमा बिएन कन्ट्रक्सनले रु ७८ लाख ९९ हजार ३१० मा ठेक्का लिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार