कांग्रेस घोषणापत्र : के गर्ने के नगर्ने प्रतिज्ञा

नेपाली कांग्रेसले यही वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार पार्टीको घोषणापत्र सार्वजनिक गर्दै विभिन्न योजना र नीतिका साथै के गर्ने के नगर्ने प्रतिज्ञाका विषयसमेत उल्लेख गरेको छ ।

‘नेपाली कांग्रेसको सङ्कल्प’ नाम दिइएको घोषणापत्रमा संविधानप्रदत्त सम्पूर्ण अधिकार कार्यान्वयनका लागि बन्न बाँकी रहेका कानून सङ्घ र प्रदेशले एक वर्षभित्र निर्माण तथा परिमार्जन गर्ने, एक वर्षभित्र सङ्घीय प्रणालीलाई कार्यमूलक र प्रभावकारी बनाउन आवश्यक संस्थागत संरचना बनाई क्षमता अभिवृद्धि गर्ने उल्लेख छ ।

यसैगरी एक वर्षभित्र स्थानीय सरकारलाई थप स्रोतसाधन सम्पन्न बनाउन कर्मचारी व्यवस्थापन गरी आवश्यक जनशक्ति पदपूर्ति गर्ने व्यवस्था गर्ने तथा क्षमता अभिवृद्धिका लागि आवश्यक संरचना बनाउने, स्थानीय सरकारको माग, क्षमता र आवश्यकताका आधारमा बजेट विनियोजन, समानीकरण अनुदान वृद्धि, पूर्वाधारलगायत विकास आयोजनाका लागि सहुलियत ऋण, अनुदान, प्राविधिक सहयोग उपलब्ध गराउने घोषणापत्रमा उल्लेख छ ।

विभिन्न तहका बीचमा रहेको कार्यगत अस्पष्टता तथा नीतिगत अन्योलतालाई स्पष्ट पार्ने, जिल्ला समन्वय समितिलगायत जिल्लाका संरचनाको क्षेत्राधिकार र भूमिकाको स्पष्ट व्याख्या गर्ने, स्रोतसाधनको परिचालन, सुशासन, पारदर्शिता, जवाफदेहिता र वित्तीय अनुशासनका सम्पूर्ण सिद्धान्त अनुशरण गlर भ्रष्टाचारमुक्त तथा मितव्ययी शासन प्रणाली अवलम्बन र संस्थागत गर्ने कांग्रेसले जनाएको छ ।

त्यस्तै हरेक आर्थिक वर्ष समाप्त भएको दुई महिनाभित्र स्थानीय तहको ‘पार्टी अडिट’, गर्ने स्थानीय सरकार र नेतृत्वको मूल्याङ्कन गर्दा राष्ट्रिय र स्थानीय तहले निर्धारण गरेको लक्ष्यका साथै घोषणापत्रमा उल्लेखित सूचकाङ्कका आधारमा मूल्याङ्कन गर्ने पार्टीले सङ्कल्प गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार