भारतबाट महिनामा ३२.५६ रुपैयाँ घट्यो आयो पेट्रोल, तर नेपालमा घटेन

काठमाडाैंँ । एक महिनाको अवधिमा इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट प्रतिलिटर पेट्रोलमा ३२ रुपैयाँ ५६ पैसा घटेर आएको छ । आईओसीबाट भाउ बढेर आउँदा स्वचालित मूल्य प्रणालीका नाममा तत्काल भाउ बढाउने नेपाल आयल निगम भने पछिल्लो एक महिनामा लगातार दुईपल्ट भाउ घटेर आउँदा पनि स्वचालित मूल्य प्रणालीको उच्चारण गर्न पनि चाहँदैन ।

आईओसीले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको यो दोस्रो पटक हो । प्रत्येक अंग्रेजी महिनाको पहिलो तथा पन्ध्रौं तारिखमा आईओसीले इन्धनको नयाँ मूल्य पठाउँछ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि यसपटक १६ जुलाई तथा १ अगस्ट गरेर दुई पटक आईओसीले नेपालका लागि पनि मूल्य घटाएर पठाएको छ ।

आईओसीले १ अगस्टमा पठाएको नयाँ मूल्य सूचीअनुसार प्रतिलिटर पेट्रोलमा १६.८० रुपैयाँ तथा डिजेल र मटीतेलमा १२.४५ रुपैयाँले घटाएको छ भने यसअघि गत १५ जुलाईमा पनि आईओसीले पठाएको मूल्यसूचीमा प्रतिलिटर पेट्रोलमा १५.७६ रुपैयाँ र डिजेलमा १६.५६ रुपैयाँले मूल्य घटाएको थियो ।
तर, भारतबाट मूल्य घटेर आए पनि निगमले भने अझै पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छैन । यसअघि मूल्य घटेर आउँदा पनि निगमले अझै प्रतिलिटर पेट्रोलमा १४.१९ रुपैयाँ तथा डिजेल र मटीतेलमा २१.९२ रुपैयाँ घाटा नै रहेको जनाउँदै मूल्य समायोजन गरेको थिएन । तर १ अगस्टको मूल्यका अनुसार निगमलाई प्रतिलिटर पेट्रोलमा २ रुपैयाँभन्दा बढी नाफा हुन्छ । डिजेलमा भने अझै घाटा रहेको निगमको दाबी छ ।

अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल (१५९ लिटर) कच्चा तेल गत वर्षको १२३ अमेरिकी डलरबाट घटेर हाल १०३ डलरमा झरेको छ । जसका कारण आईओसीले पनि निगमलाई पछिल्लो एक महिनामा दुईपटक भाउ घटाएर पठाएको हो । तर, निगमले आफ्नो घाटा बाँकी नै रहेकाले भाउ कम गर्न सक्ने अवस्था नरहेको जनाएको छ । निगमका अनुसार हाल आईओसीलाई १४ अर्ब रूपैयाँ अझै तिर्न बाँकी छ । साथै, मूल्य घटेर आउँदा पनि १५ दिनमा ७५ करोड घाटा छ भने मासिक १.५० अर्ब घाटा हुने निगमले जनाएको छ । भारतले पठाएको नयाँ मूल्य अनुसार निगमलाई पेट्रोलमा नाफा हुने भएकाले निगमको घाटामा सुधार हुने देखिन्छ ।

आयल निगमले आईओसीबाट सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ किन्दै आएको छ । यसरी पेट्रोलियम किनेबापत आईओसीले हरेक महिना पन्ध्र–पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउने गर्छ । सोही मूल्यका आधारमा निगमले उपभोक्ता मूल्य तोक्छ । आईओसीले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर नेपालको निम्ति बिक्री मूल्य तय गर्छ ।

निगमले उपभोक्तालाई हाल पेट्रोल १८१ मा तथा डिजेल र मटीतेल १७२ रुपैयाँ प्रतिलिटर बिक्री गर्दै आएको छ भने हवाई इन्धन (आन्तरिक) १ सय ९० मा बिक्री गर्दै आएको छ । हवाई इन्धन (बाह्य) १.६४५ अमेरिकी डलरमा बिक्री गर्दै आएको छ । साथै खाना पकाउने एलपी ग्यासको उपभोक्ता मूल्य १८ सय रुपैयाँ छ ।

इन्धनको मूल्य बढेका कारण यातायातदेखि बजार भाउसम्म सबै बढेको छ । नेपाल राष्ट्र बैंकको सर्वेक्षणअनुसार हाल पनि बजारमा १४ प्रतिशतको मूल्यवृद्धि छ भने आगामी तीन महिना अर्थात् दशैँ–तिहारमा पनि मूल्यवृद्धि १४.२ प्रतिशत हुने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार