‘प्राइभेट भिसा’ बाट नौ वर्षअघि कोरिया पुगेकी मोडल हिमानी गुरुङ केही समयपछि नेपाल फर्कंदै छिन् । नेपाल फर्केपछि स्किन पार्लर खोल्ने मोडल गुरुङले बताइन् । चार म्युजिक भिडियो, फिल्म र टेलिफिल्ममा अभियन गरिसकेकी उनले नेपालमा रहँदा व्युटिसियन र मेकअप आर्टिस्टको परिचय बनाएकी थिइन् । स्याङ्जानिवासी हिमानी गुरुङसँग तेस्रो आँखा डटकमका लागि विशेषता राईले गरेको रोजगार संवाद ।
कोरिया आएको नौ वर्ष भएछ, प्रगतिचाहिँ कस्तो छ ?
हो, म सन् २००८ मा कोरिया आएकी हुँ । उल्लेख्य प्रगति छैन । तर, असन्तुष्ट पनि छैन । कोरिया आउनुअघि देखेको सानोतिनो सपना पूरा गर्दै छु । तसर्थ, खुसी छु ।
सानोतिनो सपना भनेको ?
कोरियाली व्युटिसियन बन्ने सपना देखेकी थिएँ । भगवान्ले मेरो प्रार्थना सुनिदिनुभएकाले व्युटिसियन कोर्स लगभग पूरा हुँदै छ । सपना ठूलै देख्नु भन्छन् । तर, मैले पूरा गर्न सक्ने सपनामात्रै देखेकी थिएँ । सपना देखेपछि पूरा गर्न लागिपरिँदोरहेछ ।
नौ वर्ष रहँदाबस्दा कोरियाले के सिकायो ?
पसिनाको गीत गाएर खानुपर्छ भनेर सिकायो । त्यतिमात्रै होइन, कोरियामा सिकेको सीप नेपालमा व्यवहारमा उतार्न हतारिएको छु । त्यतिमात्रै होइन, आफ्नो देशको माया गर्नुपर्छ, देशका लागि केही न केही गर्नुपर्छ भन्ने सवक सिकाएको छ ।
कोरिया आइपुगेका नेपालीको समस्याचाहिँ के हो ?
सबैभन्दा ठूलो समस्या भनेकै भाषा हो । त्यसमा पनि एग्रिकल्चरमा आउनेलाई सबैभन्दा धेरै समस्या छ । कृषिको काम आफैंमा गाह्रो छ, त्यसमाथि भाषा नजान्दाको पीडा शब्दमा व्यक्त गर्न सकिँदैन ।
सात/आठ महिनापछि नेपाल फर्कने योजना रहेछ । नेपालमा के गर्ने योजना छ ?
स्किन पार्लर खोल्ने योजना बनाएकी छु । हेरौं, समयले कहाँसम्म साथ दिन्छ ।