अर्थमन्त्री शर्मा विवादमा मुछिएपछि अर्थसचिव अनिश्चितकालिन बिदामा

काठमाडौं । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी अनिश्चित समयका बिदामा बसेका छन् । बजेट निर्माण र विभिन्न विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा मुछिएपछि सचिव मरासिनी बिदामा बसेका हुन् ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग भइरहेको छ । जनार्दन शर्मा मन्त्री रहुन्जेल आफू मन्त्रालय नफर्किने पनि प्रधानमन्त्री देउवालाई मरासिनीले जनाकारी गराएको स्रोतको भनाइ छ ।

अर्थसचिव मरासिनी सन्चो नभएर बिदामा बसेको मन्त्रालयका प्रवक्ता सहसचिव ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । ‘अर्थसचिवज्यू हिजोसम्म अफिस आउनुभएको हो । हिजै मलाई सन्चो भएन भन्दै हुनुहुन्थ्यो । आज बिदामा बस्नुभएको छ ।’

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहने सीसीटीभी फुटेज माग्दा १३ दिनको मात्र बाँकी रहने र अरु आफैं मेटिँदै जाने मन्त्रालयले जवाफ दिएको थियो । यसपछि सीसीटीभी फुटेज डिलिट गरिएको र यसमा अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोको आशंका गरिएका बेला उनी बिदामा बसेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार