प्रदेश १ को नामाकरण पहिचानका आधारमा नभए एकपटक फेरि बन्दुक उठ्छ : गोपाल किराती

विराटनगर । माओवादी कम्युनिष्ट पार्टी नेपालका संरक्षण गोपाल किरातीले प्रदेश १ को नामाकरण पहिचानका आधारमा नभए एकपटक फेरि बन्दुक उठाउने चेतावनी दिएका छन् ।

मंगलबार एक विज्ञप्तिमार्फत पहिचानका सवालमा आफूहरु नमरेको र नहारेको भन्दै इतिहासले मागेको खण्डमा फेरि पनि बन्दुक उठाउन तयार रहेको किरातीले चेतावनी दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ– ‘पहिचान विरोधी शासकहरु गोर्खाली अन्धराष्ट्रवाद कायम राख्ने अपराध नै गर्दछन् भने हामीले महान जनविद्रोहको रणनीति पनि सँगसँगै लिएका छौं । अतः हिजो सशस्त्र आन्दोलनको नेतृत्व लिएको विरासतका हामीहरु मरेका र हारेका छैनौँ, इतिहासले मागेछ भने पर्याप्त अनुभवसहित फेरि एक पटक बन्दुक उठाउन नपरोस्, यसैसाथ चेतावनी गर्दछौँ ।’

प्रदेशको नामाकरण पहिचानको आधारमा जजस्ले आवाज उठाइरहेका छन् त्यसप्रति आफ्नो पनि समर्थन रहेको उनले भनेका छन् । ‘आन्तरिक राष्ट्रिय पहिचानको आधारमा प्रदेश नामाकरणका लागि जो जसले आवाज उठाइरहेका छन्, त्यसप्रति हाम्रो पार्टी जोडदार समर्थन गर्दछ,’ उनले भनेका छन् । प्रदेश सरकारका मन्त्रीहरु, सांसदहरु तथा पहिचान विरोधी राजनीतिक दलका नेताहरुलाई लखेट्ने पनि किरातीले चेतावनी पनि दिएका छन् ।

उनले भनेका छन्, ‘जनसमुदायको माग कुल्चने धृष्टता नै गर्दछन् भने प्रदेश सरकारका मन्त्रीहरु, सांसदहरु तथा पहिचान विरोधी राजनीतिक दलका नेताहरुलाई लखेट्ने जनकार्वाही आन्दोलनको सशक्त आव्हान गर्दछौं । गाउँ–गाउँमा पहिचान दस्ता खडा गरेर अघि बढ्न विशेषतः युवाहरुलाई आव्हान गर्दछौं ।’

पहिचानको आन्दोलनकै वकालत गर्ने क्रममा राजेन राई ९मण्डेला०, कुलमान जिमी, चेतकुमारी राई, अर्जून राई, कटकबहादुर साङपाङ, कुमार चेम्जोङले सहादत प्राप्त गरेको पनि उनले स्मरण गरेका छन् । साथै, प्रेम कन्दङवा र जसोदा कन्दङवाले किरात गणराज्य सरकारका सदस्यको हैसियतमा मृत्युवरण गरेको पनि विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।

आन्दोलनका क्रममा हजारौं धरपकड गिरफ्तारी, यातना र अंगभंगका अनेक कीर्तिमानहरु खडा भएको उल्लेख गर्दै उनले प्रदेश १ लाई किरात–लिम्बुवान–कोचिला प्रदेश नामाकरण गर्न सम्बन्धित प्रदेशसभामा अगावै लिखित आग्रह गरेको आग्रह पनि फेरि स्मरण गराएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार