कोदोको रक्सी चाखेर कार्यक्रम उद्घाटन, लोकल रक्सीलाई ‘ब्राण्ड’ बनाउन माग

धनकुटा । धनकुटामा घरेलु रक्सीको प्रवद्र्धन गर्न कोदोको रक्सी चाखेर औपचारिक कार्यक्रमको उद्घाटन गरिएको छ । मंगलबार परम्परागत घरेलु मदिरा (कोदोको रक्सी) प्रवद्र्धन समिति प्रदेश नं. १ द्वारा आयोजित जिल्ला समिति भेला तथा समिति गठन कार्यक्रममा प्रमुख अतिथी, अतिथीहरुले कोदोको रक्सी चाखेर कार्यक्रम उद्घाटन गरेका हुन् ।

कार्यक्रममा वक्ताहरुले लोकल रक्सीलाई ब्राण्ड बनाउनुपर्ने र बिक्री वितरणमा वर्तमान विद्यमान कानुनी व्यवस्थालाई परिमार्जन गर्नुपर्ने पनि माग राखेका थिए । कोदोको रक्क्सी प्रवद्र्धन समिति प्रदेश नम्बर १ का बुद्धिजीवी संयोजक देश कुमार वामिङ्गले कोदोको रक्सी प्रवद्र्धन गर्नुपर्ने आजको आवश्यकता रहेको पनि औँल्याए । उनका अनुसार मुलुकको व्यापार घाटा कम गर्नका लागि पनि कोदोको रक्सी प्रवद्र्धन गर्न जरुरी छ ।

समितिका प्रदेश नम्बर १ का अध्यक्ष टेक बहादुर खजुमले बाँझो जमिनमा कोदो उत्पादन गरेर त्यसबाट रक्सी बनाएर विदेश निर्यात गर्न सके रोजगारी खोज्नुपर्नेको अन्त्य हुने बताए । अब सरकारले लोकल रक्सी बनाउन चाहिने कच्चा पदार्थ सहयोग गर्न पनि सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

यता, प्रदेश नम्बर १ ले कोदोको रक्सीलाई ‘ब्राण्डिङ’ गरी बिक्री वितरण गर्न कानुनी र व्यवहारिक पक्षको अध्ययन गरिने यसअघि नै भनिसकेको छ ।

यस्तै, लुम्बिनी प्रदेश सरकारले पनि स्थानीय मदिरा ‘लोकल रक्सी’ को उत्पादन तथा बजारीकरण गर्ने योजनालाई अगाडि सारेको छ ।

किराँत राई यायोक्खा खोटाङले केही समयअघि स्थानीय (लोकल) रक्सीलाई ब्राण्डका रूपमा प्रवर्द्धन गर्नुपर्ने माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार