जसपा फुटको संघारमा

काठमाडौं । जनता समाजवादी पार्टी हाल फुटको संघारमा पुगेको छ । पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव सौहार्दपूर्ण तरिकाले छुट्टिन तयार भएसँगै जसपा फुट्ने निश्चित भएको हो ।

बुधबार सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा यादव र भट्टराईबीच पार्टी विवाद समाधानका विषयमा छलफल भएको थियो । उक्त छलफलमा भट्टराईले आफूहरूको विचार र सिद्धान्त मिल्ने भए पनि कार्यकर्ताहरू अन्तरघुलित हुन नसकेकाले सहमतिकै आधारमा छुट्टिने प्रस्ताव यादवलाई राखेका थिए ।

भट्टराईको प्रस्ताव मान्न यादव पनि तयार भएको भन्दै जसपाका कार्यकारिणी सदस्य युवराज कार्कीले भने, ‘एकले अर्कालाई कारबाही नगरी सहमतिकै आधारमा सौहार्दपूर्ण तरिकाले छुट्टिऔं भन्ने उहाँको प्रस्ताव छ, एकले अर्काले गद्दार र विभाजनकारीको आरोप लगाउनुभन्दा भोलिका लागि सहमतिको ढोका खुलै राख्न दुबै अध्यक्ष तयार भएका छन् ।’

पछिल्लो समय जसपामा उपेन्द्र र बाबुराम पक्षबीच विवाद चर्किँदै गएको थियो ।

यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम र भट्टराईको नयाँ शक्ति पार्टीबीच २०७६ वैशाखमा एकता भएको थियो । एकता भएपछि संघीय समाजवादी पार्टी बनेको थियो ।

संघीय समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टीबीच २०७७ वैशाखमा एकता भएर जसपा बनेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार