बुटवल २२ चैत । चोरीको आरोपमा प्रहरी हिरासतमा रहेका एकजनाले आत्महत्याको प्रयास गरेका छन् ।
बुटवल औद्योगिक क्षेत्र र विभिन्न स्थानबाट तामाको तार चोरीको अभियोगमा पक्राउ परेका २८ वर्षका रुद्रबहादुर नेपालीले आत्महत्या प्रयास गरेको प्रहरीले बताएका छन् । शनिबार तामाका तारहरु कवाड पसलमा बेच्दै गरेको अवस्थामा नेपालीलाई प्रहरीले पक्राउ गरेको थियो ।
शनिबार पक्राउ परेका नेपाली सोमबार दिउसो घाँटी रेटिएको अवस्थामा रहेको नेपालीका आफन्त मानकुमारी सार्कीले जनाएकी छिन् । हिरासतभित्रै घाँटी रेटिनु शंकास्पद र गम्भीर भएको भन्दै उनले घटनाको छानबिन हुनुपर्ने माग समेत गरेकी छिन् । घाँटीमा गहिरो चोट लागेका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।