आर्यघाटमा जल्दै गरेको शव प्रहरीले नियन्त्रणमा लियो, मलामी भागाभाग

वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका–७ बिश्रामपुरकोे छपकैयास्थित आर्यघाटमा जलाइँदै गरेको १४ वर्षीया एक किशोरीको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।

घरमा विष सेवन गरेर बुधबार आत्महत्या गरेको भन्दै परिवारले त्यहिँ राति प्रहरीलाई खबर नै नगरी हत्तपत्त शव आर्यघाटमा लगेर जलाएको थियो । तर, गाउँलेले यस विषयमा प्रहरीलाई जानकारी गराएपछि प्रहरीको टोली आर्यघाट पुगेको थियो ।

आर्यघाट पुग्दा मृतकको आधा जलेको अवस्थामा प्रहरीले शव नियन्त्रणमा लिएको बताइएको छ । मृत्यु हु्नेमा १४ वर्षीया महिमा कुमारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले यस घटनामा अनुसन्धानका लागि मृतकको दिदी, आमा र ठूलीआमालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अहिले उनीहरु प्रहरीको नियन्त्रणमा रहेको र मृतकको आत्महत्या हो कि हत्या भन्नेबारे अनुसन्धान भइरहेको पनि जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

घटनापछि प्रहरीलाई खबर नै नगरी मलामी गएका केहि आफन्तहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो । तर, प्रहरीलाई देख्नसाथ मलामीहरु भागेका थिए । आफन्तसँगै प्रहरीलाई देखेर भाग्नेमा घरका सदस्यहरु पनि रहेको प्रहरीले जनाएको छ ।

आधा जलेको अवस्थामा नियन्त्रण लिइएको शव पोष्टमार्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा पठाइएको छ । गाउँलेका अनुसार अनुसार मृतक महिमाको गाउँकै एक जना केटासँग गहिरो प्रेमसम्बन्ध थियो तर परिवारले उक्त प्रेम सम्बन्ध अस्वीकार गर्दै आएको थियो । परिवारले महिमालाई प्रेम सम्बन्धबारे मानसिक र शारीरिक यातना दिने गरेको पनि गाउँलेले प्रहरीलाई भनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार