योगलाई अभियानको रुपमा चलाउन आवश्यक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता गिरिराजमणि पोख्रेलले योगलाई अभियानको रुपमा चलाउन आवश्यक रहेको बताएको छ ।

योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयले आज यहाँ आयोजना गरेको आठौँ अन्तर्राष्ट्रिय योग दिवस समारोहमा बोल्दै उहाँले योगलाई सामाजिक अभियानका रुपमा अघि बढाउन सके स्वस्थ रहन सकिने बताएको हो ।

योग ध्यानको प्रतिपादन गर्ने देश नेपाल भएको भन्दै उहाँले यसलाई समयानुकूल बनाउँदै लैजानु आजको आवश्यकता रहेको बताउनुभयो । उनले भन्नुभयो, “योग अहिलेको युगअनुरुप रहेको छ । यसलाई समयानुकूल बनाउँदै लैजानुपर्छ ।”

आफू शिक्षामन्त्री हुँदा योगलाई पाठ्यक्रममा समावेश गर्ने भनी निर्णय गरेको जानकारी गराउँदै उनले यसलाई पाठ्यक्रममा राखेर स्कुलदेखि नै सिकाउँदै लैजानुपर्ने बताए । शिक्षा क्षेत्रमा यसको विकासले समाजको परिवर्तन सम्भव हुने उनको भनाइ छ ।

फरक प्रसङ्गमा बोल्दै उहाँले तत्काल माओवादी केन्द्र मन्त्री फेरबदलको पक्षमा नरहेको बताउनुभयो । उनले भने, “सरकारको नीति तथा कार्यक्रममा छलफल भइरहेको छ ।

यो समयमा मन्त्री फेरबदल गर्नु राम्रो हुँदैन ।” अर्थमन्त्रीले र सरकारका मन्त्रीहरुले संसद्मा जवाफ दिने क्रम जारी रहेको बताउँदै उहाँले पछिल्लो राजनैतिक गतिविधिका बारेमा केन्द्रको १५ गतेपछि बस्ने केन्द्रीय समितिको बैठकले निर्णय गर्ने बताए ।

सो अवसरमा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले योगले जीवन परिवर्तन गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
त्रिभुवन विश्वविद्यालयका नारायण गौतमले योग जीवनको पद्धति भएको बताए । म योगी हुँ भन्ने भावनाले यसको विकास गर्नु आवश्यक रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार