आदर्श लघुवित्तको आईपीओ बाँडफाँट

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । सोमबार लघुवित्तको बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटको कार्यालयमा बिहान ९ बजे सो शेयर बाँडफाँट भएको हो ।

असार १ गतेदेखि ५ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको शेयरमा १६ लाख ७२ हजार ७९४ आवेदकको आवेदन स्वीकृत भएको छ भने १ हजार ८५८ आवेदकको आवेदन रद्द भएको छ । स्वीकृत आवेदनमध्ये ६ हजार २६१ आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। सोमध्ये पनि ५ भाग्यमानी लगानीकर्ताहरुले थप एक कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।

लघुवित्तले असार १ गतेदेखि ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। त्यसमध्ये ०।५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। बाँकी ६२ हजार ६१५ कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण गरिएको हो ।

लघुवित्तको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण गरिएको हो । हाल लघुवित्तको चुक्ता पूँजी १ करोड ४० लाख रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २ करोड ७ लाख रुपैयाँ पुग्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार