नयाँ पार्टी बनाउन जुटे बाबुराम भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको समूहले अलग्गै पार्टी निर्माणका लागि तयारी थालेको छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको सिफारिसमा प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार मन्त्री हेरफेर गरेलगत्तै असन्तुष्ट संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको समूहले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ ।

बैठकमा उपस्थित संख्या हेरेर पार्टी औपचारिक विभाजन गर्ने, निर्वाचन आयोगमार्फत नयाँ दल दर्ता वा पहिला नै दर्ता दललाई निरन्तरताको प्रक्रिया सुरु गर्ने रणनीति रहेको एक नेताले बताएका छन् ।

जसपाका एक नेताका अनुसार पहिलो चरणमा अलग्गै पार्टी बनाउने र त्यसपछि आसन्न प्रदेश एवं संघीय निर्वाचनलाई ध्यानमा राखेर पार्टी एकता र गठबन्धनका लागि संवाद थाल्ने भट्टराईको रणनीति छ । भट्टराईनिकट जसपा नेता गंगानारायण श्रेष्ठले आगामी कदमबारे विस्तारित बैठकमा छलफल हुने बताए । ‘जसपाको हैसियतमा असार २९ र ३० मा काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाइएको छ । त्यहाँ सम्भावित सबै विकल्पमाथि छलफल हुन्छ,’ श्रेष्ठले भने ।

स्रोतका अनुसार पार्टीमा विवाद देखिन थालेपछि जसपा नेता हिसिला यमीको पहलमा ०७८ फागुन ५ मै निर्वाचन आयोगमा समावेशी लोकतन्त्र पार्टी पनि दर्ता भएको छ । अध्यक्ष दीपक लामिछाने रहेको उक्त पार्टीको चुनाव चिह्न खुलेको एक आँखा छ । यमी नयाँ पार्टी दर्ताबारे आफूलाई जानकारी नभएको दाबी गर्छिन् । ‘मेरो पहलमा पार्टी दर्ता भएको होइन । त्यसबारे मलाई जानकारी छैन,’ उनले भनिन् ।

भट्टराईले नयाँ शक्ति पार्टी गठन गरेपछि चुनाव चिह्न पनि खुलेको एक आँखा थियो । उक्त चुनाव चिह्न सुरक्षित गर्न पार्टी दर्ता गराइएको स्रोतको भनाइ छ । त्यही पार्टीलाई निरन्तरता दिने वा नयाँ दर्ता गर्ने भन्नेबारे विस्तारित बैठकले तय गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार