तुवाचुङमा चुला पूजा तथा साकेला सिली प्रदर्शन

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका अन्र्तगत रहेको किराँत समुदायको उद्गमस्थल तुवाचुङ जायजुममा सुप्तुलुङ (चुला) पूजा साथै बृहत साकेला सिली प्रदर्शन गरिएको छ ।

नगरप्रमुख विमला राईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा किराँत समुदायको महान् चाड साकेला उभौलीको अवसर पारेर शनिबार तुवाचुङ जायजुममा नछुङ (धामी) मार्फत चुला पूजा गर्नुका साथै बृहत् साकेला सिली प्रदर्शन गरिएको हो ।

विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीभन्दा केहीमाथि पर्ने तुवाचुङ जायजुममा आयोजना गरिएको चुला पूजा तथा साकेला सिली प्रदर्शनीमा खोटाङ, उदयपुर, ओखलढुङ्गा, भोजपुरलगायत जिल्लाका किराँत राई समुदाय भेला भएर सामूहिकरूपमा चुला पूजा गर्दै साकेला नाचेका छन् ।

समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा पर्ने पर्यटकीयस्थल तुवाचुङ जायजुममा आयोजित कार्यक्रममा किराँत राई समुदायको परम्परागत वेषभूषामा सजिएर अलग–अलग समूहमा ढोल, झ्याम्टा बजाएर साकेला गीत गाउँदै आएको र फर्किएको मनमोहक दृश्य देखिएको थियो । कोभिड–१९ को महामारीका कारण रोकिएको तीन वर्षपछि तुवाचुङ जायजुममा शनिबार चुला पूजा गर्दै साकेला नाचिएको हो ।

पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल बन्दै गएको तुवाचुङ जायजुममा प्राकृतिकरूपमा रहेका रैछाकुलेको ढुङ्गाको मूर्ति र तान बुन्ने ढुङ्गा देख्न सकिन्छ । किराँत ऐतिहासिकस्थल सो क्षेत्रलाई संरक्षण गर्न तुवाचुङ जायजुमको नाममा १५१ रोपनी जग्गा खरिद गरेर ढुङ्गाको पर्खालले घेराबारा हालिएको छ ।

तुवाचुङ जायजुममा आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल बन्दै गएपछि विसं २०७४ मङ्सिर २ गते किराँतीको पुर्खा रैछाकुले, तायामा र खियामाको पूर्णकदको प्रतिमा समेत स्थापना गरिएको छ । किराँत राई यायोख्खा केन्द्रीय समितिको पहलमा तीन किराँती पुर्खाको प्रतिमा स्थापना गरिएपछि दर्शन गर्न र भ्रमण गर्न देश–विदेशका किराँती र गैरकिराँती पर्यटकको भीड लाग्ने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार