बेलायती गोर्खा सैनिकले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । ‘गोर्खा एभरेष्ट एक्सपिडिसन’ नामक पर्वतारोहण अभियानअन्तर्गत १३ गोर्खा सैनिकले सगरमाथा आरोहण गरेका हुन् ।
धनीराम राई, कृष्ण थापा र निर्मल पुलामीले २०१७ मे १५ मा २ बजेर १० मिनेट जाँदा सगरमाथा आरोहण गरेका थिए भने सोही टोलीका अन्य १० गोर्खा सैनिकले मे १६ मा सगरमाथा आरोहण गरेका हुन् ।
विश्वविख्यात लडाकु गोर्खा सैनिकले पहिलोपटक सगरमाथा आरोहण गरेका हुन् । बेलायती सेनाको गोर्खा ब्रिगेडमा ऐतिहासिक ‘नेपाल कप’ जस्तै यो अभियानले सालिन्दा निरन्तरता पाउने अनुमान गर्न सकिन्छ ।
बेलायतमा गोर्खा सैनिक सेवाको दुई सय वर्ष पूरा भएकोमा उत्सव मनाउँदै सन् २०१५ मा पनि एक टोली सगरमाथा आरोहणमा निस्के पनि गोरखा भूकम्पका कारण हिमपहिरो गएपछि अभियान स्थगित गरी गोर्खा सैनिकहरू उद्घारकार्यमा खटिएका थिए । त्यतिबेला हिमपहिरोमा सयौं घाइते हुनुका साथै १८ जनाले ज्यान गुमाएका थिए ।