विद्यालयमै शिक्षकहरूको मदिरा पार्टी, जताततै आलोचना

रौतहट । विद्यालय शिक्षाको मन्दिर हो, बालबालिकाको भविष्य बनाउने थलो पनि । तर, त्यहिँ थलोमा विद्यार्थीलाई पढाउने शिक्षकले भने मदिरा पार्टी आयोजना गरेर असार १५ मनाएका छन् ।

यो घटना हो, रौतहटको गढिमाई नगरपालिका वडा नम्बर ७ धनारी गाउँमा रहेको श्री माध्यमिक विद्यालय धनारीको । जहाँ शिक्षकहरुले विद्यालयभित्रै मदिरा पार्टी आयोजना गरेर एकैपटक पर्ने पर्व ‘राष्ट्रिय धान दिवस’ र ‘दही चिउरा खाने दिन’ मनाए ।

असार १५ गते विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुले विद्यालयमा भोज गरे । विद्यालयको प्रशासनिक कोठामा आयोजना गरिएको उक्त मदिरा पार्टीसहित भोजको भिडियो स्थानीय युवाहरुले खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि हल्लीखल्ली भएको थियो । सार्वजनिक भएको उक्त भिडियोपछि शिक्षकहरुको तीव्र आलोचना भइरहेको छ ।

भिडियोमा कोठाभित्र महिला शिक्षकसहित अन्य शिक्षकहरु बसेर मस्ती गरिरहेको देखिन्छ । भाँडोमा मासु राखिएको छ, प्लेटमा मासु चिउरा, शिक्षकहरुको अगाडि वियरको बोतल, अर्का एक युवक हातमा भोड्का लिएर उभिएको भिडियोमा ।

बालबालिकाहरुलाई भविष्य बनाउन डोराउने शिक्षालयकै शिक्षकहरुले यस्तो उपद्रो गरेपछि बालबालिकाले यसबाट के सिक्ने रु बालबालिकालाई रक्सी, चुरोट, सुर्ती खान हुन्न भनेर सिकाइने थलोमै शिक्षकहरु आफै निषेधित क्षेत्र तोडेपछि यस्ले दिने सन्देश के रु विद्यालय परिसरभित्र रक्सी खाएर मात्ने शिक्षकलाई सरकारले कारबाही गर्ने कि नगर्ने रु कक्षा १२ सम्म पढाइ हुने यस विद्यालयमा भएको यस्तो हर्कतविरुद्ध स्थानीयहरु एकजुट भएका छन् ।

यता, विद्यालयका प्रधानाध्यापक कपिलदेव प्रसाद यादव भने आफूहरुबाट धेरै ठूलो गल्ती भएको स्विकार्दै सार्वजनिक रुपमा माफी मागेको पनि बताएका छन् । उनका अनुसार शिक्षाको मन्दिरमा शिक्षकले रक्सी खानु नैतिकताहिन हो ।

उनले आफूहरुले भित्रैबाट यस कार्यको आत्मालोचना गरेको र आागमी दिनमा यस्तो हर्कत नदोहोरिने पनि प्रतिबद्धता जनाए । उनले भने, ‘हामीबाट ठुलो भूल भएको छ । यो घटनाले हामीले नैतिकता गुमायौं । त्यसको लागि हामी आत्मालोचना सहित सबैसँग माफी माग्छौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार