उपेन्द्र यादव उत्तर कोरियाको किमजोङ उन हुन्

जनता समाजवादी पार्टी (जससपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद् र केन्द्रीय समितिबाट असार १ र २ गते विधान अधिवेशन गराउने म्याण्डेट पाएका छन् ।

उनले स्थानीय निर्वाचनको परिणामपछि विभिन्न मिडियाहरुमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संग एकता गर्न ढोका मात्रै होइन गेट पनि खुलै रहेको बौल्दै आएका छन् । अहिले कसैसंग एकता गर्ने उनलाइ पार्टीले म्याण्डेड दिएको छैन । पहिला पनि उनले राष्ट्रिय जनता पार्टी (राजपा) सँग एकता गरे, त्यसको सान्दर्भिकता नै प्रमाणित नभइ पार्टी फुट्यो राजपाबाट आएकाहरु लोसपा बनाएर जसपा छाडेर गए । त्यसको जवाफ पनि अध्यक्षको हैसियतले आजसम्म पार्टीलाई दिएका छैनन् ।

अब फेरि मिति तय गरि सकेको महत्वपूर्ण पार्टीको विधान अधिवेशन सम्पन्न गर्न छाडेर एकताको बाजा बजाउनु भनेको पार्टीको हितविपरीत काम गर्नु हो । जसपाको विधानअनुसार दुई अध्यक्ष राख्न मिल्दैनथ्यो तर रातारात दुई अध्यक्षत्मक बिधान बनाइ पार्टीको मुलमन्त्र समानुपातिक समावेशीविरुद्ध दुबै अध्यक्ष मधसीबाटै राखेर पार्टी चलाउदा के हालत भयो, त्यो बारे सोच्ने नसोच्ने

संघीय समाजवादी फोरम हुँदा दोश्रो मधेस आन्दोलनपछि दुई बुँदे सहमति गरि केपी ओली सरकारमा आफैँ उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री भएर १८ महिना सरकारमा बसेका थिए । त्यसबेला न उनले संविधान संशोधन गराउन सके न त पहाडलाई समानुपातिक विकासमा सहयोग गरे । उनको आँखाले मधेस र मधेसीबाहेक केही देखेन । संविधान संशोधन के उनले विदेश घुम्ने मन्त्रीको उपाधि भिरे र केपी ओलीले उनी विदेशमै भएको बेला सल्लाहबिना नै कानुनमन्त्री बनाए पछि लाज छोप्न राजीनामा दिए । यसमा पनि उनी के गर्न मन्त्रीमण्डलमा गएका हुन् दुई बुँदे सहमतिअनुसार १८ महिना के के काम गरे पार्टीलाई अहिलेसम्म रिपोर्ट बुझाएका छैनन् ।

उनले बुझाउने चासो पनि लिएका छैनन् र कसैले किन प्रतिबेदन नबुझाएको भनेर सोध्ने आँट पनि गरेको देखिँदैन । हालै पाच दलीय गठबन्धनको सरकार बनेपछि जसपाको भागमा दुई वटा राजदूत परेको थियो । त्यसमा पार्टी चाहिँ मानौँ उपेन्द्र यादव र डा. बाबुराम भट्टराइको वीरता हो जस्तो एक/एक जना बाँडेर आफ्ना चुलेचौकेलाइ राजदूत बनाएर पठाए । पार्टीको अन्तर्राष्ट्रिय विभाग छ । त्यसले उनीहरुको योग्यता छानविन गर्नुपर्थ्यो । अरु पनि पार्टीभित्र धेरै योग्यता परिपूर्ण सदस्यहरु नभएका हैनन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध विभागका जिम्मेवार प्रमुख व्यक्ति पनि उपेन्द्र आगाडी चु बोल्ने हिम्मत गरेनन् । मानौँ उपेन्द्र उत्तर कोरियाको किमजोङ उन हुन् । जसपा अहिले पार्टी जसतो छैन, मात्रै केही नेताहरुको बार्गेनिङ गरेर व्यापार गर्ने, मिडिया अन्तरवार्ता दिने र जनतामा अनुहार देखाउनेबाहेक अरु काम भएको देखिँदैन । पाँच दलिय गठबन्धनमा बसेर पार्टीका मान्छेलाई होइन आफ्नो मान्छेको लागि पदको बार्गेनिङ गर्ने कामबाहेक पार्टीलाई फाइदा हुने काम भएको छैन । गठबन्धन गरेर मधेसमा सिट बढाउनको साटो निकै गुमेको देखिन्छ । गठबन्धनको कारणले जसपालाइ फाइदाभन्दा निकै बेफाइदा भएको स्वयम् उपेन्द्र यादव स्विकार्छन ।

वर्तमान गठबन्धन सरकारमा सामेल भएका केही मन्त्रीहरू छन, जसले जनताको कामको त कुरै नगरौँ यतिसम्म छनकी समकालीन साथीहरुले गरेको सम्मानलाई पनि वास्ता गर्दैनन् । एकजना पार्टीका वरिष्ठ मन्त्री छन् । उनले आफू पद नपाउन्जेल समानुपातिक, समावेशी र विधिका कुरा बैठकमा र भाषणमा बहुत उठाउछन् तर उनको सचिवालयमा नेवारी बोल्नेबाहेक अरु मान्छे राखेका छैनन् । उनले उपत्यका बाहिर पनि देश छ भन्ने र पार्टी छ भन्ने ठान्दैनन् । माथिल्लो पद पाएकाहरुको बस्तु स्थिती यस्तो रहेको छ ।

फाइदाको पद नपाएकाहरु एमालेमा जानको लागि हस्ताक्षर सङ्कलन समेत गर्न पछि पर्दैनन् । त्यसमा पार्टीको लागि काम गर्ने मान्छेहरु र पूर्वउपाध्यक्ष तथा वर्तमान कार्यकारिणी समितिका सदस्यहरुको टोली समेत रहेको देखिन्छ ।
यसैमा रामप्रसाद रिजाल भन्ने पात्रसंग फोनमा कुरा गरेर पार्टीका वरिष्ठ नेता अशोक राईले, कस्तो कुरा, कोसँग गर्ने भन्ने विचार नगरी, बोल्दा पार्टीभित्र र बाहिर भ्रम फैलिएको छ र भ्रम फैलाउनेहरुलाई आगोमा घिउ थप्ने काम भएको छ ।
यो कुरा बोलेको जानीजानी बोलेको हो कि अन्जानमा बोलेको हो सम्बधित स्वयंले प्रष्ट पार्ने कुरा हो । फोन वार्ता गरेको सुन्दा ‘काम पाइनस् बुहारी पाडाको कनाउ है’ जस्तो सुनिन्छ। यस्तो हर्कतले पार्टी बन्छ भने केही भन्नू छैन।

लोकतान्त्रिक पार्टीमा सुधार गर्ने हो भने समयमै विधान अधिवेशन सम्पन्न गरेर पार्टीको माहाधिवेशन पनि सम्पन्न गर्नु पर्दछ । अहिलेसम्म कहिले एकताको नाममा, कहिले कोभिडको नाममा र कहिले देशको परिस्थितिको नाममा निर्णायक तहका नेताहरूले बाँडेर खाएका छन् पार्टीमा सुधार कतिपनि आएको छैन । जुनजुन मान्छेहरुले हिजो पार्टीमा लाभको पद र पार्टीको महत्वपूर्ण पद लिएका थिए, तिनीहरु पार्टी छाडेर गइसकेका छन् । केही बाँकि रहेकाहरुले पनि त्यहिँ बाटो रोजेको देखिन्छ ।

अध्यक्ष हुने पनि विधान अधिवेशनले व्यवस्था गरेको विधानअनुसार कार्यकर्ताबाट अनुमोदित भएर पदमा बस्नु पर्छ । पदाधिकारीहरुको हकमा यहिँ नियम लागू हुनु पर्दछ। देशभरका पार्टीका नेता कार्यकर्ता, सुभचिन्तकहरुले यो कुरा बुझ्नु पर्ने देखिन्छ पार्टीका नेताहरुहरुलाई दबाब दिनुको विकल्प छैन् ।

यसो नगरे आफ्नो मान्छेलाई मन्त्री बनाएकै छन् । राजदूत बनाएकै छन् । कार्यकर्ताले नेता बनाएकै छ अबको समयमा पार्टीलाई सुधार गरेर लाने हो भने एउटै मात्रै मन्त्र विधान अधिवेशन, त्यसपछि महाधिवेशन । यो बाहेकको अर्को बाटो छैन । अब पनि विधान अधिवेशन नगर्ने हो भने ‘काम कुरो एकतिर कुमलो बोकि ठिमीतिर’ भन्ने उखान लागु नहोला भन्न सकिदैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार